भीमदत्तको मेयरमा इन्जिनियर सिंहको स्वतन्त्र उम्मेदवारी घोषणा

आइतबार, २० चैत, २०७८
डिजिटल संस्करण

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि इन्जिनियर कोमलबहादुर सिंहले भीमदत्त नगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन्। सिंहले आफ्ना समर्थककाे उपस्थितिमा शनिबार भीमदत्त नगरको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।

महेन्द्रनगर ९–११ होटेलका सञ्चालकसमेत रहेका इन्जिनियर सिंहले आफू कुनै राजनीतिक दलमा आबद्ध नभई स्वतन्त्र रूपमै मेयर पदका लागि उम्मेदवार रहेको बताए। उम्मेदवारी घोषणा गर्दै उनले २५ बुँदे प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेका छन्। उनले राजनीतिक दलबाट निर्वाचित मेयरबाट नगरको दिगो विकास र समृद्धि नहुने भएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको प्रस्ट पारे।

सिभिल इन्जिनियर सिंह झन्डै अढाई दशक कतारमा काम गरेर फर्किएका थिए। ‘मैले मेरो सीप र श्रम कतारमा भौतिक निर्माण क्षेत्रमा प्रयोग गरेको थिएँ,’ उनले भने, ‘अब स्वदेशमै गएर काम गर्नुपर्छ भन्ने लागेपछि घर फर्किएर होटेल व्यवसायमा जुटेको छु।’

आफ्नो उम्मेदवारी विशुद्ध विकासका लागि भएको दाबी गर्दै सिंहले नगरमा हुने संस्थागत भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरे।

सुझावित समाचार