नेपाली कांग्रेसका नेता रमेश लेखकले सत्तागठबन्धनमा प्रभाव नपर्ने गरी केन्द्रीय समितिबाट निर्णय हुनुपर्ने बताएका छन्। सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले सत्तागठबन्धन नभत्किने गरी चुनावी तालमेलबारे निर्णय लिनुपर्ने बताए।
उनले भने, ‘हामी गठबन्धन सरकारको नेतृत्व गरिरहेका छौँ। सरकारमा प्रभाव पर्ने गरी पार्टीले निर्णय लिनुहुँदैन भन्ने मेरो मत छ।’ कांग्रेस चुनावी गठबन्धनको पक्षमा उभिनुपर्ने उनको धारणा छ। तर, गठबन्धन गर्दा स्थानीय नेता–कार्यकर्ताको मनोविज्ञानलाई पनि ख्याल गर्नुपर्ने लेखकले बताए।
‘स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा तल्लो तहका नेता–कार्यकर्ताको मनोविज्ञान ख्याल गर्नुपर्छ। केन्द्रले गठबन्धन गर्दा तल्लो तहमा निराशा पैदा हुने अवस्था हुन दिनुहुन्न। तल्लो तहको भावना र स्थानीय आवश्यकताअनुसार गठबन्धन गर्नुपर्छ।’