ठेकेदारले सडक निर्माणमा बदमासी गर्दा उठेन काठमाडौंको फोहोर

११ दिनदेखि थुप्रिएर दुर्गन्ध बढ्न थालेको फोहोर कहिले उठ्ने टुंगो छैन

बिहिबार, १२ फागुन, २०७८
डिजिटल संस्करण
ठेकेदारले सडक निर्माणमा बदमासी गर्दा उठेन काठमाडौंको फोहोर

शान्तिनगर

ठेकेदारले दुई वर्षमा कालोपत्रे गर्नुपर्ने सडक आठ वर्षसम्म पनि अलपत्र पारेपछि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा असर परेको छ । ११ दिनदेखि काठमाडौंका सडक, गल्ली र चोकहरूमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिनुको एक मात्र कारण पासाङ ल्हामु राजमार्गमा शैलुङ कन्स्ट्रक्सनले  गरेको बदमासी हो ।

उपत्यकाको फोहोर नुवाकोटको ककनी गाउँपालिका–२, सिसडोल पुर्‍याउन यही राजमार्ग प्रयोग गर्नुपर्छ । तर, शैलुङले दुई वर्षभित्र निर्माण सक्ने गरी ५ जेठ ०७१ मा सम्झौता गरेकोमा अहिलेसम्म ५० प्रतिशत पनि काम गरेको छैन । ठेकेदारको बदमासीविरुद्ध १ फागुनदेखि आन्दोलनमा उत्रिएका स्थानीयले सडक अवरुद्ध गरेका छन् । जसकारण काठमाडौंको फोहोर उठ्न सकेको छैन ।

जोरपाटी

‘सडक कालोपत्रे हुनुपर्‍यो भन्ने त्यहाँका स्थानीयको एकसूत्रीय माग छ । माग सम्बोधन होस् भनेर सडक विभागलाई पत्राचार गर्‍यौँ । विभाग र निर्माण कम्पनीसँग आज पनि छलफल राख्यौँ । तर, कालोपत्रे नभएसम्म बाटो नखुलाउने स्थानीयको अडान छ,’ काठमाडौं महानगरपालिकाअन्तर्गत वातावरण विभाग प्रमुख सरिता राईले भनिन् । 

काठमाडौं र ललितपुर महानगरसहित १८ वटै पालिकाको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । काठमाडौं महानगरका अनुसार एकै दिन हजारदेखि १२ सय टनसम्म फोहोर उत्पादन हुन्छ । १० दिनमा करिब १५ सय ट्रक फोहोर थुप्रिसकेको र महानगरले जथाभावी सडकमा नफाली घरमै जम्मा गर्न आग्रह गरेको राईले बताइन् ।

पुतलीसडक

 कालोपत्रे नसकेसम्म सडक नखोल्ने स्थानीयको अडान
निर्माण कम्पनीले सोमबारदेखि काम थाले पनि कालोपत्रे नसकेसम्म सडक नखोल्ने अडान स्थानीयले राखेको सडक विभागले जनाएको छ । ‘ठेकेदार कम्पनीले सोमबारदेखि काम गर्न त थालेको छ । समयमै काम सकाउने प्रतिबद्धता पनि गरेको छ । तर, स्थानीय सडक कालोपत्रे नभई बाटो खुलाउन तयार छैनन्,’ विभागका प्रवक्ता शिवप्रसाद नेपालले भने, ‘भरपर्दो ठेकेदार कम्पनी होइन । त्यसैले कहिलेदेखि बाटो खुल्ला भन्न गाह्रो छ ।’ 

नयाँ बानेश्वर 

भारतीय एक्जिम बैंकको ऋण सहयोगमा बनिरहेको यो सडकमा शैलुङ र भारतको अरावली इनफा पावर प्रालि जेभीले ठेक्का पारेका थिए । उनीहरूले दुई खण्डमा विभाजन गरेर सडकमा काम थालेका थिए । एउटा खण्डमा भारतीय निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता विभागले तोडिसकेको छ । त्यसविरुद्ध ठेकेदार कम्पनी न्यायिक पुनरावलोकनमा गएकाले अर्को ठेक्का लागेको छैन । तर, शैलुङको मनपरीमा विभागले कारबाही चलाएको छैन । यसबारे विभागका प्रवक्ता नेपाल भन्छन्, ‘ठेक्का तोड्दा आयोजना झन् अलपत्र पर्न सक्छ । त्यसैले ठेकेदार कम्पनीलाई ताकेता गर्न र छिटो काम गर्नका लागि भन्नेबाहेक हामीसँग अरू विकल्प पनि छैन ।’ यसअघि २८ मंसिरदेखि पनि स्थानीयले दुई सातासम्म सडक अवरुद्ध गरेका थिए । त्यतिवेला थुप्रिएको फोहोर व्यवस्थापन गर्न महानगरलाई दुई साता नै लागेको थियो ।

See More On

सुझावित समाचार