रेमिट्यान्स घटे पनि बढ्दो डलर भाउले विदेशी मुद्रा सञ्चितिमा सामान्य वृद्धि
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदनले माघमा मूल्यवृद्धिदर ६ प्रतिशतनजिक पुगेको उल्लेख गरेको छ । गत वर्ष माघको तुलनामा मूल्यवृद्धि ५ दशमलव ९७ प्रतिशतले बढेको हो ।
राष्ट्र बैंकले हाल विभिन्न तीन सय ९६ किसिमका वस्तुहरूका आधारमा मूल्यवृद्धि सूचक तयार गर्दै आएको छ । माघ महिनामा शिक्षा, दाल तथा गेडागुडी, तरकारी, यातायात र घिउ तथा तेलको मूल्य उच्चदरमा बढेको छ । यी वस्तु तथा सेवाको मूल्यवृद्धिदर ७ दशमलव ८६ प्रतिशतदेखि २० दशमलव ६८ प्रतिशतसम्म पुगेको छ ।
काठमाडौं उपत्यकाका बासिन्दाले ५ दशमलव ४७ प्रतिशत मूल्यवृद्धि खेपिरहँदा तराईकाले ६ दशमलव ५० प्रतिशत, पहाडकाले ५ दशमलव ३२ प्रतिशत र हिमालकाले ५ दशमलव ९ प्रतिशतसम्म मूल्यवृद्धि खेपिरहेका छन् ।
‘निश्चय नै युक्रेन र रसियाबीचको तनावले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि भइरहेको छ,’ नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले भने, ‘इन्धनको मूल्यमा हुने बढोत्तरीले अप्रत्यक्ष रूपमा उत्पादन लागतदेखि वितरण खर्चमा वृद्धि हुने भएकाले प्रभाव पार्छ, सम्भवतः फागुनमा मूल्यवृद्धि ६ प्रतिशतभन्दा माथि नै भएको छ ।’ राष्ट्र बैंकले चालू आवमा मूल्यवृद्धि ६ दशमलव ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ ।
माघ ०७७ मा प्रतिब्यारेल ६२ दशमलव ४७ डलर रहेको कच्चा पेट्रोलियम पद्धार्थको मूल्य माघ ०७८ मा ५६ दशमलव १ प्रतिशतले वृद्धि भएर ९७ दशमलव ५० डलर पुगेको छ । अमेरिकामा समेत मूल्यवृद्धिदर १० प्रतिशत पुग्ने अनुमान गरिएको छ । त्यहाँको सरकारले अर्थतन्त्र उत्थानका लागि नगद नै बाँडेका कारण मूल्यवृद्धिमा दबाब परिरहेको भए पनि नेपालजस्तो आयातमा निर्भर मुलुकमा भने अर्थतन्त्रमा गरिएको मुद्रा प्रवाहका कारण मूल्यवृद्धि नभएको दाबी राष्ट्र बैंकको छ ।
‘हामीले बैंकिङ प्रणालीबाहिर रकम पठाएको नभएर प्रणालीमा पठाएको हो, यही कारण यसको प्रभाव मूल्यवृद्धिमा परेको होइन,’ श्रेष्ठको दाबी छ, ‘नेपालमा बैंकिङ प्रणालीमा रहने तरलताको प्रभाव मूल्यवृद्धिमा भन्दा ज्यादा देशको भुक्तानी सन्तुलनमा पर्ने गरेको छ ।’
वित्तीय प्रणालीमा उच्चदरमा तरलता रहँदा आक्रामक दरमा बढेको कर्जा प्रवाहका कारण आयात उल्लेख्य दरमा बढेको छ । यसले देशको भुक्तानी सन्तुलन (शोधनान्तर) केही महिनादेखि दबाबमा छ । माघमा शोधनान्तर घाटा दुई खर्ब ४७ अर्ब रुपैयाँ छ । पछिल्लो समय भने बैंकहरू चरम तरलता अभावबाट गुज्रिरहेका छन् ।
बढ्दो आयातको तुलनामा घट्दो रेमिट्यान्स दर र कोभिडका कारण थलिएको पर्यटकीय क्षेत्रका कारण विदेशी मुद्रा सञ्चितिमा पनि दबाब पर्दै आएको छ । यद्यपि, पुसको तुलनामा माघमा आयात केही घटेको र डलरको भाउ बढेका कारण विदेशी मुद्रा सञ्चिति केही बढेको छ । पुसमा नौ अर्ब ८९ करोड डलर (११ खर्ब ६५ अर्ब रुपैयाँ) विदेशी मुद्रा सञ्चिति रहेकोमा माघमा भने नौ अर्ब ७५ करोड डलर (११ खर्ब ७३ अर्ब रुपैयाँ) छ । नेपाली मुद्रासँग अमेरिकी डलरको विनिमय दर बढेकाले सञ्चिति बढेको हो । विदेशी मुद्राको सञ्चितिले ६ महिना सात दिनको वस्तु तथा सेवाको आयात धान्न सक्ने अवस्था छ ।
यो अवधिमा आयात करिब ४३ प्रतिशतले बढेर ११ खर्ब ४७ अर्ब पुगेको छ । तर, पुसको तुलनामा वृद्धिदर केही सुस्तिएको हो । पुसमा वार्षिक ५१ प्रतिशतका दरमा आयात बढ्दा माघमा भने वृद्धिदर करिब ४३ प्रतिशतमा सीमित भएको हो । बढ्दो आयातलाई कम गराउन राष्ट्र बैंकले केही समयअघि ४३ भन्सार कोडअनुसारका वस्तुहरूको आयातमा शतप्रतिशत र बाँकी दुईमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यसबाहेक पाम आयल र सोयाबिनको आयातको वृद्धिदरसमेत घट्न थालेको छ । पुसमा कच्चा सोयाबिन तेलको आयात एक सय ७ प्रतिशत र पाम आयलको आयात नौ सय १९ प्रतिशतले बढेको थियो । माघमा भने यी वस्तुको आयात क्रमशः ८९ प्रतिशत र आठ सय ७ प्रतिशतले बढेको छ ।
पर्यटकबाट हुने आम्दानी ११ अर्ब ३५ करोड छ । यो अवधिमा पाँच खर्ब ४० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जाको वार्षिक वृद्धिदर २५ प्रतिशत छ ।