नेपालमा लगानी बढाउन गुजरातका मुख्यमन्त्रीसँग आग्रह

बुधबार, १८ फागुन, २०७८
डिजिटल संस्करण

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनील केसीले भारतको गुजरातका मुख्यमन्त्री भूपेन्द्र रजनीकान्त पटेलसँग नेपालमा लगानी बढाउन आग्र्रह गरेका छन् । उपाध्यक्ष केसीले मंगलबार गुजरातको गान्धीनगरमा रहेको पटेलको सरकारी निवासमा भएको भेटवार्तामा गुजरातको निजी क्षेत्र तथा सरकारको तर्फबाट नेपालमा लगानी बढाउन तथा दुई देशबीच सहकार्य र सहयोग आदान–प्रदान गर्न अनुरोध गरेका हुन् । 

भेटमा मुख्यमन्त्री पटेलले दुई देशबीच रहिआएको पुरानो सम्बन्धमा समेत सौहार्दपूर्ण समीक्षा गर्दै दुईपक्षीय सहयोग तथा सहकार्य अभिवृद्धि गर्न गुजरात सरकार सकारात्मक रहेको बताएको संघले जनाएको छ । नेपालको जलविद्युत् क्षेत्र, सौर्य ऊर्जालगायतका नवीकरणीय ऊर्जा एवं सूचना प्रविधि, पूर्वाधार विकासको क्षेत्रमा लगानी गर्ने विषयमा पटेलले सकारात्मक जवाफ दिएको संघले उल्लेख गरेको छ ।  

संघले नेपाल–भारत साझेदारी सम्मेलनमा विशेष अतिथिका रूपमा सहभागी हुन तथा गुजरातको आर्थिक विकासको मोडलका विषयमा आफ्नो धारणासहित सम्बोधन गर्न राखेको प्रस्तावमा पनि मुख्यमन्त्री पटेलले सहमति जनाएको जानकारी दिएको छ । भेटमा दुई देशबीचका लगानीकर्तालाई एकै स्थानमा ल्याई लगानी तथा आपसी सहयोगको क्षेत्रमा व्यापक विचार विमर्श गर्ने उद्देश्यसहित काठमाडौं र अहमदाबाद दुवै स्थानमा नेपाल–गुजरात वाणिज्य मञ्चको स्थापना गरी अघि बढ्ने सहमति भएको जनाइएको छ । 

सुझावित समाचार