आयल निगमले मागअनुसार तेल दिन छाड्यो

शुक्रबार, ६ फागुन, २०७८
डिजिटल संस्करण

नोक्सानी रकम बढ्दै गएको कारण देखाएर नेपाल आयल निगमले बजार मागअनुसार पेट्रोल र डिजेल दिन छाडेको छ । निगमले देशभरका डिपोहरूलाई परिपत्र जारी गर्दै पेट्रोलपम्पहरूको गत वर्ष बिक्री गरेको परिमाण हेरेर सोहीअनुसार मात्रै तेल दिन निर्देशन दिएको हो ।

केन्द्रीय कार्यालयको यस्तो निर्देशनपछि झापा, विराटनगर, महेन्द्रनगर (धनुषा), अमलेखगन्ज (बारा), वीरगन्ज, थानकोट, पोखरा, भैरहवा, दाङ, नेपालगन्ज, सुर्खेत, धनगढी र दिपायलमा रहेका डिपोहरूले पेट्रोलपम्पलाई मागेजति तेल दिन छाडेका छन् । एक व्यवसायीका अनुसार निगमले बजार मागभन्दा १० प्रतिशतसम्म कम तेल दिइरहेको छ । 

वार्षिक रूपमा पेट्रोल र डिजेलको माग औसतमा १५ प्रतिशतले वृद्धि भइरहेको छ । ‘निगमले केही समयअघिबाट मात्रै पम्पले मागेजति तेल दिन छाडेको हो । त्यसैले बजारमा अहिलेसम्म खासै आपूर्ति कम भएको देखिएको छैन,’ एक व्यवसायीले भने, ‘अबका दिनमा भने बिस्तारै बजारमा मागअनुसार इन्धन आपूर्ति गर्न कठिनाइ हुने देखिन्छ ।’

आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले पनि व्यवसायीले माग गरेअनुसार तेल नदिएको स्विकारे । ‘हामीले चालू आर्थिक वर्ष ०७८/७९ को सुरु महिनाबाटै निरन्तर नोक्सानी खेपेर पेट्रोलियम बिक्री गरिरहेका छौँ । यो घाटालाई केही कम गर्न मागेअनुसार पम्पलाई तेल नदिनु भनी सबै डिपोलाई पत्राचार गरेका हौँ,’ उनले भने, ‘सबैभन्दा बढी समस्या भारतीय सीमा क्षेत्रमा रहेका पम्पमा देखिएको छ । त्यहाँको बिक्रीलाई पनि थप कडाइ गर्न खोजिएको हो । सीमा क्षेत्रका पम्पमा निरन्तर अनुगमन गरी भारतीय सवारीसाधनमा तेल हाल्न नदिनु भन्ने निर्देशन पनि दिएका छौँ ।’ उनले गत वर्षको बिक्री तथ्यांकअनुसार तेल दिन निर्देशन दिएयता कुनै क्षेत्रबाट पनि मागअनुसार आपूर्ति कम भयो भनी गुनासो नआएको बताए । 

निगमले १८ माघको खरिदअनुसार बिक्री गरेको पेट्रोलमा १३.२३ रुपैयाँ र डिजेलमा ११.१३ रुपैयाँ प्रतिलिटर नोक्सान खेपेको उनले बताए । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले बुधबार पुनः तेल खरिदको नयाँ मूल्यसूची पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै आइओसीले निगमलाई साबिकको भन्दा पेट्रोलमा ५.५६ रुपैयाँ र डिजेलमा ५.६३ रुपैयाँ थप मूल्य बढाएर पठाएको उपाध्यायले बताए । 

‘अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा मूल्य समायोजन (वृद्धि) गर्दा विरोध मात्र हुन थालेपछि घाटा पूर्ति गर्ने अन्य विकल्पहरू के–के छन् भनेर खोज्न थालेका छौँ । यसक्रममा गत वर्षको बिक्रीअनुसार नै तेल बिक्री गर्दा बजारमा अभाव नहुने देखिएको छ । केही समय यही नीति कार्यान्वयन गर्छौँ । 

अर्कातिर बोर्डर क्षेत्रका पम्पबाट हुने तस्करी नियन्त्रणका लागि पनि हाम्रो पहल जारी छ,’ उनले भने । सीमा क्षेत्रमा भारतको भन्दा पेट्रोल ३२.२४ रुपैयाँ र डिजेल २५.३१ रुपैयाँ नेपालमा सस्तो भएकाले तस्करी हुने गरेको उनले बताए ।

बजारमा अभाव देखिने चिन्ता
आयल निगमले सीमामा हुने तस्करी नियन्त्रण गर्न र थोरै तेल खरिद तथा बिक्री गरी घाटा कम गर्न पेट्रोलपम्पले मागेजति तेल नदिँदा बिस्तारै बजारमा अभाव हुन सक्ने चिन्ता बढेको छ । सामान्य अवस्थामा देशभर पेट्रोल दुई हजारदेखि दुई हजार पाँच सय किलोलिटरसम्म बिक्री हुने गरेको थियो । तर, निगमले कडाइ सुरु गरेपछि दैनिक बजारमा १८ सयदेखि दुई हजार किलोलिटरसम्म मात्रै पेट्रोल पठाइरहेको छ । त्यस्तै, डिजेलको खपत ६ हजारदेखि सात हजार किलोलिटर रहेकोमा निगमले हाल ४८ सयदेखि ५५ सय किलोलिटर मात्रै बिक्री गरिरहेको छ ।

‘बजारको मागअनुसार हामीले निगमसँग तेल माग्ने हो, तर मागेजति नपाउने हो भने पम्पमा लाइन लाग्ने र उपभोक्ताले सास्ती खेप्ने दिन आउन सक्छ,’ एक पम्प व्यवसायीले भने । मुलुक भित्रने पेट्रोलियममध्ये डिजेलको ५९ प्रतिशत र पेट्रोलको २१ प्रतिशत बजार हिस्सा छ । धेरै बिक्री हुने दुई प्रमुख पेट्रोलियमको खरिद र बिक्रीमा कडाइ गर्दा नोक्सानी कम भई संस्थालाई फाइदा हुने निगमको जिकिर छ ।

सुझावित समाचार