३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेसँगै लमजुङमा फाराम भर्नेहरूको भिड लागेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङमा युवायुवतीदेखि कपाल फुलेका, तर ५४ वर्ष ननाघेकाहरूको घुइँचो थियो । सोमबार जिल्ला प्रहरी कार्यालयको गेटमा म्यादी प्रहरीमा फाराम भर्न लाइनमा उभिएका सिम्पानीका खुसीराम परियारले आफूले खेती–किसानी गर्दै आएको र बेरोजगार रहेकाले म्यादी प्रहरीमा भर्ना हुन आएको प्रतिक्रिया दिए । ‘जागिर खाको छैन,’ उनले थपे, ‘म्यादी प्रहरीमा जागिर खान पाए बच्चाबच्चीको पढाइमा थप सहयोग हुन्थ्यो ।’
यस्तैगरी लाइनमा फाराम भर्न आतुर देखिएकी ४५ वर्षीया राधिका पौडेलले पनि आफ्ना बालबच्चालाई पढाउने खर्च जुटाउन म्यादी प्रहरीमा आवेदन दर्ता गरेको बताइन् । फाराम दर्ता गर्न आएका अधिकांशले घरमा बेरोजगार भएर बस्नुभन्दा केही आर्थिक लाभ हुने सोचका साथ म्यादी प्रहरीमा भर्ना हुन चाहेको बताएका थिए ।
त्यस्तै, गाउँमा बेरोजगार बसेकी बेँसीसहर नगरपालिका चितीकी आइतमाया विक पनि स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएर पैसा कमाउने आशामा आएको बताउँछिन् । यस्तै, राईनास नगरपालिका– ८ का नवराज विक पनि पढाइ खर्च जुटाउन म्यादी प्रहरीमा भर्ना हुन आएको बताउँछन् ।
जागिर नपाएर भौँतारिँदै हिँडेका नवराजले म्यादी प्रहरीमा भर्ना खुलेसँगै फाराम भरेका छन् । सहरबजार तथा ग्रामीण भेगबाट म्यादी प्रहरीमा युवाहरू भर्ना हुन आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । म्यादी प्रहरीमा भर्ना हुन विद्यार्थीदेखि बेरोजगार युवायुवती तथा गृहिणीसमेत अधिक मात्रामा छन् ।
म्यादी प्रहरीमा फाराम भर्ने पहिलो दिनमै पाँच सय १३ जना र दोस्रो दिन सोमबार चार सय ८० जनाले फाराम भरेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कृष्णबहादुर कार्कीका अनुसार आइतबारदेखि सुरु भएको म्यादी भर्ना कार्यक्रम चैत ११ गते साँझ ५ बजेसम्म रहनेछ । कार्कीले म्यादीमा भर्ना हुन चाहनेले तोकिएको अवधिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सकिने बताएका छन् । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।
सोमबारसम्म जिल्ला प्रहरी कार्यालय लमजुङमा नाै सय ९३ जनाको फारम दर्ता भएको छ । जसमा एक सय ८५ महिला र आठ सय आठजना पुरुषले फाराम दर्ता गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कार्कीले बताए । उनका अनुसार लमजुङमा नाै सय ८६ म्यादी प्रहरी माग भएको छ ।