दुर्घटनाका मृतक र घाइतेका परिवारले व्यहोर्ने आर्थिक क्षति, उपचार खर्च, जीवनभर उनीहरूले गर्न सक्ने आम्दानीलगायत विषयमा सन् २०१७ मा गरिएको अध्ययनमा कुल राष्ट्रिय उत्पादन (जिएनपी)को १.५२% अर्थात् १२ अर्ब ८० करोड क्षति भएको निष्कर्ष, दुर्घटनाका १९.७% घटना मात्रै प्रहरीमा दर्ता भएकाले जिएनपीमा वास्तविक क्षति ४% भन्दा धेरै भएको विश्लेषण

प्रहरीमा दर्ता भएको तथ्यांकलाई मात्रै आधार मान्दा नेपालमा हरेक वर्ष सरदर २५ सय व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । वार्षिक सरदर पाँच हजार व्यक्ति गम्भीर घाइते हुने गरेका छन् । यो आधारमा दैनिक औसत सात व्यक्तिको मृत्यु र १४ जना गम्भीर घाइते हुने गरेका छन् । दुर्घटनामा हुने अंगभंग र मानवीय क्षतिले बर्सेनि देशको कुल राष्ट्रिय उत्पादन (जिएनपी)को डेढ प्रतिशत क्षति हुने गरेको अध्ययनले देखाएको छ । नेपाल इन्जुरी अनुसन्धान केन्द्रले सन् २०१७ मा प्रहरीमा दर्ता भएका सवारी दुर्घटनामाथि अध्ययन गरेको थियो ।
कुल दुर्घटनाका १९.७ प्रतिशत मात्रै प्रहरीमा दर्ता भएको निष्कर्ष निकाल्दै केन्द्रले सोही वर्ष नेपालले १२२.८८ मिलियन अमेरिकी डलर अर्थात् १२ अर्ब ८० करोड ४० लाख रुपैयाँ (त्यतिवेलाकै दरअनुसार) गुमाएको देखाएको छ । यो रकम सन् २०१७ को स्थिर मूल्यको जिएनपी (आठ खर्ब ४२ अर्ब ३६ करोड ६७ लाख)को १.५२ प्रतिशतबराबर हो । प्रहरीमा दर्ता नभएका समेत सबै दुर्घटनाको मूल्यांकन गर्दा यो अंक चार प्रतिशतभन्दा धेरै पुग्ने केन्द्रका प्रमुख प्रा.डा. सुनीलकुमार जोशीले बताए ।
‘हामीले नेपाल प्रहरीमा दर्ता भएका सवारी दुर्घटनाका घटनालाई मात्रै लिएर मुलुकले प्रत्येक वर्ष व्यहोर्ने क्षतिको विवरण निकालेका हौँ । सबै दुर्घटनालार्ई आधार मानेर हिसाब निकाल्ने हो भने नेपालले प्रत्येक वर्ष व्यहोर्ने क्षतिको विवरण कुल जिएनपीको चार प्रतिशतभन्दा धेरै आउँछ,’ उनले भने ।
दुर्घटनाका मृतक र घाइतेका परिवारले व्यहोर्ने आर्थिक क्षति, उपचारका क्रममा भएको खर्च, दुर्घटनामा नपरेको भए जीवनभर उनीहरूले गर्न सक्ने आम्दानीलगायत विषयमा केन्द्रित भएर केन्द्रले अनुसन्धान गरेको थियो । सवारी दुर्घटनाका कारण मुलुकले प्रत्यक्ष स्वास्थ्य लागत (डाइरेक्ट मेडिकल कस्ट)तर्फ ९१.५७ मिलियन अमेरिकी डलर (११ अर्ब १७ करोड १५ लाख रुपैयाँ) र अप्रत्यक्ष स्वास्थ्य लागत (इनडाइरेक्ट मेडिकल कस्ट)तर्फ ११.५० मिलियन अमेरिकी डलर (एक अर्ब ४० करोड ३० लाख रुपैयाँ) गुमाएको अध्ययनले देखाएको छ । अनुसन्धानमा बेलायतस्थित युनिभर्सिटी अफ वेस्ट इंग्ल्यान्डको सहयोग लिएको केन्द्रले जनाएको छ ।
अनुसन्धानमा संलग्न प्रा.डा. जोशी भन्छन्, ‘एउटा व्यक्ति सवारी दुर्घटनामा पर्दा सहनुपर्ने शारीरिक पीडा त छँदै छ, उसले ठूलो मात्रामा आर्थिक क्षति व्यहोर्नुपर्छ । उसका परिवारका सदस्यले पनि आर्थिक क्षति व्यहोर्नुपर्छ । यसबाट दुर्घटना पर्ने व्यक्तिको मात्र होइन, परिवारको समेत ‘प्रोडक्टिभिटी लस’ हुन्छ । हामीले अनुसन्धानमा यस्तै विषयलाई आधार बनाएका थियौँ ।’
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि सवारी दुर्घटनाका कारण नेपालजस्ता मुलुकले प्रत्येक वर्ष कुल राष्ट्रिय उत्पादन (जिएनपी)को तीन प्रतिशतभन्दा धेरै क्षति व्यहोर्ने जनाएको छ । दुर्घटनामा पर्ने अधिकांश युवा नै भएकाले क्षतिको अंक बढी हुने गरेको डब्लुएचओले जनाएको छ । डब्लुएचओको तथ्यांक उद्धृत गर्दै स्वतन्त्र अभियान नेपालकी प्रमुख ऋतु भट्टले भनिन्, ‘नेपाल सवारी दुर्घटनाका कारण मृत्यु हुने र घाइते हुने मुलुकको अग्रस्थानमा छ । दुर्घटनाका अधिकांश घटना त प्रहरीमा दर्ता नै हुँदैनन् । यसबाट हाम्रोजस्तो मुलुकले प्रत्येक वर्ष जिएनपीको तीन प्रतिशतभन्दा धेरै क्षति व्यहोर्नुपर्छ । डब्लुएचओले समेत यो तथ्यलाई स्वीकार गरेको छ ।’
साढे पाँच वर्षमा थपिए २६ हजार गम्भीर घाइते
नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्ला ६५ महिना (पाँच वर्ष पाँच महिना)मा सवारी दुर्घटनामा मुलुकभर २६ हजार ६ सय पाँचजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा शरीर अंगभंग हुनेलाई प्रहरीले गम्भीर घाइतेको सूचीमा राखेको छ । यस्ता घाइतेलाई जीवन गुजार्न अर्को व्यक्तिको सहयोग आवश्यक पर्छ । यीमध्ये थोरै मात्रै संघसंस्थाको संरक्षणमा रहन्छन्, अरू सबै परिवारकै आश्रयमा हुन्छन् ।
सवारी दुर्घटनाकै कारण ह्विलचेयरको सहारामा जीवन बिताउँदै आएका पत्रकार गजेन्द्र बुढाथोकी सबै घटना प्रहरी कार्यालयमा दर्ता हुने हो भने प्रत्येक वर्ष गम्भीर घाइतेको संख्या अझ धेरै हुने बताउँछन् । त्यसमध्ये पाँच सय व्यक्ति स्पाइनल कर्ड इन्जुरीको समस्याबाट गुज्रिनुपर्ने र पाँच हजार अपांग नै हुने उनको विश्लेषण छ । जसकारण प्रत्येक वर्ष राज्यले ठूलो रकम गुमाउनुपरेको बुढाथोकीको भनाइ छ ।
सवारी दुर्घटनाका मुख्य कारण
- डब्लुएचओका अनुसार दु्रत गति नै सवारी दुर्घटनाको मुख्य कारण हो । ५० देखि ६५ किमि प्रतिघन्टाको दरमा गुडेको गाडीले पैदलयात्रीलाई ठक्कर दिएर मार्ने सम्भावना ४.५ गुणा धेरै हुन्छ ।
- ६५ किमि प्रतिघन्टाका दरले गुडेका गाडी एक–आपसमा ठोकिँदा गाडीको अगाडि बस्ने मानिस मर्ने सम्भावना ८५ प्रतिशतले बढ्छ ।
- एक प्रतिशत मात्रै गति बढाउँदा दुर्घटनापछि मर्ने सम्भावना चार प्रतिशतले बढ्छ भने गम्भीर घाइते हुने सम्भावना तीन प्रतिशतले बढ्छ ।
- तथ्यांकअनुसार मादकपदार्थ सेवन गर्ने चालकले सामान्य व्यक्तिले भन्दा सवारी दुर्घटना गराउने सम्भावना पाँच गुणा धेरै हुन्छ ।
- हेल्मेटको सही सदुपयोग गर्दा दुर्घटनामा हुने मृत्युदर ४२ प्रतिशतले घटाउन सकिन्छ । त्यस्तै, टाउकोमा चोट लाग्ने दरलाई ६९ प्रतिशतले घटाउन सकिन्छ ।
- सिटबेल्टको सही प्रयोग गर्दा चालक र अघिल्लो सिटमा बस्ने यात्री दुर्घटनामा परेर मृत्यु हुने सम्भावना ४५ देखि ५० प्रतिशतले घट्छ ।
- मोबाइल फोन प्रयोग गरेर सवारी चलाउने चालकले दुर्घटना गराउने सम्भावना सामान्य चालकको भन्दा चार गुणा बढी हुन्छ ।
- सडक वैज्ञानिक तवरले नबनाइँदा पनि दुर्घटना हुने सम्भावना धेरै हुन्छ ।
- सवारीसाधनको नियमित परीक्षण नहुँदा दुर्घटना हुने सम्भावना धेरै हुन्छ ।
- लाइसेन्स वितरण प्रणाली वस्तुगत नहुँदा दुर्घटना हुने सम्भावना धेरै हुन्छ ।
- ट्राफिक लाइट, ट्राफिक सिग्नल, जेब्राक्रसको सही प्रयोग नहुँदा पनि दुर्घटनाको दर बढ्छ ।
के हो कुल राष्ट्रिय उत्पादन (जिएनपी) ?
कुनै देशले निश्चित अवधिमा उत्पादन गरेको वस्तु तथा सेवाको कुल अनुमानित आयको अन्तिम गणना नै कुल राष्ट्रिय उत्पादन (जिएनपी) हो । यसमा सामान्यतया, व्यक्तिगत खपतमा भएको खर्च, घरेलु औद्योगिक लगानी, सरकारी खर्च, खुद निर्यातका अतिरिक्त विदेशमा कमाएर भित्र्याएको रेमिट्यान्स र लाभांश समेत समावेश गरिन्छ । तर, विदेशीले नेपालमा आर्जन गरी बाहिर लगेको रकमलाई घटाइन्छ । कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा एक वर्षको सम्पूर्ण राष्ट्रिय उत्पादन, खर्च र आम्दानी समावेश भएको हुन्छ भने जिएनपीमा जिडिपीका साथै विदेशबाट भित्र्याएको आम्दानीसमेत समावेश गरिन्छ । नेपालमा खोलिएको विदेशी कम्पनीले यहाँ उत्पादन गरेको वस्तुको मूल्य नेपालको जिडिपीमा समेटिन्छ । तर, उसले उक्त उत्पादनको मूल्य आफ्नो देशमा लगेको छ भने जिएनपीमा त्यसलाई घटाइन्छ ।
प्रहरीमा दर्ता हुने घटना धेरै कम छन्, त्यसकारण बर्सेनि हुने दुर्घटनाबाट जिएनपीमा ४% भन्दा धेरै क्षति हुन्छ
प्रा.डा. सुनीलकुमार जोशी, प्रमुख, नेपाल इन्जुरी अनुसन्धान केन्द्र
नेपालमा अकालमै मृत्यु हुने प्रमुख कारणमा सवारी दुर्घटना चौथो नम्बरमा पर्छ । जसकारण मुलुकले प्रत्येक वर्ष कुल जिएनपीको चार प्रतिशतभन्दा धेरै क्षति व्यहोर्नुपर्छ । दुर्घटना ३५ प्रतिशत घटाउने लक्ष्यसहित सरकारले रोड सेफ्टी एक्सन प्लान (२०१३–२०२०) बनायो ।
रोड सेफ्टी काउन्सिल गठन गर्ने भनियो । यो बहसमा म पनि सहभागी थिएँ । काउन्सिलका लागि कार्यविधि पनि बन्यो । कार्यान्वयन स्थापना मात्रै होइन, कार्यालय प्रमुख नै तोकियो । जसमा कानुन, भौतिक तथा यातायात, स्वास्थ्य, गृहलगायत सरोकारवाला सबै मन्त्रालय, संघसंस्थाको स्वामित्व रहने गरी प्रतिनिधि रहने व्यवस्था थियो ।
सोहीअनुसार सरकारबाट बजेट विनियोजन भयो, तर ऐन बन्न सकेन । त्यसैलाई कारण बनाउँदै पछि काउन्सिल नै ‘प्यारालाइज्ड’ भयो । त्यसले काम गर्न सकेन । मेरो विचारमा यसमा सरकारकै कमजोरी छ । ऐन नबन्दैमा काउन्सिलले काम गर्न नसक्ने होइन ।
कार्यविधि बनेका छन्, त्यसैअनुसार काम गर्न सकिन्थ्यो । पछि त विनियोजित बजेट पनि फिर्ता भयो । हामीले सडक दुर्घटनालाई यही गतिमा बेवास्ता गर्ने हो भने यो निश्चित छ कि मुुलुकले प्रत्येक वर्ष ठूलो मात्रामा आर्थिक भार व्यहोर्नुपर्नेछ ।
नेपालमा सवारी दुर्घटनाको अवस्था भयावह छ, यसले देशको आर्थिक वृद्धिमा ठूलो ह्रास भएकोमा दुईमत छैन
आशिष गजुरेल, विज्ञ, यातायात तथा ट्राफिक इन्जिनियरिङ
नेपालमा ट्राफिक दुर्घटना भयावह रहेको तथ्य नेपाल प्रहरीकै तथ्यांकले प्रस्ट पार्छ । तर, प्रहरीमा दुर्घटनाका घटना कमै मात्र दर्ता हुन्छन् । विभिन्न सर्वेक्षणले यसलाई पुष्टि गरेको छ ।
प्रत्येक वर्ष सरदर २५ सयजना व्यक्तिको मृत्यु र पाँच हजारजना घाइते हुने गरेका छन् । डब्लुएचओको अध्ययनले त झन् वार्षिक ३५ सयभन्दा धेरैले दुर्घटनामा ज्यान गुमाउने गरेको देखाएको छ । यसले मुलुकको आर्थिक वृद्धिमा ठूलो ह्रास ल्याउँछ भन्नेमा दुईमत नै रहेन । विभिन्न अनुसन्धानमाथि अध्ययन गर्दा नेपाल इन्जुरी अनुसन्धान केन्द्रले दिएको रिपोर्टभन्दा पनि ठूलो आर्थिक घाटा भएको देख्छु ।
काठमाडौं उपत्यकामा दैनिक औसत ४८ सवारी दुर्घटना

उपत्यकामा चल्छन् १८ लाखभन्दा बढी सवारी, हरेक दिन दुई सय नयाँ थपिन्छन्
काठमाडौं उपत्यकामा सवारी दुर्घटनाको ग्राफ ह्वात्तै बढेको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार चालू आर्थिक वर्षको सुरुका पाँच महिना (साउनदेखि मंसिरसम्म)मा मात्रै सात हजार एक सय ६५ दुर्घटना भएका हुन् । यो तथ्यांकले दैनिक औसत ४८ सवारी दुर्घटना भएको देखाउँछ ।
गत आर्थिक वर्ष ०७७/७८ मा उपत्यकामा नौ हजार पाँच सय ४५ सवारी दुर्घटना भएका थिए । यसको दैनिक औसत २६ हुन्छ । यी दुर्घटनामा एक सय ६७ जनाको ज्यान गएको थियो । जसमा एक सय ३६ पुरुष, २४ महिला र सात बालबालिका थिए । अघिल्लो वर्ष ०७६/७७ मा १० हजार ३० सवारी दुर्घटना भएका थिए । उक्त दुर्घटनामा एक सय ५३ जनाको मृत्यु भएको थियो ।
प्रहरी विवरणअनुसार उपत्यकामा १८ लाख २० हजार सवारीसाधन चल्छन् । हरेक दिन दुई सय नयाँ सवारी थपिने गरेका छन् । त्यसमा चारपांग्रे ५० देखि ५५ वटा र दुईपांग्रे डेढ सयको हाराहारीमा हुन्छन् । जनसंख्याको चाप बढेसँगै सवारीसाधन पनि थपिँदा दुर्घटनासमेत बढिरहेको छ ।
सडक विस्तार, करिडोर निर्माण, वैकल्पिक मार्गको प्रयोग बढाउँदै लगे पनि उपत्यकामा दुर्घटनाको संख्या घट्नुको साटो बढ्दै गएको बताउँछन्, महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता डिएसपी सञ्जीव शर्मा दास । ‘सवारी चाप बर्सेनि बढिरहेको छ, ट्राफिक व्यवस्थापन गर्न मुस्किल पर्छ । यस्तोमा तीव्र गति, ट्राफिक नियमको अवज्ञा गर्नेको संख्या धेरै देखिन्छ,’ उनले भने, ‘मोटरसाइकलहरू बढी दुर्घटनामा पर्ने गरेका छन् ।’
सवारीचालकले ट्राफिक चिह्नको बेवास्ता गर्दा र पैदल यात्रुले पनि आकाशे पुल, पैदल मार्गको उचित प्रयोग नगर्दा दुर्घटना बढेको प्रहरी ठम्याइ छ । उपत्यकामा दुई दर्जनभन्दा बढी आकाशे पुल छन् । ‘काठमाडौंमा हामीले दुर्घटना हुने क्षेत्र भनेर ‘ब्ल्याक स्पट’ छुट्याएका छैनौँ । सवारीको अत्यधिक चाप र तीव्र गतिका कारण दैनिक कम्तीमा तीनवटा गम्भीर खालका दुर्घटना भइरहेका छन्,’ प्रवक्ता दासले भने ।
महाशाखाका सहप्रवक्ता डिएसपी सुनीलजंग शाह सवारी चाप बढी भएका दिनमा दुर्घटना बढी हुने गरेको बताउँछन् । ‘सवारी चापअनुसार दुर्घटना बढी–घटी हुन्छ । सार्वजनिक बिदाका दिन दुर्घटनाका संख्या कम भएको देखिन्छ ।’
साना सवारीसाधन बढी दुर्घटना, मोटरसाइकल सबैभन्दा धेरै
दुर्घटनामा बढी साना सवारीसाधन पर्ने गरेका छन् । यो अंक ८८ प्रतिशत छ । पछिल्ला पाँच महिनाकै तथ्यांक हेर्दा सात हजार एक सय ६५ दुर्घटना भएकामा कार, जिप र मोटरसाइकलको संख्या मात्रै ६ हजार तीन सय छ । सबैभन्दा धेरै मोटरसाइकल तीन हजार पाँच सय तीन र दोस्रो धेरैमा कार दुई हजार आठ सय ५४ वटा दुर्घटनामा परेका छन् । सडकमा साना सवारीलाई प्राथमिकता दिइने र तीव्र गतिका कारण दुर्घटनामा पर्ने गरेको ट्राफिक प्रहरीको मूल्यांकन छ । प्रहरीका अनुसार झन्डै ९० प्रतिशत मोटरसाइकल दुर्घटनाको कारण तीव्र गति नै भएको देखिन्छ ।
कुल राष्ट्रिय उत्पादनमा क्षति पुर्याएका प्रतिनिधि दुर्घटना
मनग्ये पैसा कमाएर परिवारलाई सुख दिने नुवाकोट पञ्चकन्या गाउँपालिका– २ का ३३ वर्षीय बिरु ढुंगानाको सपना तब उजाडियो, जब मोटरसाइकल दुर्घटनामा उनले मेरुदण्ड नै गुमाउनुपर्यो । ह्विलचेयरमा हिँड्छन् उनी । कम्मरभन्दा तलको अंग चल्दैन ।
‘परिवारको जेठो छोरो म । बुबा सानैमा बित्नुभयो । परिवार पाल्ने दायित्व मैमाथि थियो । मोटरसाइकल दुर्घटनामा परेपछि मेरा लक्ष्य र दायित्व सबै बदलिए,’ उनले सुनाए । १६ भदौ ०७० मा काठमाडौंको नक्सालस्थित प्रहरी मुख्यालयअगाडि दुर्घटनामा परेका उनले त्यतिवेला भर्खर विवाह गरेका थिए । आमासँगै उनकी श्रीमती अहिले पनि नक्सालमै डेरा गरी बस्छन् । उनी भने जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रको शरणमा छन् ।
०००
सवारी दुर्घटनाकै कारण नुवाकोट बेलकोटगढी गाउँपालिका– ९ का २९ वर्षीय अक्कलबहादुर तामाङको सपना पनि बिरुको जस्तै भताभुंग बन्यो । सुरक्षाकर्मी भएर देशको सेवा गर्ने सपना थियो उनको । १ भदौ ०६९ मा दुर्घटनामा परेपछि कम्मरभन्दा तलका भाग नचल्ने भयो । परिवारको जेठो सन्तान भएकाले आर्थिक दायित्व बहन गर्ने जिम्मेवारी उनकै थियो । ह्विलचेयरको जीवन सुरु भएयता उनले परिवारका लागि केही गर्न सकेका छैनन् ।
‘परिवारमा कमाउने म नै थिएँ । जब १ भदौ ०६९ मा बेलकोटगढीमै बस दुर्घटनामा परेर घाइते भएँ,’ उनले भने, ‘यो हालतमा म के नै गर्न सक्छु र ! तैपनि पछिल्लो समय थाङ्का कोर्न सिकेर केही काम गर्न थालेको छु ।’ दिसा–पिसाब गएको पत्तो पाउँदैनन् उनी । सधैँ युरिन ब्याग र डाइपर लगाउनुपर्छ । प्रत्येक महिना पाँच हजार यसैका लागि खर्च हुने उनी बताउँछन् । ‘थाङ्का कोरेको आम्दानीले यो खर्च भरथेग गरेको छु । परिवारका लागि योगदान गर्ने भन्ने त सकियो अब । अझ मजस्ता थला परेका कति होलान् जो कुनै काम नै गर्न सक्दैनन्,’ उनले भने ।
०००
सवारी दुर्घटनाकै कारण ह्विलचेयरको जीवन बिताइरहेका छन् पत्रकार गजेन्द्र बुढाथोकी । सवारी दुर्घटनामा परेर अपांगता हुनेहरू गरिबीमा फर्किने सम्भावना शतप्रतिशतजस्तै रहने उनले बताए । ‘दुर्घटनापछि जीवनको गति बदलिन्छ, कसैमाथि आश्रित हुन पुग्छ । उसका आर्थिक गतिविधि सीमित हुन पुग्छन् । पहिल्यै घरमा गरिबी छ भने त उसको अवस्था झन् दयनीय बन्छ । धनी भए पनि सधैँ सोही अवस्थामा रहन सक्दैन,’ उनले भने ।
०००
सिन्धुली कमलामाई नगरपालिका– ७ का २१ वर्षीय टेकबहादुर बस्नेतको सेनामा भर्ती हुने चाहना थियो । त्यसको तयारी गर्दै जीविकोपार्जनका लागि ट्र्याक्टर पनि चलाउँदै थिए । जब आफ्नै ट्र्याक्टरको छत खसेर किच्यो, सपनामा तुषारो लाग्यो ।
नौ महिनादेखि जोरपाटीकै खगेन्द्र नवजीवन केन्द्रको शरणमा पुगेका उनले भने, ‘बुबा सिन्धुलीमै ज्याला–मजदुरी गर्नुहुन्छ । खेतीपाती धेरै छैन । आर्थिक अवस्था कमजोर छ । कमाउने छोरा मै थिएँ, यस्तो हालत भएपछि अब के नै गर्न सक्छु र !’
०००
कलाकार बन्ने सपना साँचेका थिए, सुनसरी बराहक्षेत्र नगरपालिका– १० प्रकाशपुरका नवराज कार्कीले । ९ साउन ०५५ मा सवारी दुर्घटनामा परेपछि उनले साँचेको सपना पूरा हुन सकेन । कम्मरभन्दा तलको भाग नचलेर आफू नै ह्विलचेयरमा हुनुपरेपछि उनका प्राथमिकता एकाएक बदलिए । सोच र लक्ष्य पनि बदलिए ।
खगेन्द्र नवजीवन केन्द्रमा शरण पाएका उनलाई त्यो नै ठूलो खुसी बनेको छ अहिले । ‘सबै मजस्तै भाग्यमानी कहाँ हुन्छन् र ? हजारौँ छन्, सवारी दुर्घटनामा परेर थला पर्नेहरू । उनीहरूले भोग्ने पीडा र आर्थिक पक्षसँग जोडिएका विषय बयान गर्न सकिएला र !’