नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताएका छन्।
प्रचण्डनिवास खुमलटारमा भएको भेटका क्रममा उनले यस्तो बताएका हुन्। कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार भेटमा समसामयिक राजनीति, एमसिसी, स्थानीय तहको निर्वाचन, गठबन्धन, संसद् सुचारु गर्नेलगायतका विषयमा छलफल भएको थियो । भेटमा कोइरालाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताएका थिए। ‘हामी निर्वाचनमा गठबन्धन गर्ने पक्षमा छैनौँ। गठबन्धन गर्दा कांग्रेसलाई कुनै फाइदा छैन। ’
कोइरालाको भनाइ उद्धृत गर्दै थपलियाले नयाँ पत्रिकासँग भने, ‘निर्वाचनबाहेक सरकार सञ्चालनमा गठबन्धनलाई निरन्तरता दिन सकिन्छ।’ भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र कांग्रेस नेता अमरेशकुमार सिंहलगायतको उपस्थिति रहेको थियो। भेट करिब १ घन्टा चलेको थियो। कोइरालाले मंगलबार एमाले अध्यक्ष केपी ओलीसँग समेत भेट गरेका थिए।