गण्डकी प्रदेशका अस्पतालमा बिरामीलाई सित्तैमा रगत

मंगलबार, २५ माघ, २०७८
डिजिटल संस्करण

अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था छ । अस्पताल र चिकित्सकको सिफारिसमा रक्तसञ्चार केन्द्रबाट रगत खरिद गर्दा एक पिन्टको  एक हजार रुपैयाँसम्म शुल्क बिरामीका आफन्तले तिर्दै आएका छन् ।

पोखराको रामघाटमा अवस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले सरकारी अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगतको सात सय र निजीका लागि एक हजार रुपैयाँ लिने गरेको छ । रक्तदाताले स्वेच्छिक दिएको रगतको शुल्क लिने नहुने र निःशुल्क हुनुपर्ने माग हुँदै आएकामा अब गण्डकी प्रदेशका सम्पूर्ण स्वास्थ्य संस्थामा उपचार गराइरहेका बिरामीलाई निःशुल्क रगत उपलब्ध हुने भएको हो । बिरामीले अब कुनै शुल्क तिर्न नपर्ने र सित्तैमा रगत दिने व्यवस्था सरकारले गरेको छ ।

आगामी फागुन १ गतेदेखि प्रदेशभित्रका सबै सरकारी तथा निजी अस्पतालमा रगत निःशुल्क गर्ने निर्णय प्रदेश सरकारले गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको ‘रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन कार्यविधि २०७८’ सोमबारको मन्त्रिपरिषद् बैठकले पारित गरेसँगै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइने स्वास्थ्यमन्त्री मधु अधिकारीले बताए । 

प्रदेश सरकारले यसअघि गत मंसिर  ८ गते पहिलोपटक प्रदेश स्वास्थ्य नीति जारी गरेको थियो । सोही नीतिमा रहेर रगत निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको बताइन्छ । मन्त्री अधिकारीले भने, ‘स्वास्थ्य सेवा प्रवाहका क्रममा रगतको आवश्यकता पर्ने बिरामी तथा दुर्घटनाका कारण रगत दिनुपर्ने व्यक्तिले आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा अब रगत निःशुल्क पाउनेछन् । यसबाट बिरामीको जीवन जोखिममा पर्ने अवस्था अन्त्य भई जनताको जीवनरक्षा गर्न सहयोग पुग्नेछ । निम्न आयस्तर भएका नागरिकलाई फाइदासमेत हुनेछ ।’

सरकारले रगत निःशुल्क गर्ने कार्यका लागि नेपाल रेडक्रस सोसाइटीसँग सम्झौताको तयारी गरेको छ । केही दिनमै हुने सम्झौतापछि सरकारको निर्णय कार्यान्वयनमा जानेछ । सर्वसाधारणले दान गरेको रगत प्रयोगशाला परीक्षणपछि रेडक्रसले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रले बिरामीलाई उपलब्ध गराउँदै आएको छ ।

सुझावित समाचार