भिजिट भिसामा आएर अन्य गतिविधि गर्ने १० विदेशी मोरङबाट पक्राउ

बुधबार, ११ कार्तिक, २०८३
डिजिटल संस्करण

विराटनगर/ पर्यटकका रूपमा नेपाल प्रवेश गरेर अनुमति नलिई स्वास्थ्य शिविरका नाममा विभिन्न गतिविधिमा संलग्न भएको आरोपमा मोरङबाट १० विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा पाँच अमेरिकी, दुई क्यानडेली र तीन ब्राजिलियन नागरिकलाई बुधबार अपराह्न कानेपोखरी गाउँपालिका–६ बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उनीहरू भिजिट भिसामा नेपाल आएर कानेपोखरी–६ स्थित ‘मर्फी वेलफेयर सोसाइटी’को ब्यानरमा सञ्चालित स्वास्थ्य शिविरमा सहभागी भएको पाइएको प्रशासनको भनाइ छ। उक्त शिविरमा आँखा, दाँतलगायतका स्वास्थ्य उपचार सेवा प्रदान गरिँदै आएको थियो।

प्रशासनका अनुसार भिजिट भिसामा आएका उनीहरूले  स्वास्थ्य शिविरमा संलग्न हुन आवश्यक अनुमति लिएका छैनन्। सहायक प्रजिअ सरोज कोइरालाका अनुसार विदेशी नागरिकले नेपालमा प्रवेश गरेको प्रयोजनभन्दा फरक गतिविधिमा संलग्न हुन सम्बन्धित निकायबाट आवश्यक अनुमति लिनुपर्छ।

भिजिट भिसामा आएर अन्य गतिविधिमा संलग्न भएको पाइएपछि उनीहरूलाई आ–आफ्नो देश डिपोर्ट गर्न काठमाडौं पठाउने तयारी गरेको उनले जानकारी दिए। ‘भिजिट भिसामा आएर अनुमति नलिई घुमफिरबाहेक जुनसुकै गतिविधिमा संलग्न हुने विदेशी नागरिकलाई प्रशासनले नियन्त्रणमा लिएर निष्कासनको प्रक्रिया अघि बढाउने गरेको छ,’ उनले भने, ‘भिजिट भिसामा आएर कुनै पनि गतिविधिमा संलग्न हुने विदेशी नागरिकलाई नियन्त्रणमा लिएर डिपोर्ट गराउनेमा मोरङ प्रशासन सधैँ सक्रिय छ।’

यसअघि २३ असोजमा पनि भिजिट भिसामा नेपाल आएर मोरङमा धर्म प्रचारको प्रशिक्षणमा  सहभागी भएका २४ जना दक्षिण कोरियाली नागरिकलाई डिपोर्ट गरिएको थियो।

सुझावित समाचार