हिउँमा फसेका ३४ जनाको पाँच दिनपछि उद्धार

बिहिबार, २७ माघ, २०७८
डिजिटल संस्करण

हिउँमा फसेका जुम्ला तातोपानी गाउँपालिका–८ का ३४ जनालाई पाँच दिनपछि उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय, तातोपानी गाउँपालिका र स्थानीयको समन्वयमा बुधबार उनीहरूको सकुशल उद्धार गरिएको हो । २१ माघमा भएको भारी हिमपातका कारण गाग्रा पाटनमा सेतो चिनी (खिरौला) संकलन गर्न गएका तातोपानी–८, टोप्लाका ३४ जना घर फर्किन नसकेर हिउँमा फसेका थिए । 

२३ माघमा प्रशासनको पहल, तातोपानी गाउँपालिकाको समन्वय तथा मुख्यमन्त्री र कानुन मन्त्रालयको सहयोगमा हिउँमा फसेकाको राहत उद्धारका लागि हेलिकोप्टर पठाइएको थियो । बाक्लो हिउँ जमेकाले हेलिकोप्टर अवतरण हुन नसकेपछि झन्डै दुई क्विन्टल खाद्यान्न राहत फालेर उद्धार टोली फर्किएको थियो । बाक्लो हिउँ जमेर बाटोसमेत नखुलेकाले उनीहरूको उद्धार हुन सकेको थिएन । 

मंगलबार सुरक्षा निकाय, प्रशासन, तातोपानी गाउँपालिकाको समन्वयमा हिउँमा फसेका ३४ जनासहित पाटनमा रहेका सयौँ भेडाको समेत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले हिउँमा फसेका स्थानीय आफ्ना पशुचौपायासहित सकुशल फर्किएको बताइन् । हिउँमा फसेका ३६ मध्ये दुईजना २२ माघमै घर फर्किसकेका थिए । सेतो चिनी जडीबुटी संकलनका क्रममा बाक्लो हिउँ जमेर नागरिक फसेपछि प्रदेश सरकारदेखि प्रहरी प्रशासन र तातोपानी गाउँपालिका नागरिकको राहत र उद्धारमा जुटेको थियो । 

तातोपानी गाउँपालिका–८ को गाग्रो पाटनको एडी ओडार, खोटी सल्ला ओडार र गाग्रो ओडारमा बसेका स्थानीयको उद्धार गरिएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए । ‘सेतो चिनी (खिरौला) जडीबुटी संकलन गर्न पाटन गएका स्थानीय बिहीबारदेखि भएको भारी हिमपातले घर फर्किन नसकेर हिउँमा फसेका थिए । २३ गते हवाई उद्धार गर्न सकिएन, त्यसैले राहत दियौँ । फेरि हिउँ पर्न सक्ने भएपछि सबैको समन्वयमा हिउँमा फसेका ३४ जनालाई घर ल्याइएको छ,’ उनले भने । भारी हिमपातका कारण अत्यधिक चिसोले जुम्लामा दुईजनाको मृत्यु भएको छ । गाग्रा पाटनमा सेतो चिनी संकलनका लागि गएका तातोपानी गाउँपालिका–८ की ३७ वर्षीया देवी शाही र तातोपानी–७, बारगाउँका ४६ वर्षीय मुन रावतको मृत्यु भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए ।

See More On

सुझावित समाचार