निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पताललाई ३० वटा आइसियू बेड हस्तान्तरण गरेको छ। प्रतिष्ठानको तर्फबाट नेकपा (माओवादी केन्द्र)का नेता डा. लीलामणि पोखरेलको पहलमा मंगलबार अस्पताललाई ३० वटा आइसियू बेड हस्तान्तरण गरिएको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठ सहभागी कार्यक्रममा प्रतिष्ठानको तर्फबाट नेता पोखरेलले सो बेड हस्तान्तरण गर्दै शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनुपर्ने बताए। उनले पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आमजनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने बताए। उनले प्रतिष्ठानमा अहिले एक सय ५० वटा आइसियू बेड भएको र उक्त बेड देशका विभिन्न सामुदायिक र सरकारी अस्पताललाई उपलब्ध गराइने जानकारी दिए।