धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) माओवादी केन्द्रमै फर्किएका छन् । सोमबार एमाले प्रवेश गरेका डल्लाकोटी मंगलबार माओवादी केन्द्रमै फर्किएका हुन् ।
यसअघि डल्लाकोटीले मंगलबार नै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जम्कट्टेललाई हेटौँडामा भेटेका थिए ।
डल्लाकोटीले विज्ञप्ति निकालेर भनेका छन्, ‘क्षणिक आक्रोश र आवेगमा आई राजनीतिक रूपमा गम्भीर गल्ती कमीकमजोरी हुन गई समग्र पार्टी, बेनिघाट रोराङ र धादिङको पार्टी पङ्क्तिमा पर्न गएको क्षतिप्रति गम्भीर रूपमा आत्मआलोचना गर्न चाहन्छु र आगामी दिनमा नेकपा (माओवादी केन्द्र) मा रही पार्टीको निर्णयअनुसार निरन्तर क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्दछु ।’
डल्लाकोटी पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीनिवास बालकोटमा पुगेर सोमबार एमालेमा प्रवेश गरेका थिए । यसअघि उनी नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सदस्य र बेनिघाट रोराङ गाउँपालिकाका इन्चार्जसमेत थिए ।