एउटै अभियोगमा पक्राउ परेका निमा दोर्जे शेर्पा, उमेशकुमार केसी, पेम्बा शेर्पा, राजाराम दुवाडी र बद्रीनाथ पौडेल भने हिरासतमै
नियन्त्रित औषधि विनाअनुमति बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका दरबारमार्गस्थित ‘बिइङ ह्युमेन क्लोथिङ’का सञ्चालक सन्तोषचन्द्र बख्रेल साधारण तारेखमा छुटेका छन् । सोही अभियोगमा पक्राउ परेका अन्य पाँचजना भने हिरासतमै छन् ।
डेढ करोड रुपैयाँ मूल्यबराबरको अवैध मदिरासहित ३९ वर्षीय बख्रेल गत १४ माघमा पक्राउ परेका थिए । अनुसन्धानपछि प्रहरीले बख्रेलको नियन्त्रित औषधि ट्रामाडोल लुकाइराखेको गोदाम नै फेला पारेको थियो । खुसिंबुस्थित उनको गोदाम र अन्य ठाउँ गरी प्रहरीले २० हजार फाइलभन्दा धेरै ट्रामाडोल बरामद गरेको थियो । सोही अभियोगमा प्रहरीले रामेछापका निमा दोर्जे शेर्पा, बझाङका उमेशकुमार केसी, संखुवासभाका पेम्बा शेर्पा, नुवाकोटका राजाराम दुवाडी र लमजुङका बद्रीनाथ पौडेललाई पक्राउ गरेको थियो ।
गंगाधर पौडेल, न्यायाधिवक्ता, सरकारी वकिल कार्यालय, काठमाडौं
‘औषधि व्यवस्था विभागबाट आएको मुद्दा हो त्यो । जसमध्येका एक सन्तोषचन्द्र बख्रेल साधारण तारेखमा छुटेका र अन्य हिरासतमै रहेको मैले बुझेको छु । विस्तृतमा विवरण अभियोजन फाइल हेरेर मात्रै भन्न सकिएला ।
सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता गंगाधर पौडेलले बख्रेल साधारण तारेखमा छुटेको र सोही अभियोगमा पक्राउ अन्य पाँच हिरासतमै रहेको बताए । ‘औषधि व्यवस्था विभागबाट आएको मुद्दा हो त्यो । जसमध्येका एक सन्तोषचन्द्र बख्रेल साधारण तारेखमा छुटेका र अन्य हिरासतमै रहेको मैले बुझेको छु । विस्तृतमा विवरण अभियोजन फाइल हेरेर मात्रै भन्न सकिएला,’ उनले भने ।
बख्रेलको अनुसन्धानमा संलग्न औषधि व्यवस्था विभाग र लागुऔषध नियन्त्रण ब्युरोका अधिकारीका अनुसार बख्रेलले विनाअनुमति भारतबाट भन्सार छलेर नियन्त्रित औषधि ट्रामाडोल नेपाल भिœयाएका थिए । सोही औषधि चाबहिलस्थित कल्याणकारी मेडिकल हलबाट बिक्री गर्दै आएका थिए । मेडिकलका सञ्चालक पेम्बाले सो औषधि दोर्जे, उमेशकुमार, राजाराम र बद्रीनाथमार्फत बजारका अन्य ठाउँमा बिक्री गर्दै आएका थिए । अवैध तरिकाले नियन्त्रित औषधि नेपाल भिœयाई बिक्री गरेको पुष्टि भएपछि औषधि व्यवस्था विभागले बख्रेलसहित ६ जनालाई औषधि ऐन–०३५ को दफा ८ र ९ अनुसार मुद्दा दर्ता गरेको थियो । कसुर प्रमाणित भए अभियुक्तविरुद्ध तीन वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना हुने ऐनको दफा ३४ मा उल्लेख छ । तर, जिल्ला अदालत काठमाडौँले बख्रेललाई साधारण तारेखमै छाडेको छ ।
बख्रेललाई छुटाउन महान्यायाधिवक्ता कार्यालयको दबाब
औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले बख्रेलसहित पक्राउ परेका ६ अभियुक्तविरुद्ध औषधि ऐन–०३५ अनुसार एउटै मुद्दा दर्ता भएको बताए । ‘नियन्त्रित औषधिको कारोबारमा बख्रेलसहित ६ जना पक्राउ परेका थिए । सबैलाई एउटै मुद्दा दर्ता भएको हो । तर, बख्रेल साधारण तारेखमा कसरी छुटे मैले बुझ्न सकेको छैन,’ उनले भने ।
विभागका अनुसार बख्रेल छुटाउन जिल्ला न्यायाधिवक्ता कार्यालयमाथि महान्यायाधिवक्ता कार्यालयको दबाब थियो । सोही कारण मुद्दा कमजोर बनाइएकाले बख्रेल अदालतबाट साधारण तारेखमै छुटेको विभाग स्रोतको दाबी छ । बख्रेल यसअघि पनि ट्रामाडोलको अवैध कारोबारमा मुछिएका थिए । लागुऔषध नियत्रण ब्युरोले ०७६ मा १५ लाख ७५ हजार ट्रामाडोलसहित केही कारोबारीलाई पक्राउ गरेको थियो । अनुसन्धानपछि उक्त औषधि बख्रेलले नेपाल भित्र्याएको खुलेको थियो । फरार सूचीमा रहेका उनी पछि धरौटी रकम बुझाएर छुटेको ब्युरोले जनाएको छ । गत १९ मंसिरमा उनको दरबारमार्गस्थित ‘बिइङ ह्युमेन क्लोथिङ’को सोरुमबाट प्रहरीले स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो । उक्त रकमबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
बख्रेल अवैध मदिरा कारोबारमा पनि संलग्न
‘बिइङ ह्युमेन क्लोथिङ’को आवरणमा बख्रेलले अवैध मदिराको कारोबार पनि गर्दैै आएका थिए । प्रहरीको विशेष अनुसन्धानपछि उनको काठमाडौँस्थित रामकोट, बानेश्वर, कपनस्थित गोदामबाट ब्ल्याक लेबल, रेड लेबल, चिभास रिगल र ऐब्सुलेट भोड्काका दुई सय ९६ कार्टुन बरामद भएको थियो । थप अनुसन्धान गर्न प्रहरीले बख्रेलसँगै पक्राउ परेका कागेश्वरी मनोहरा–६ का शैलेश पन्त, पर्सा सुवर्णपुरका रविन पाख्रिन र सर्लाही बरहथवा–९ का नारायणप्रसाद घिमिरेलाई राजस्व अनुसन्धान विभागमा पठायो । विभागले बख्रेललाई एक करोड ६५ लाख रुपैयाँ धरौटीमा दुई साताअघि नै छाडेको छ । उनीसँगै पक्राउ परेका रविन एक करोड ३८ लाख, शैलेश र नारायण जनही ६ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।