उदयपुर/सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगको चुनढुंगा ढुवानी गर्ने रोपवे लामो समयदेखि प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । उद्योग सञ्चालनका लागि उत्तरी भेगको सिन्धाली खानीबाट चुनढुंगा कारखानासम्म ल्याउन बनाइएको रोपवे उद्योगको उत्पादन बन्द भएसँगै जीर्ण बन्दै गएको हो । सिमेन्ट उद्योग जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको थियो ।
त्रियुगा नगरपालिका– १६ को सिन्धालीबाट त्रियुगा नगरपालिकाकै वडा नम्बर ६, जलजलेमा रहेको उद्योगसम्म चुनढुंगा ल्याउन १४ किलोमिटर दूरीमा रोपवे प्रयोग हुँदै आएको थियो । नौ महिनादेखि उद्योगको उत्पादन नै बन्द भएपछि रोपवेको नियमित प्रयोग र मर्मतसम्भारसमेत हुन नसक्दा जीर्ण बन्दै गएको उद्योगका निमित्त महाप्रबन्धक वैद्यनाथ झाले बताए । उनले भने, ‘त्यसलाई पनि नियमित सञ्चालन गर्न पाएको भए पो राम्रो हुन्थ्यो । अब खिया लाग्न थालिसकेको छ ।’
झाका अनुसार हाल रोपवे बन्द भए पनि सामान्य मर्मत गर्दा सञ्चालन गर्न सकिन्छ । उनले भने, ‘सञ्चालनमा ल्याउन बकेट सबै ठिक छन् । त्यसमा रोलर र क्याल्यामर मर्मत गर्नुपर्ने हुन्छ । पूर्ण रूपमा मर्मत गर्न अनुमानित ३५ लाख रुपैयाँजति खर्च गर्नुपर्छ ।’
३१ जेठ ०४४ मा जापान सरकारको अनुदान सहयोगमा स्थापना भएको उद्योगले ०४९ माघदेखि ‘गैँडा छाप’ सिमेन्टको व्यावसायिक उत्पादन थालेको थियो । दैनिक आठ सय मेट्रिकटन क्लिंकर उत्पादन क्षमता रहेको उद्योगसँग आफ्नै चुनढुंगा खानी र स्थापित बजारसमेत छ । तर, पुरानो प्रविधि, कमजोर व्यवस्थापन र आर्थिक संकटका कारण उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेको छैन । झाले उद्योग बन्द हुँदा उद्योगका मेसिनसमेत पूर्ण मर्मत गर्नुपर्ने अवस्था आएको बताए ।
बन्द उद्योगको सरसफाइ नहुँदा उद्योगपरिसर पनि झाडी बन्दै गएको छ । नियमित सञ्चालन हुने मेसिनहरू पनि बन्दा हुँदा खिया लाग्न थालेका छन् । ‘उद्योग बन्द मात्र भएको हो । ठुलो समस्या अब चलाउन चेक गरेपछि मात्र थाहा पाइन्छ,’ उनले भने ।
नयाँ महाप्रबन्धक नियुक्तिमा ढिलाइ
उदयपुर सिमेन्ट उद्योग लिमिटेडको सञ्चालक समिति अध्यक्षमा सरकारले गत असोजमा प्रतिष्ठितलाल श्रेष्ठलाई नियुक्त गरेको छ । तर, उद्योग ०८० असारयता महाप्रबन्धकविहीन छ । अन्तिम महाप्रबन्धकका रूपमा १ माघ ०७७ मा नियुक्ति पाएका तत्कालीन महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको पदावधि ४ असार ०८० मा सकिएर उनी घर फर्केयता उद्योग नेतृत्वविहीन हुन पुगेको हो । त्यसयता ६ महिनाको अवधिका लागि मन्त्रालयका उपसचिव खगेन्द्र बस्नेतलाई पठाइए पनि बाँकी अवधि निमित्त महाप्रबन्धककै भरमा उद्योग सञ्चालन हुँदै आएको छ ।
हाल सरकारले उद्योगको महाप्रबन्धकका लागि तीनजनाको नाम सर्टलिस्टमा राखेको छ । जसमा उमेश लामिछाने, कमलबहादुर शाही र रामचन्द्र पाण्डे छन् । हाल निमित्त महाप्रबन्धक झा भन्छन्, ‘नयाँ सरकार बनेपछि पनि महाप्रबन्धक नियुक्तिमा ढिलाइ भएको छ । कहिले मन्त्री फेरिने, कहिले सचिव फेरिने भइरहेको छ । अब तीनजनामध्ये केही समयभित्र एकजना महाप्रबन्धक बनेर आउनुहुन्छ होला ।’
उदयपुर सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष प्रतिष्ठितलाल श्रेष्ठले सरकारले छिट्टै महाप्रबन्धकको टुंगो लगाउने बताए । उनले भने, ‘तीनजनाको नाम सर्टलिस्टमा पुगेपछि अब नियुक्तिको प्रक्रिया ढिलाइ हुँदैन । छिट्टै हुन्छ । फेरि बुझ्ने काम गर्नेछु ।’ उनले उद्योगको हालको अवस्थाबारे उद्योगमै आएर अध्ययन गर्न नपाएको भन्दै छिट्टै आउने बताए । उनले भने, ‘उद्योग बन्द छ । उद्योगको अध्ययन गरी समस्या पत्ता लगाएर अब नियमित सञ्चालनको तयारीमा छौँ ।’
नौ महिनादेखि उद्योग बन्द हुँदा दायित्व ६ अर्ब
०८२ फागुनदेखि हालसम्म उद्योग बन्द छ । उद्योग बन्द भएको नौ महिनाको अवधिमा उद्योगले तिर्नुपर्ने दायित्व ६ अर्ब रुपैयाँ पुगेको उद्योगका निमित्त महाप्रबन्धक झाले बताए । उनका अनुसार हाल उद्योगमा कार्यरत कर्मचारीले ०८१ चैतदेखि तलबभत्तासमेत पाएका छैनन् । त्यस्तै, ०७९ भदौदेखि हालसम्म सञ्चय कोष र नागरिक लगानी कोषको रकम, बिमा शुल्क दाखिलालगायत विभिन्न शीर्षकमा करोडौँ रुपैयाँ दायित्व छ । विद्युत् महसुल, ट्रंकलाइन तथा डेडिकेटेड फिडरको बक्यौताबाहेक नै विभिन्न शीर्षकमा अनुमानित ६ अर्ब रुपैयाँभन्दा बढी दायित्व पुगेको झाको भनाइ छ ।
त्यसैगरी, अवकाशप्राप्त कर्मचारीको निवृत्तिभरण भुक्तानी गर्न मात्रै ८२ करोड २५ लाख ३५ हजार ७५२ रुपैयाँ दायित्व रहेको झाले बताए । उनका अनुसार उद्योगले ०८२ फागुनमै उत्पादन गरेको तयारी सिमेन्ट बिक्रीबाट प्राप्त आम्दानी सुरक्षा गार्डको तलब, कर्मचारीको दसैँ खर्च, बोरा खरिद र महाप्रबन्धकको गाडी मर्मत र नवीकरण गरेको छ । उनले भने, ‘हालसम्म तयारी सिमेन्ट मात्र ६१ लाख ३६ हजार ३८४ रुपैयाँको बिक्री भएको छ । हामीसँग बाँकी अझै चार करोड रुपैयाँको सिमेन्ट बिक्री गर्न बाँकी छ ।’