लागुऔषध कारोबार गर्न कारागारभित्रै ‘कोड भाषा’ विकास

बुधबार, २१ पुष, २०७८
डिजिटल संस्करण

भारतीय नागरिक गुड्डु गुप्ता मुख्य योजनाकार, २३ दिनको अपरेसनपछि पाँचजना पक्राउ

भारतीय नागरिक गुड्डु गुप्ताले जेलभित्रै बसी लागुऔषधको व्यापार गर्ने र त्यसका लागि ‘कोड भाषा’ नै विकास गरेको भेटिएको छ । लागुऔषध नियन्त्रण ब्युरोले २३ दिनको अपरेसनपछि कारोबारमा संलग्न सन्तोष स्याङ्तान, पञ्च स्याङ्तान, सुरजसिंह ठकुरी, दीपक महर्जन र रीता सारुमगरलाई पक्राउ गरेपछि यो तथ्य पुष्टि भएको हो ।

ब्युरोका अनुसार गुड्डुले लागुऔषधलाई ‘चावल’ भन्ने गर्थे । कारोबारका लागि आवश्यक पर्ने लागुऔषध उनले सीमापरिबाट नेपाल ल्याउँथे । नेपालतर्फ लागुऔषध पठाइदिनु भन्नुपर्दा ‘एक बोरा चावल भेज दिजिए’ भन्थे । सोहीअनुसार सीमापारिका कारोबारीले उनले भनेको ठेगानामा मागिएबमोजिमको लागुऔषध पठाइदिन्थे । 

एसएसपी हृदय थापा, प्रमुख लागुऔषध नियन्त्रण ब्युरो

गुड्डु गुप्ता कारागारभित्रै बस्थ्यो । टेलिफोनमार्फत पारि (भारत)बाट लागुऔषध मगाउँथ्यो । र नेपालका विभिन्न सहरमा लगेर बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

कारोबारका लागि गुड्डुले ‘कोड भाषा’ नै विकास गरेको तथ्य सिन्धुली कारागारका जेलर मातृकाप्रसाद पहाडीले समेत स्वीकार गरेका छन् । ‘उनले लागुऔषध कारोबारका लागि कोड भाषा प्रयोग गर्ने गरेको सूचना हामीले पायौँ । भेरिफाइ गर्दा पनि त्यस्तै भेटियो । सोहीकारण हामीले उनलाई रौतहट कारागारमा सरुवा गरेका थियौँ । उनीविरुद्ध प्रहरीले पनि अनुसन्धान गरिरहेको रहेछ,’ उनले भने ।

गुड्डुलाई नौ महिनाअघि खोटाङ कारागारबाट सिन्धुली ल्याइएको थियो । यसअघि उनी मकवानपुरको भीमफेदी, जलेश्वर, रामेछापलागयतका कारागारमा बसिसकेका छन् । लागुऔषध मुद्दामै १८ वर्ष कैद सजाय पाएका उनी एउटा कारागारमा वर्ष दिनभन्दा धेरै टिकेको रेकर्ड छैन । तीन वर्षअघि पनि सिन्धुली कारागारमै सरुवा भई आएका उनले सबै कारागारमा उत्पात मच्चाउने गरेको सिन्धुलीका जेलर पहाडीले बताए । ‘गुप्ता सामान्य व्यक्ति नभएको तथ्य भर्खर पो हामीले पायौँ । रेकर्ड हेर्दा विभिन्न कारागारबाट सरुवा भएर यहाँ आएको रहेछ । कुनै पनि कारागारमा यो वर्ष दिनभन्दा धेरै टिकेको रेकर्ड देखिन्न,’ उनले भने ।

नौ महिनादेखि सिन्धुली कारागार बस्दै आएका गुड्डुलाई कारागार प्रशासनले २ पुसबाट लागू हुने गरी रौतहट कारागार सरुवा गरेको थियो । उनले सोही कारागारबाट सातभन्दा धेरैपटक सीमापारिबाट लागुऔषध भित्र्याई नेपालका विभिन्न सहरमा बिक्री गरेको ब्युरोको अनुसन्धानबाट खुलेको छ । 

ब्युरो प्रमुख एसएसपी हृदय थापाले कारागारभित्रैबाट लागुऔषध मगाउने र बिक्रीका लागि नेपालका विभिन्न सहर लैजाने गरेको खुलेको बताए । ‘ऊ सिन्धुली कारागारभित्रै बस्थ्यो । टेलिफोनमार्फत पारि (भारत)बाट लागुऔषध मगाउँथ्यो । सोही लागुऔषध नेपालका विभिन्न सहरमा लगेर बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।

चार तह ‘क्रस’पछि लागुऔषध बजारमा 
गुड्डुले भारतबाट ल्याएको लागुऔषध चार तह ‘क्रस’ गरेपछि मात्रै प्रयोगकर्ताकहाँ पुर्‍याउने खास संयन्त्र बनाएका थिए । प्रत्येक तहमा खास किसिमका कर्मचारी तलबमा राखेका थिए । पहिलो तहका कर्मचारीलाई उनले प्रतिमहिना २० हजार, दोस्रो तहकालाई १५ हजार र तेस्रोलाई १३ हजार रुपैयाँ तलब दिन्थे । अनि मात्रै लागुऔषध प्रयोगकर्ताकहाँ पुग्थ्यो ।

तलबी कर्मचारीलाई एकआपसमा परिचित गराउँदैन थिए । उनी जेलमै बसी टेलिफोनमार्फत निर्देशन दिन्थे । निर्देशन ‘कोड भाषा’मा हुन्थ्यो । जुन तहमा बसेका कर्मचारीले मात्रै बुझ्न सक्थे । निर्देशन पालना नगर्नेलाई ‘मैले घरमा बस्नलाई तँलाई तलब दिएको हुँ’ भन्दै धम्की दिन्थे । ‘उसले चार तहको सञ्जाल बनाएको देखिन्छ । प्रत्येक सञ्जालमा बस्नेहरूलाई तलब दिने गरेको र जेलबाटै निर्देशन दिने गरेको प्रमाण भेटाएका छौँ । निर्देशनअनुसार काम नगर्नेलाई धम्क्याउने गरेको पनि भेटिएको छ,’ एसएसपी थापाले भने ।

जब कारोबारीको ‘नेक्सस’ गुड्डुसम्म पुग्यो 
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले २८ मंसिरमा बौद्ध महांकालस्थित पानीट्यांकीबाट संग्राम मोक्तान र पञ्च स्याङ्तानलाई लागुऔषधसहित पक्राउ गर्‍यो । उनीहरूकै बयानका आधारमा कारोबारमा संलग्न सुरजसिंह ठकुरी पक्राउ परे । पञ्चको नियमित टेलिफोन सम्पर्क सिन्धुली कारागारमा कैद जीवन भुक्तान गरिरहेका सन्तोष स्याङ्तानसँग भएको देखियो । अनुसन्धानपछि खुल्यो पञ्च सन्तोषका भाइ रहेछन् । 

अनुसन्धानकै क्रममा सोमबार बलाजुबाट ब्युरोकै टोलीले अर्का कारोबारी दीपक महर्जनलाई लागुऔषधसहित पक्राउ गर्‍यो । उनको टेलिफोन रेकर्ड विश्लेषण गर्दा टावर सिन्धुलीकै कारागारमा सक्रिय रहेको देखियो । प्रहरीले अनुसन्धानलाई अझ गहिरो बनायो । यही क्रममा उनको पटकपटक कुराकानी कारागारमा रहेका गुड्डु गुप्तासँग भएको भेटियो । गुड्डुलाई टेलिफोन उपलब्ध गराउने व्यक्तिको खोजी भयो । उनलाई कारागारभित्रकै सन्तोष स्याङ्तानले टेलिफोन उपलब्ध गराउँदै आएको अनुसन्धानपछि खुल्यो । उनी कारागारभित्र टेलिफोन नाइकेको जिम्मेवारी थिए । 

गाँजा तस्करीमा रंगेहात पक्राउ परेका सन्तोष जिल्ला अदालत सिन्धुलीको आदेशपछि कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए । पाँच वर्ष कैद सजाय सुनुवाइ भएका उनी छोटो अवधिमै जेलभित्र टेलिफोन नाइके बन्न सफल भएका थिए । उनको चिनजान गुड्डुसँग भयो । यही क्रममा दुईबीच लागुऔषध कारोबार गर्ने सहमति भयो । यसका लागि उनले सुरुमा आफ्नै भाइ पञ्चलाई सहमत गराए । पञ्चमार्फत अन्य सदस्य खोजिए । सोही आधारमा गुड्डु र सन्तोष कारागारभित्रबाट लागुऔषध साम्राज्य चलाउँदै आएका थिए । 

कारागारभित्रका कैदीबन्दीलाई एकपटकमा पाँच हजार रुपैयाँबाहेक बढी रकम उपलब्ध गराउन पाइँदैन । जसका लागि अनिवार्य जेलरको स्वीकृति लिनुपर्छ । तर, गुड्डुले जेलभित्रै करोडौँ रुपैयाँको लागुऔषध कारोबार गर्थे । जसका लागि उनले जेल प्रशासनकै कार्यालय सहयोगी ३९ वर्षीया रीता सारुमगरको नाम रहेको बैंक खाता प्रयोग गर्थे । बिक्रीपछिको रकम उनले सोही बैंक खातामा जम्मा गर्थे । कर्मचारीको तलब मात्र होइन, डिलरको रकमसमेत उनले सोही बैंकखाताबाट भुक्तान गरिदिन्थे । यसबापत उनले कार्यालय सहयोगी रीतालाई केही रकम उपलब्ध गराउँथे । 

See More On

सुझावित समाचार