डाक्टर र नर्सलाई माल्दिभ्समा रोजगारी

शुक्रबार, २० फागुन, २०७८
डिजिटल संस्करण

नेपाल–माल्दिभ्स श्रम समझदारीपत्रको मस्यौदालाई अन्तिम रूप दिने तयारी

माल्दिभ्समा नेपाली डाक्टर तथा नर्सहरूको मागलाई नेपाल सरकारले सकारात्मक रूपमा लिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताएका छन् । श्रममन्त्री श्रेष्ठसँग नेपालका लागि माल्दिभ्सका नवनियुक्त राजदूत डा. हसन नियाजले गरेको भेटमा उनले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले मेडिकल क्षेत्रबाहेक पर्यटन, निर्माणलगायत क्षेत्रमा पनि नेपाली श्रमिकलाई हुन सक्ने रोजगारीको अवसरबारे चासो राखेका थिए ।

नेपाली डाक्टर तथा नर्सहरूलाई माल्दिभ्सका सरकारी अस्पतालहरूमा रोजगारीका लागि नेपाल–माल्दिभ्स श्रम समझदारीपत्रको मस्यौदालाई अन्तिम रूप दिने तयारी भइरहेको छ । अहिले माल्दिभ्सका विभिन्न स्वास्थ्य संस्थामा दुई सयभन्दा बढी नेपाली डाक्टर तथा नर्सहरू छन् । 

उनीहरूले माल्दिभियन मुद्रामा पारिश्रमिक प्राप्त गर्ने र स्थानीय बैंकहरूले मुद्रा विनिमयको सुविधा नदिँदा समस्यामा परेको भन्दै मन्त्री श्रेष्ठले माल्दिभियन बैंकहरूमार्फत डलर विनिमयको सुविधा दिन आग्रह गरे । मन्त्री श्रेष्ठले नेपालमा चिकित्सा अध्ययनका लागि माल्दिभ्सका विद्यार्थीलाई अवसर दिन यसअघि भएको शैक्षिक सहयोगसम्बन्धी सम्झौता नवीकरण गर्न नेपाल सरकार सकारात्मक रहेको बताए ।

सन् १९८० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल–माल्दिभ्सबीच घनिष्ट सम्बन्ध रहेको छ । मन्त्री श्रेष्ठले दुवै देश सार्कका सक्रिय सदस्य राष्ट्र रहेको बताउँदै नवनियुक्त राजदूत नियाजको कार्यकालमा द्विपक्षीय सम्बन्ध अभिवृद्धि हुने विश्वास व्यक्त गरे । सो अवसरमा राजदूत नियाजले माल्दिभ्समा रहेका नेपाली श्रमिकको समस्या समाधानका लागि पहल गर्ने बताए । 

सुझावित समाचार