सुदूरपश्चिममा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै

शुक्रबार, २३ पुष, २०७८
डिजिटल संस्करण
सुदूरपश्चिममा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै

त्रिनगर नाकामा भारतबाट फर्केकाहरुमा एण्टीजेन परिक्षण गरिदै

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्न थालेको छ । भारतमा संक्रमण तीव्र रूपमा फैलिरहँदा त्यसको प्रभाव सुदूरपश्चिममा पनि देखिन थालेको हो । सुदूरपश्चिममा देखिएका नयाँ संक्रमितमध्ये अधिकांश भारतबाट फर्केकाहरू रहेका छन् । सुदूरपश्चिम नाकामा भारतबाट फर्केका नेपालीहरूमा कोरोना पहिचान हुने दर केही दिनयता ह्वात्तै बढेको छ ।

शुक्रबार मात्रै यहाँ एक सय ५८ जनामा संक्रमण देखिएको छ । त्रिनगर नाकामा शुक्रबार भारतबाट फर्केका चार सय ९१ जनामा एन्टिजेन परीक्षण गर्दा ६७ जना कोरोना पोजेटिभ देखिएको छ । यस्तै, गड्डाचौकी नाकामा एन्टिजेन परीक्षण गरिएका सात सय ८८ जनामध्ये ४० जना पोजेटिभ देखिए । पिसिआरबाट कोरोना पुष्टि भएकामध्ये पनि अधिकांश भारतबाट फर्केकाहरू नै रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिममा बिहीबार एक सय २० जनामा कोरोना पोजेटिभ देखिएको थियो । तीमध्ये नाकामै एक सय सातजनामा एन्टिजेन पोजेटिभ देखिएको हो । यहाँ तीन/चार दिनको अवधिमा संक्रमण दर ह्वात्तै बढेको हो । गत बुधबार ५५ जना, मंगलबार ४० जना र सोमबार २८ जनामा संक्रमण देखिएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ती सबैजसो भारतबाट फर्केकाहरू हुन् ।

 ‘अहिले संक्रमित देखिएका लगभग सबै भारतबाट फर्केकाहरू छन् ।’ निर्देशनालयका निमित्त निर्देशक ओमप्रकाश जोशीले भने, ‘भारतबाट फर्कनेहरूमा संक्रमण देखिने दर बढ्दै गएको छ । यसले सुदूरपश्चिममा संक्रमण फैलने जोखिम बढेको छ ।’ भारतबाट फर्कनेहरूको कोरोना परीक्षण गर्ने र क्वारेन्टाइनमा राख्ने व्यवस्था नगरे यहाँ संक्रमणले भयावह रूप लिन सक्ने उनले बताए । 

भारतका विभिन्न सहरहरूमा अहिले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र फैलिरहेको छ । माघेसंक्रान्ति पर्व नजिकिएसँगै यतिवेलै सुदूरपश्चिमका नाकामा भारतबाट घर फर्कनेको संख्या बढेको छ । भारतबाट फर्कने सबैको भने कोरोना परीक्षण हुन सकेको छैन । उनीहरू सीधै घर जाँदा र घरमा केही दिन अलग्गै बस्नेजस्ता स्वास्थ्य सावधानी नपनाउँदा सुदूरपश्चिममा संक्रमण तीव्र बन्ने जोखिम बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

यहाँका नाकाबाट फर्कने धेरैजसोमा संक्रमण देखिन थालेपछि नाकामा स्वास्थ्य परीक्षणमा पनि कडाइ गरिएको छ । नाकामै हेल्थडेस्क स्थापना गरी एन्टिजेनबाट कोरोना परीक्षण भइरहेको छ । नाकामा स्वास्थ्य परीक्षणको दायरा बढाएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए । संक्रमण भेटिने दर बढेपछि नाकामा कडाइ भारतबाट फर्कने सबैको परीक्षण गर्न खोजिएको उनले बताए । ‘सराइ अवधिमा संक्रमण नदेखिन सक्ने भएकाले नाकामा नेगेटिभ आयो भनेर ढुक्क हुने अवस्था छैन । घरमा गएर कम्तीमा १० दिन अलग बस्न आग्रह गरिरहेका छौँ, ’ प्रवक्ता कार्कीले भने, ‘परिवारमा संक्रमण फैलन नदिन व्यक्ति आफू पनि सचेत हुनुपर्यो ।’

सुझावित समाचार