कोभिडको पहिलो लहरयता पर्यटन क्षेत्रमा ४२% बढ्यो कर्जा लगानी, असुलीमा समस्या हुन सक्ने
चालू आवको पहिलो ६ महिनामा उच्चदरमा कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरूको कर्जाको गुणस्तर खस्किने सम्भावना बढ्दै गएको छ । विशेषतः अर्थतन्त्र पुनरुत्थानका लागि ल्याइएको सहुलियतपूर्ण व्यवस्था र यसैको आडमा बढेको बैंकहरूको तीव्र कर्जा लगानीका कारण समस्या निम्तिन सक्ने आकलन हुन थालेको हो ।
कोभिड प्रभावित क्षेत्रमा गरिएको लगानीमा समस्या आउन सक्ने देखिएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बताए । ‘दोस्रो लहर साम्य भएपछि उत्पादनलगायतका क्षेत्रमा प्रभाव कायमै रहे पनि सेवालगायतका क्षेत्र राम्रैसँग सञ्चालनमा आए,’ उपाध्यायले भने, ‘पोहोर पुनर्तालिकीकरण र पुनर्संरचना गरिएका कोभिड प्रभावित व्यवसायमा गएको कर्जा थप समस्यामा आउन सक्ने देखिन्छ, यसले बैंकहरूमा समेत खराब कर्जा बढ्ने डर देखिएको छ ।’
गत वर्ष करिब एक खर्ब रुपैयाँबराबरको कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गरिएको थियो । अतिप्रभावित पर्यटनलगायतका क्षेत्रले यस्तो कर्जा दुई वर्ष (२०७९ असार)सम्ममा तिर्न सक्ने सुविधा दिइएको थियो । बैंकरहरूले भने यसरी भुक्तानी समय बढाइएका अधिकांश कर्जाहरूको भुक्तानी भएको बताएका थिए ।
‘बैंकबाटै ऋण लिएर यस्तो कर्जा भुक्तानीसमेत भएकाले अहिले पुनः यी क्षेत्र प्रभावित हुँदा बैंकहरूलाई समस्या त पर्ने नै देखिन्छ,’ राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले भने, ‘त्यसबाहेक पछिल्लो समय ठूलो मात्रामा कर्जा गएको छ, यसको प्रयोग पनि मुख्यतः आयातलगायतमा भएको छ, त्यसैले पनि व्यापारलगायतका क्षेत्र प्रभावित हुँदा बैंकहरूमा खराब कर्जा बढ्ने सम्भावनासमेत नकार्न सकिँदैन ।’
चालू आवको मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रतर्फ गरेको कर्जा प्रवाह गत आवको यही अवधिको तुलनामा करिब ३० प्रतिशतले वृद्धि भएको छ । जबकि वर्ष अन्त्यसम्ममा वार्षिक कुल १९ प्रतिशतको कर्जा वृद्धिको लक्ष्य राष्ट्र बैंकले राखेको छ ।
हुन त वाणिज्य बैंकहरूको खराब कर्जामा अघिल्लोपटकको भन्दा केही सुधार देखिएको छ । गत आवमा यो औसतमा १ दशमलव ६८ प्रतिशत रहेकोमा यो आवको सोही अवधिमा १ दशमलव १३ प्रतिशत छ ।
पर्यटनजस्ता महत्वपूर्ण क्षेत्रमा पुनः समस्या देखिएकाले पनि यसको प्रभाव बैंक तथा वित्तीय संस्थादेखि अर्थतन्त्रमा पर्न सक्ने अनुुमान गरिएको हो । ‘पर्यटनको अन्तरसम्बन्ध पर्यटनबाहेक अन्य साना–ठूला व्यवसायमा समेत केही न केही रूपमा प्रभाव पर्ने देखिन्छ,’ राष्ट्र बैंकका ती कार्यकारी निर्देशकले भने, ‘वार्षिक १२ लाख पर्यटक आउँदा यसले जति पर्यटन र अर्थतन्त्रका अन्य क्षेत्र चलायमान हुन्थ्यो, त्यो नहुने नै भयो नि ।’
बैंक तथा वित्तीय संस्थाहरूले कोभिडको पहिलो लहर देखिएयता मात्रै होटेल तथा पर्यटनमा करिब ४२ प्रतिशतले लगानी बढाएका छन् । मंसिर ०७६ यता यो क्षेत्रमा कर्जा लगानी ५१ अर्बले बढेर एक अर्ब ७६ करोड पुगेको छ ।
बैंकरहरूका अनुसार पर्यटनसहित सार्वजनिक यातायात, शिक्षा तथा मनोरञ्जनलगायतका क्षेत्रसमेत प्रभावित हुन सक्ने बताउँछन् । प्रत्यक्ष रूपमा दुई खर्ब १० अर्बभन्दा बढीको कर्जा प्रभावित हुन सक्ने उनीहरूको प्रक्षेपण छ । कोभिड तेस्रो लहरसँगै यी क्षेत्र प्रभावित भइरहँदा यसले समग्रमा अर्थतन्त्रसमेत प्रभावित हुने देखिन्छ ।
पुनर्कर्जा गएका र पुनर्तालिकीकरण भएका कर्जाहरूमा समस्या आउन सक्छ : अनिलकुमार उपाध्याय, अध्यक्ष, नेपाल बैंकर्स संघ
नेपालमा कर्जा लगानीको मुख्य समस्या भनेकै तोकिएको क्षेत्रमा प्रवाहित कर्जा त्यही क्षेत्रमा लगानी नहुनु हो । यसले गर्दा जग्गाजस्ता सट्टेबाजीका लागि प्रयोग हुने लगानीको जोखिम बैंकमा कहिले र कसरी सर्न सक्छ ? भन्न सहज छैन ।
यद्यपि, अहिले भइरहेको कर्जा लगानीका आधारमा मुख्य गरी सार्वजनिक यातायात, होटेल, पर्यटन, पार्टी प्यालेस, शैक्षिक संस्था, मनोरञ्जन क्षेत्र र निर्माण क्षेत्रमा गएको कर्जामा जोखिम धेरै देखिन्छ । कतिपय यी क्षेत्रमा पुनर्कर्जा पनि गएको छ भने यस्ता कर्जाहरूको पुनर्तालिकीकरण र पुनर्संरचनासमेत भएका छन् ।
त्यसैले पनि अहिलेको अवस्थामा सुधार हुन सकेन भने अबको दुई महिनापछि बैंकहरूको डिफल्ट रेट (कर्जा खराब हुने दर) बढ्न सक्छ । विदेशमा जस्तो हाम्रो मुलुकमा सप्लाई चेनको वास्तविक तथ्यांक उपलब्ध छैन । तर, अहिले यसमा अवरोध आएको सहजै देखिन्छ । यसले भावी दिनमा मूल्यवृद्धि थप बढाउनेछ भने यसले समग्र क्षेत्रलाई प्रभावित पार्ने सम्भावना छ ।