भारतबाट आयात गरिने तीन सय मेगावाट विद्युत् रोकिँदा औद्योगिक क्षेत्रमा राति लोडसेडिङ

भारतीय बजारबाट खरिद गरिने विद्युत् प्रतियुनिट ३६ रुपैयाँसम्म पुग्यो

बिहिबार, १० चैत, २०७८
डिजिटल संस्करण

रुस–युक्रेन युद्धको असर नेपालको विद्युत् आयातमा पनि परेको छ । भारतीय इनर्जी एक्सचेन्ज (आइइएक्स)मार्फत प्रतियुनिट औसतमा दुई रुपैयाँ ९९ पैसादेखि तीन रुपैयाँमा खरिद गरिरहेको विद्युत्को न्युनतम मूल्य नै भारु २० पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । ‘पछिल्ला दुई दिनदेखि भारतीय बजारमा बिड गरेको मूल्यमा विद्युत् प्राप्त हुन छाडेको छ’ उनले भने । प्राधिकरणले १५ रुपैयाँ २७ पैसामा बिड गरेका थियो, तर अभावले त्यो मूल्यमा प्राप्त गर्न सकेन । 

‘दैनिक ९६ पटक परिवर्तन हुने (हरेक १५ मिनेटमा एकपटक) एक्सचेन्ज बजारमा पिक–आवरमा दैनिकजसो २० रुपैयाँ भारुसम्म पुगेको छ । यसको अर्थ प्रतियुनिट विद्युत्को मात्र नेपाली ३२ रुपैयाँ पर्छ । त्यसमा भ्याटसहित, चुहावट र प्रसारण लाइन शुल्क जोड्दा ३६ रुपैयाँ प्रतियुनिट पर्ने उनको भनाइ छ । एक युनिटको न्यूनतम ३६ रुपैयाँमा किनेर १० रुपैयाँमा बेच्न सकिने–नसकिने र कहिलेसम्म धान्न सकिने भन्ने विषय सोचनीय भएको भट्टराईले बताए । 

द्विपक्षीय (नेपाल–भारत) सम्झौताअनुसार भारतीय कम्पनी एनबिबिएनमार्फत भारु चार रुपैयाँ १२ पैसामा आयात गरिने विद्युत्लाई भारतले फागुनमै बन्द गरिसकेको छ । ‘कोइलाको मूल्य वृद्धि भएको र स्टक पनि सकिँदै गएपछि अहिले नेपाललाई दिन नसक्ने भन्दै सरी भनेको छ’ प्रवक्ता भट्टराईले भने । त्यसमा पेनाल्टीको व्यवस्थासमेत नभएकाले उसले रोकेको हो । 

नेपाल–भारत द्विपक्षीय सम्झौताअनुसार भारतीय कम्पनी एनबिबिएनमार्फत भारु चार रुपैयाँ १२ पैसामा आयात गरिने विद्युत् भारतले फागुनमै बन्द गरिसकेको छ

 औद्योगिक क्षेत्रमा रातको समयमा विद्युत् अभाव 
घरायसी ग्राहकलाई तत्कालै लोडसेडिङ गर्ने सम्भावना भने नभएको विद्युत् प्राधिकरणले स्पष्ट गरेको छ । उद्योग वा औद्योगिक क्षेत्रमा भने केही रात ७ बजेपछि मागअनुसार विद्युत् उपलब्ध गराउन नसक्ने अवस्था सिर्जना भएको छ । ‘यो अवस्था कम्तीमा पनि बिहीबार राति १२ बजेसम्म रहनेछ’ प्राधिकरणको भनाइ छ । 

 पिक–आवरमा एक हजार पाँच सय माग
नेपालको विद्युत्जडित क्षमता दुई हजार एक सय ३६ मेगावाट भए पनि अहिले उत्पादन सात सय मेगावाट छ । बिहारबाट दिउँसो दुई सय ५० देखि तीन सय मेगावाट ल्याइएको छ । अहिले पिक–आवरमा माग एक हजार पाँच सय मेगावाट रहेको छ । अन्य वेलामा भने ११ सयदेखि १२ सय मेगावाट रहने गरेको छ । ‘सामान्य अवस्था हुँदा अहिले नियमित रूपमा पाँच सय मेगावाट विद्युत् आयात गरिन्थ्यो’ उनले भने । अहिले पिक–आवरमा करिब ६ सय र अन्य अवस्थामा साढे दुई सयको कमी भएको छ । 

 बिहारबाहेक अन्य ठाउँबाट आयात रोकियो
सामान्यतया, भारतबाट ३५० मेगावाट एक्सचेन्ज बजारबाट, १५० मेगावाट द्विपक्षीय सम्झौतामार्फत र ७० मेगावाट पिटिसीमार्फत विद्युत् आयात गर्ने गरिएको थियो । पछिल्ला दुई दिनदेखि एक्सचेन्ज बजारमार्फत खरिद पनि रोकिएको छ । अप्ठ्यारो अवस्थामा पुगिसकेको प्राधिकरणले तत्कालका लागि बिहार सरकारमार्फत ६ रुपैयाँ १८ पैसा भारु (समानदर)मा लिइरहेको छ । ‘अहिले दिउँसो केही घन्टा करिब २५० मेगावाट त्यसरी ल्याइरहेका छौँ’ उनले भने । बिहारबाट ल्याइएको विद्युत् पनि बन्द हुने दिशातर्फ गइरहेको छ । बिहारले पनि बजारबाटै विद्युत् खरिद गरेर बिक्री गर्ने भएकाले दरमा ठूलो वृद्धि हुँदै जाने अवस्था छ । ‘अहिले विद्युत् नै अभाव भएको अवस्था होइन, तर महँगोमा खरिद गर्नुपर्ने बाध्यतामा पुगेका छाैँ’ उनले भने । 

 अबको विकल्प के ? 
नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले प्रतियुनिट २० रुपैयाँ भारुमै भए पनि भारतीय बजारबाट खरिद गर्ने विषयमा छलफल भएको बुझिएको छ । ‘त्यस्तो छलफल भइरहेको छ, निर्णय भयो भने त्यसैअनुसार मूल्य राखेर भारतीय बजारबाट विद्युत् खरिद गरिनेछ’ प्रवक्ता भट्टराईले भने । त्यस्तो निर्णय नभएको अवस्थामा भने रातको समयमा औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत् दिन सक्ने अवस्था हुनेछैन । अबका दिनमा रुस–युक्रेन युद्ध र त्यसले सिर्जना गर्ने विद्युत् संकटको अवस्था कता जान्छ भन्ने विषयले धेरै विषय निर्धारण हुनेछ । अहिलेको युद्ध जारी रह्यो र रुसले अन्तर्राष्ट्रिय बजारमा ऊर्जा बिक्री गरेन भने धेरै ठूलो संकट आउने अधिकारीहरूको भनाइ छ । 
 

सुझावित समाचार