‘प्रोटोकलविपरीत’ प्रधानमन्त्री देउवा भाजपा मुख्यालयमा

शनिबार, १९ चैत, २०७८
डिजिटल संस्करण
‘प्रोटोकलविपरीत’ प्रधानमन्त्री देउवा भाजपा मुख्यालयमा

प्रधानमन्त्री देउवा शुक्रबार नयाँदिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा)को पार्टी कार्यालयमा भाजपाका अध्यक्ष जेपी नड्डासँग छलफल गर्दै । तस्बिर : रासस

विपक्षी दलका नेताहरू भेट्ने कार्यसूची छैन, तर सत्तारूढ भाजपाको मुख्यालय भने ‘प्रोटोकलविपरीत’ पुगे

औपचारिक भ्रमणमा भारत आएका प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यतालिकामा विपक्षी दलका नेताहरूलाई भेट्ने कार्यक्रम छैन । तर, नयाँदिल्ली पुगेकै दिन उनी सत्तारूढ भारतीय जनता पार्टीको मुख्यालयमै पुगेका छन् । प्रधानमन्त्री देउवाले भाजपा मुख्यालय भ्रमण गरेको विषयलाई दिल्लीमा चासोपूर्वक हेरिएको छ । नेपालमा भने सम्बन्ध सुधारका नाममा ‘प्रोटोकलविपरीत’ प्रधानमन्त्री भाजपा मुख्यालय पुगेको भनेर आलोचना पनि भइरहेको छ । 

यसअघि औपचारिक भ्रमणमा भारत आउने नेपाली प्रधानमन्त्रीले कुनै दलको मुख्यालयको भ्रमण गर्ने चलन थिएन, बरु सत्तारूढ दलकै शीर्ष नेताले नेपाली प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने चलन हुन्थ्यो । भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री देउवा भाजपा मुख्यालयमा जानु परराष्ट्रको प्रोटोकलअनुसार नभएको बताए ।

‘अहिलेसम्मको परम्परामा यस्तो थिएन । यसलाई परराष्ट्रको प्रोटोकलअनुसार छ भनेर पनि भन्न सकिँदैन । पहिले–पहिले उहाँहरूको सुविधाअनुसार बसेकै ठाउँमा व्यक्तिगत वा सामूहिक भेटघाट गराउँथ्यौँ । आफैँ जाने भन्नेचाहिँ हुँदैन थियो,’ उपाध्यायले भने । भारतका लागि अर्का पूर्वराजदूत लोकराज बरालले पनि औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री एउटा खास पार्टीको कार्यालयमा जानु प्रक्रियागत रूपमा नमिलेको बताए । 

प्रधानमन्त्री देउवा अपराह्न नेपाली राजदूतावासको स्वागत समारोहमा सहभागी हुनुअघि भाजपा कार्यालय पुगेका थिए, जहाँ भाजपा अध्यक्ष जेपी नड्डा, विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायतले प्रधानमन्त्री देउवासहित प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए । प्रधानमन्त्री देउवा र भाजपा अध्यक्ष नड्डाबीच मुख्यालयमा बेग्लै छलफल पनि भएको छ, जहाँ दुई पार्टीबीच सम्बन्ध थप सुदृढ बनाउने सहमति भएको छ । नड्डाले कांग्रेससँग भाजपाको पुरानो सम्बन्ध रहेको र देउवा भाजपाका पुराना मित्र रहेको भन्दै प्रशंसा गरेको भेटमा सहभागी एक नेताले जानकारी दिए । 

प्रधानमन्त्री देउवाले द्विपक्षीय नियमित एजेन्डाभन्दा पनि यसपटकको भारत भ्रमणमा कांग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राखेका कारण उनी भाजपा मुख्यालय भ्रमणमा गएको टिप्पणी दिल्लीमा छ । भाजपा विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेका अनुसार नड्डाले देउवालाई भाजपा कार्यालय भ्रमणका लागि निमन्त्रणा दिएका थिए । 

भारतीय सैन्य विश्लेषक एवं सेनाका पूर्वउपरथी अशोक मेहताले नयाँदिल्लीले यसपटक कांग्रेसलाई उच्च प्राथमिकतामा राखेको टिप्पणी गरे । ‘नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टीका रूपमा र त्यसको नेताका रूपमा प्रधानमन्त्री देउवालाई भारतले स्वागत गर्दै छ । तर, भारतले एमालेको महत्वलाई पनि कम आकलन गर्नुहुँदैन भन्ने मलाई लाग्छ,’ मेहताले भने । 

कांग्रेसका एक नेताले भने देउवाको भाजपा कार्यालय ‘सिक्स ए पण्डित दीनदयाल उपाध्याय मार्ग’ भ्रमण प्रधानमन्त्रीका रूपमा भन्दा पनि कांग्रेस सभापतिका रूपमा भएको टिप्पणी गरे ।

सुझावित समाचार