चुनाव प्रचार अभियानमा सत्तारूढ गठबन्धनको विरोध नगर्न देउवाको निर्देशन

मंगलबार, २४ फागुन, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीयदेखि संघीय तहको निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने गरी खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा देउवाले सानातिना मतभेदलाई बिर्सेर पार्टीलाई बहुमत दिलाउने गरी खटिन निर्देशन दिएका हुन् । 

कांग्रेसको पक्षमा माहोल बनाउनुपर्नेमा उनको जोड थियो । देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा वर्तमान सत्तारूढ गठबन्धनको विरोध नगर्नसमेत आग्रह गरेको बैठकमा सहभागी केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए । 

कांग्रेसले आसन्न चुनाव लक्षित गरेर आगामी २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

बैठकमा महरले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ को सट्टा ‘निःशुल्क स्वास्थ्य र शिक्षासँगै सर्वसुलभ यातायात, सञ्चार र रोजगार, जनताको अधिकार र कांग्रेसको कार्यभार’ नारा राख्नुपर्ने प्रस्ताव गरेका थिए । 

आगामी निर्वाचनलाई लक्षित गरी अभियान र रणनीति तय केन्द्रीय समितिको बैठकबाटै हुनुपर्ने उनको भनाइ छ ।

सुझावित समाचार