नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णले पार्टिभित्र एकाधिकार भइरहेको भन्दै आलोचना गरेका छन्। उनले पार्टीभित्र भागबन्डा नचाहिने तर पार्टीका हरेक निर्णयमा शेखर कोइराला समूहलाई समान सहभागिता गराउनुपर्ने माग गरेका छन्।
कोइराला समूहका युवा र विद्यार्थीको भेलामा उनले सभापति शेरबहादुर देउवाले कोइराला समूहलाई पूर्ण बेवास्ता गर्दै अगाडि बढ्न खोजेको आरोप लगाए। उनले हिजो आफू नेविसंघको सभापति हुँदा वर्तमान सभापति शेरबहादुर देउवा पक्षको सम्मानजनक उपस्थिति नभएको भन्दै तत्कालीन सभापति सुशील कोइरालाले संख्या थपेको स्मरण गरे।
पार्टीभित्र ४०% महाधिवेशन प्रतिनिधिको म्यान्डेट पाएको शेखर कोइराला समूहलाई बेवास्ता गरेर फरक पार्टीसँग गठबन्धन गरेर निर्वाचन निर्वाचन जितिन्छ भन्ने सभापतिको मानसिकता नै गलत भएको उनको भनाइ छ।
‘पार्टीभित्रको ठूलो समूहलाई मिलाउन नसक्ने तर फरक पार्टीसँग सहकार्य गर्छु भनेर हिँड्ने? पार्टी सभापतिले कांग्रेसलाई कता लैजान खोज्नुभएको हो?’ उनले प्रश्न गरे। पार्टीभित्रका निर्णयमा र भ्रातृसंगठन गठन प्रक्रियामा एकाधिकार लाद्न खाजे खबरदारी देशैभर सञ्चालन गरिने उनले चेतावनी दिए।