मदिरामा भएको विवादमा आफ्नै साथीको हत्या

बुधबार, ११ कार्तिक, २०८३
डिजिटल संस्करण

कास्की/ मादक पदार्थ सेवनका क्रममा भएको विवादपछि आफ्नै साथीको हत्या गरेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ बस्ने ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशिष गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक र ३८ वर्षीय लीलबहादुर पुन रहेका छन्।

प्रहरीले उनीहरूलाई माछापुच्छ्रे गाउँपालिका–७, घिप्ले बस्ने २२ वर्षीय राजेन्द्र पौडेलको हत्या गरेको आरोपमा पक्राउ गरेको हो। कास्की प्रहरीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्कीले यसबारे जानकारी दिएका हुन्।
कार्कीका अनुसार कात्तिक ९ गते बिहान ८ः२० बजे पौडेल आफ्नै घरदेखि करिब ५० मिटर पूर्वमा रहेको बारीको पाटामा मृत अवस्थामा फेला परेका थिए। स्थानीयवासीबाट सूचना प्राप्त हुनासाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले शरीरमा निलडाम तथा घाउचोट लागेको अवस्थामा उनको शव फेला पारेको थियो। त्यसपछि घटनाको सूक्ष्म अनुसन्धान गर्ने क्रममा हत्यामा संलग्न रहेको आरोपमा पाँचजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कार्कीले जानकारी दिए। 

 यसरी भयो घटना 

प्रहरीका अनुसार मृतक र आरोपितहरू एउटै टोलका चिनजानका व्यक्ति हुन्। उनीहरू यसअघि पनि सँगै खानपिन गर्ने र उठबस गर्ने गर्थे। घटनामा पूर्वरिसइबी, पूर्वयोजना वा कुनै आपराधिक योजना बनाएर हत्या गरेको नदेखिएको कार्कीले जानकारी दिए। 

प्रारम्भिक अनुसन्धानका क्रममा कात्तिक ८ गते साँझ मृतक पौडेलकी दिदी र भिनाजु घरमा आएका बेला आफ्नो मोबाइल हराएको भन्दै उनले भिनाजु विष्णुप्रसाद गौतमसँग मोबाइल मागेका थिए। भिनाजुले मोबाइल नदिएपछि उनले भिनाजुको मोबाइल फुटाइदिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

त्यसपछि साथीभाइसँग भेट भएपछि पौडेलले ‘ल, तैँले पैसा कमाएर ल्याइस्, अब आज बियर खानुपर्छ। चाडपर्व पनि हो, रक्सी खानुपर्छ’ भन्ने आशय व्यक्त गरेका थिए। त्यसपछि उनी लीलबहादुर पुन, आशिष गुरुङ, महादेव विक र मिलन विकसँग बसेर मादक पदार्थ सेवन गर्न थालेका थिए।

मादक पदार्थ सेवन गर्ने क्रममा पौडेल र उनका साथीहरूबिच सामान्य विवाद भएको थियो। पौडेलले रिसाएर लीलबहादुर पुनको मौरीको घारमा लात हानेपछि विवाद बढेको थियो। त्यस क्रममा पौडेलले हँसिया प्रहार गर्दा मिलन विकको घाँटीमा र आशिष गुरुङको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

झगडापछि सबै आ–आफ्नो घरतिर लागेका थिए। तर, झगडालाई प्रतिशोधको रूपमा लिँदै आरोपितहरूले ‘हामीलाई घाँटी र खुट्टामा हानेको छ, हामी त्यसै बस्ने? त्यसलाई कुटपिट गर्नुपर्छ’ भन्ने सल्लाह गरेपछि राती ११ः५९ बजे आशिष गुरुङले बिक्रम पुन र लिल बहादुर पुनलाई फोन गरी बोलाउँछन् । 

मिलन वि.क., महादेव वि.क., आशिष गुरुङ, बिक्रम पुन र लीलबहादुर पुनसमेत ५ जना मिली 'अब यसलाई छाड्नु हुँदैन' भनी  पाँचजना मिलेर मृतक पौडेलको घरमा गई निजलाई भाटा, मुक्का तथा लात्तीले प्रहार गरी अन्धाधुन्ध कुटपिट गरी घाइते अवस्थामा घिसार्दै बारीको पाटामा लगी छाडेको र पछि उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

सुझावित समाचार