चोरी आरोपको बदला लिन व्यवसायी गुप्ताको हत्या

मुख्य योजनाकार आलमसहित दुई बालक पक्राउ

बिहिबार, १२ कार्तिक, २०८३
प्रिन्ट संस्करण

विराटनगर/ व्यापारी लालजीप्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले मुख्य योजनाकारसहित दुईजनालाई पक्राउ गरेको छ । भारतको वाराणसी घर भई चार दशकदेखि विराटनगरको महावीर रोडमा लाल ब्याट्री एन्ड सन्स ट्रेडर्स सञ्चालन गर्दै आएका ६९ वर्षीय गुप्ताको हत्या आरोपमा मुख्य योजनाकार अफरोज आलमसहित दुई बालकलाई मोरङ र सुनसरी प्रहरीको संयुक्त टोलीले मंगलबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– ६, स्वागत चोकका हार्डवेयर गोदाम सञ्चालक ३६ वर्षीय आलमसहित शव व्यवस्थापन र ओसारपसारमा सघाउने १३ वर्षीय एक भारतीय र १६ वर्षीय एक नेपाली बालक पक्राउ परेका हुन् । ६ कात्तिक दिउँसो करिब ३ बजे पसलबाट निस्किएका व्यपारी गुप्ता त्यसपछि सम्पर्कविहीन बनेका थिए । त्यसको दुई दिनपछि ८ कात्तिक बिहान मोरङ र सुनसरीको सिमानामा पर्ने सुनसरीको बर्जु गाउँपालिका– २, भीमपुरस्थित केसलिया खोलाको किनारमा उनको शव बेवारिसे अवस्थामा फेला परेको थियो ।

सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लका अनुसार अनुसार विराटनगर– ६ स्थित माता इलेक्ट्रिक वर्क्सबाट पानी तान्ने मोटरको तार आलमले चोरी गरेको भन्दै गुप्ताले बजारमा कुरा फैलाइदिएका थिए । आफूलाई ‘चोर’ भनेर हल्ला चलाएको भन्दै आलम गुप्तासँग रिसाएका थिए । यसैले त्यसको बदला लिन उनले मौका खोजिरहेका थिए । दसंँको अवसर पारेर उनले ६ कात्तिक साँझ गुप्तालाई खाना खान बोलाएका थिए । योजनाअनुसार आफ्नै घरमा बोलाएर मादक पदार्थ सेवन गराई बोतल र रडले हानेर हत्या गरेपछि दुई बालकको सहयोगमा गुप्ताको शव आलमले बोरामा हालेर मोरङ र सुनसरीको सिमानामा पर्ने केसलिया खोलामा सुनसरीको बर्जुगाउँपालिकातर्फ फ्याँकिदिएका थिए । 

सुझावित समाचार