चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीनदिने भ्रमणका लागि शुक्रबार काठमाडौं आउने भएका छन् । पाकिस्तान, अफगानिस्तान हुँदै बिहीबार साँझ भारतको नयाँदिल्ली पुगेका चिनियाँ विदेशमन्त्री वाङ त्यहीँबाट विशेष विमान बी ८४१५ बाट आउन लागेका हुन् ।
चीनकै प्रयासमा चिनियाँ कम्युनिस्ट पार्टीनेता तथा विदेश मन्त्रालयका केही सदस्य लिएर चिनियाँ विदेशमन्त्री वाङ काठमाडौं अवतरण हुँदै छन् । वाङ र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच शनिबार द्विपक्षीय वार्ता हुनेछ । वाङ र चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा परराष्ट्रमन्त्री डा. खड्काले शनिबार दिवाभोज आयोजना गरेका छन् ।
गत २ कात्तिकमा टेलिफोन संवाद हुँदा चिनियाँ विदेशमन्त्री वाङले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्ता दिएका थिए । खड्का चीन जानुअघि नै चिनियाँ विदेशमन्त्री वाङ आफैँ नेपाल आउन लागेका छन् ।
परराष्ट्र मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिअनुसार वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् ।
अफगानिस्तानको काबुलमा चिनियाँ विदेशमन्त्री वाङले तालिबानका उच्च अधिकारीहरूसँग बिहीबार वार्ता गरेका थिए । उनी नेपालसहित चार छिमेकी मुलुकको भ्रमण गरेर फर्किँदै छन् । उनको काबुल भ्रमण भने आकस्मिक रूपमा तय भएको कूटनीतिक स्रोतहरूको भनाइ छ ।
दुई वर्षअघि २५ असोज ०७६ मा चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि भारत हुँदै नेपाल आएका थिए । पाकिस्तानमा अर्गनाइजेसन अफ इस्लामिक को–अपरेसन (ओआइसी)को सम्मेलन तथा पाकिस्तानका प्रधानमन्त्री इमरान खानसहित उच्च अधिकारीसँग उनको वार्ता भएको थियो ।
चीनको चाहना
नेपालले चिनियाँ असन्तोषमाझ अमेरिकी सहायता परियोजना एमसिसी पारित गरेपछि चीनले परियोजना चीनविरोधी नभएको भनेर आश्वस्त हुन चाहेको छ । नेपालले पनि एमसिसीबाट चीनलाई कुनै पनि सुरक्षा खतरा उत्पन्न नहुने भन्दै आश्वस्त पार्ने गरी तयारी गरेको छ । त्यस्तै, चीनले नेपालमा कम्युनिस्ट पार्टीहरूसँग मात्रै नभएर कांग्रेससँग पनि सम्बन्ध बढाउन चाहेको छ ।
भ्रमणका कार्यसूची
स्रोतका अनुसार चिनियाँ विदेशमन्त्रीको भ्रमणमा ‘हाइलेज एक्सपोर्ट फ्रम नेपाल टु चाइना’ समझदारीपत्रमा हस्ताक्षर हुनेछ । परराष्ट्रका अधिकारीले कम्तीमा पनि आधा दर्जन सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको बताएका छन् । तर, चीनको अनुरोधका कारण सरकारले सम्झौताका विषय सार्वजनिक गरेको छैन । बिआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्ने गरी पनि छलफल भइरहेको छ । सम्भावित सम्झौताका एजेन्डाबारे परराष्ट्र मन्त्रालयको उत्तर–पूर्वी डिभिजन र काठमाडौंस्थित चिनियाँ दूतावासबीच आपसी समन्वय भइरहेको छ ।
नेपालले तीन वर्षअघि नै पठाएका नौ परियोजनामध्ये बिआरआईअन्तर्गतका एउटा पनि कार्यान्वयन भएको छैन । नेपाल–चीन सीमापार रेलमार्ग, दमकको औद्योगिक पार्कको प्रगति शून्यप्रायजस्तो छ । सीमापार रेलको सम्भाव्यता अध्ययनका लागि आउनुपर्ने चिनियाँ प्राविधिक टोली आइसकेको छैन । दुई वर्षदेखि बन्द रहेको चीनतर्फ निर्यात नियमित गर्नुपर्ने विषय पनि नेपालले उठाउनेछ । कोभिड– १९ पछि फर्किन नपाएका चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई चीनको विद्यमान स्वास्थ्य प्रोटोकल पूरा गरेर अध्ययनका लागि जान दिन आग्रह गर्ने तयारी गरेको छ ।