सत्तागठबन्धनमा रहेका दोस्रो तहका नेताहरूले विभिन्न टीका–टिप्पणी गरे पनि शीर्ष नेताहरू आ–आफ्नो पार्टीमा आन्तरिक निर्णयमार्फत चुनावी गठबन्धनको तयारीमा जुटेका छन् । मंगलबार बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच पहिला पार्टीभित्रै सैद्धान्तिक निर्णय गराउने र सत्तासाझेदार दलबीच चुनावी गठबन्धनको गृहकार्य थाल्ने सहमति बनेको छ ।
सबै प्रमुख राजनीतिक दल स्थानीय तहको चुनावी अभियानमा होमिएका छन् । तर, गठबन्धनलाई लिएर अहिलेसम्म ठोस निर्णय भएको छैन । ‘गठबन्धनबारे आ–आफ्नो पार्टीभित्र निर्णय लिउँ र यसलाई औपचारिक छलफलमा लैजाउँला भन्ने विषयमा शीर्ष नेतृत्वबीच सहमति भएको देखिन्छ,’ देउवानिकट मानिने कांग्रेसका एक पदाधिकारीले भने, ‘माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट गठबन्धन बनाउने निर्णय आइसकेको छ । ११ चैतमा बस्ने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले यसबारे केही निर्णय लिन्छ होला ।’
माधव नेपाल अध्यक्ष, एकीकृत समाजवादी
सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल कायम रहन्छ । शक्तिको उचित मूल्यांकन गर्दै वस्तुवादी भएर संयमता अपनाएर ‘अरूलाई पनि हामी, हामीलाई पनि अरू’ आवश्यक रहेको सन्देशका साथ चुनावी तालमेल गर्न लागेका छौँ ।
बिहान बालुवाटारमा शीर्ष भेट सकेर दिउँसो नुवाकोट पुगेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले सत्तागठबन्धनबीचको एकता स्थानीय तहको निर्वाचनसम्म कायमै रहने दाबी गरेका थिए । ‘सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल कायम रहन्छ,’ समाजवादी प्रेस संगठन नुवाकोटले विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले भने, ‘शक्तिको उचित मूल्यांकन गर्दै वस्तुवादी भएर संयमता अपनाएर ‘अरूलाई पनि हामी, हामीलाई पनि अरू’ आवश्यक रहेको सन्देशका साथ चुनावी तालमेल गर्न लागेका छौँ,’ नेपालले भने ।
मंगलबारको छलफलमा माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले गठबन्धनलाई लिएर चाँडै निर्णय लिन प्रधानमन्त्री देउवासँग आग्रह गरेका थिए । देउवाले ११ चैतमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा छलफल गरेर आवश्यक निर्णय लिने बताएका थिए । ‘प्रचण्ड र नेपालले कांग्रेसले गठबन्धनबारे छिटो निर्णय गर्नुपर्ने धारणा राख्नुभएको थियो,’ स्रोतले भन्यो, ‘तर, प्रधानमन्त्रीले केन्द्रीय समिति बैठकमा छलफल गरेर यसबारे निर्णय लिने बताउनुभयो ।’
माओवादी अध्यक्ष प्रचण्डले भने स्थानीय तहको निर्वाचनमा तालमेल हुने वा नहुने कांग्रेसको हातमा रहेको बताएका छन् । उनले गठबन्धनलाई लिएर दलहरूबीच छलफल भइरहेको पनि जानकारी दिए । ‘अहिलेसम्म पाँचदलीय गठबन्धनभित्र कुनै प्रकारको तिक्तता छैन । आसन्न निर्वाचनमा पनि तालमेल गरेर जानुपर्ने कुरा भइरहेको छ, तर तालमेल हुने वा नहुने कुरा कांग्रेसको हातमा छ । कांग्रेसभित्र तालमेलको विषयलाई लिएर फरक–फरक कुरा आइरहेका छन् । आगामी यात्रा कसरी अघि बढ्छ, त्यो कांग्रेसकै भूमिकामा निर्भर हुन्छ,’ जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘कांग्रेस तालमेल गर्न तयार भए हामी तयार छौँ ।’
प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले भने नियमित भेटवार्ता भएको बताए । ‘नियमित भेटअन्तर्गत छलफल भएको हो । दुई–तीन दिनमा यस्तो भेट भइरहन्छ,’ उनले भने, ‘समसामयिक विषयमा छलफल भएको छ ।’
कांग्रेसले स्थानीय तह निर्वाचनबारे आवश्यक निर्णय लिन ११ चैतमा केन्द्रीय समितिको बैठक राखेको छ । जारी चुनावी अभियानको समीक्षा, कांग्रेसका तर्फबाट उम्मेदवार छनोटका लागि संसदीय समिति गठनलगायतका एजेन्डा छन् । माओवादी र एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठकमार्फत गठबन्धन बनाएर चुनावमा जाने निर्णय गरिसकेका छन् ।
कांग्रेसमा गठबन्धनलाई लिएर दुई मत देखिँदै आएको छ । तल्लो तहबाटै गठबन्धनबारे निर्णयको पक्षमा इतर समूह देखिएको छ । गठबन्धनको विपक्षमा रहेको इतर समूह लचिलो बन्दै स्थानीय तहले नै आवश्यकताअनुसार गठबन्धन गर्नु उपयुक्त हुने मत राख्दै आएको छ ।
इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा स्थानीय समितिले नै आवश्यकताअनुसार गठबन्धनको निर्णय गर्न पाउनुपर्ने अभिव्यक्ति दिएका छन् । आइतबार मोरङको सुन्दरहरैँचामा आयोजित कार्यक्रममा कोइरालाले गठबन्धनबारे पार्टीभित्र दुई मत रहेको र कम्युनिस्ट पार्टीसँग गठबन्धन गरेर चुनाव लड्नुभन्दा कांग्रेसभित्रै बलियो एकता गरेर जाँदा फाइदा हुने बताएका थिए ।
इतर समूहका नेता डा. मीनेन्द्र रिजालले विगतलाई पनि हेरेर स्थानीय आवश्यकता र कांग्रेसलाई हुने फाइदाका आधारमा यसबारे निर्णय लिनुपर्ने बताए । नेता चन्द्र भण्डारीले स्थानीय तहको विषयमा आवश्यकता हेरेर निर्णय लिने अधिकार स्थानीय तहलाई नै दिनुपर्ने बताए । केन्द्रबाटै गठबन्धनको निर्णय गरे प्रत्युपादक हुने उनको भनाइ छ ।
देउवा गठबन्धनका लागि प्रस्ट
चुनावी गठबन्धनलाई लिएर कांग्रेसभित्र मत देखिए पनि सभापति शेरबहादुर देउवा भने स्पष्ट मार्गचित्रसहित अगाडि बढेका छन् । कांग्रेस सभापति देउवाले आसन्न तीनै तहको निर्वाचनमा गठबन्धन बनाउने मार्गचित्र तयार पारेका छन् । प्रधानमन्त्री देउवाले साझेदार दललाई आश्वस्त पार्ने, सार्वजनिक अभिव्यक्ति दिएर त्यसको माहोल बनाउने र निर्णायक चरणमा पार्टीभित्र सर्वसम्मत निर्णय गराउने तयारी गरेका छन् ।
एमसिसी अनुमोदन भएपछि १९ फागुनमा बसेको सत्तागठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले साझेदार दलहरूलाई तीनै तहको निर्वाचनमा मिलेर जानेमा आश्वस्त पारेका थिए । देउवाले सार्वजनिक रूपमै गठबन्धन चुनावसम्मै कायम रहने अभिव्यक्ति दिएका छन् । २६ फागुनमा वीरगन्जमा आयोजित कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र वितरणमा देउवाले भनेका थिए, ‘हामीले अहिले गठबन्धनको सरकार हुँदा मिलेर चुनाव लडियो भने स्थानीय तह, प्रदेश र केन्द्रमा पनि गठबन्धनको सरकार बनाएर रहिरहन सक्छौँ । अहिलेको संविधानअनुसार कुनै पार्टीले एक्लै बहुमत ल्याउन सक्दैन । कसै न कसै पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ ।’
साझेदार दललाई आश्वस्त र सार्वजनिक अभिव्यक्तिमार्फत गठबन्धनको औचित्य पुष्टि गर्दै प्रधानमन्त्री देउवा पार्टीभित्र सबै मतको मन्थन सकाएर सर्वसम्मत निर्णय जुटाउने पक्षमा छन् । देउवालाई पार्टीनिकट नेताहरूले ‘एमालेले जितेका ठाउँमा कांग्रेसले गठबन्धनको सहयोगले जित्छ, कांग्रेसले जितेका ठाउँ फेरि कांग्रेसले नै जित्छ । समग्रमा गठबन्धन कांग्रेसकै पक्षमा हुन्छ, त्यसैले यसमा अगाडि जान’ सुझाएका छन् ।
सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल कायम रहन्छ । शक्तिको उचित मूल्यांकन गर्दै वस्तुवादी भएर संयमता अपनाएर ‘अरूलाई पनि हामी, हामीलाई पनि अरू’ आवश्यक रहेको सन्देशका साथ चुनावी तालमेल गर्न लागेका छौँ ।