सोलुखुम्बुमा भारी हिमपात, जनजीवन कष्टकर

बुधबार, १४ पुष, २०७८
डिजिटल संस्करण

सोलुखुम्बुमा बुधबार बिहानदेखि परेको हिमपातले जनजीवन कष्टकर बनेको छ। जिल्लाको खुम्बु क्षेत्रसँगै सदरमुकाम सल्लेरी, फाप्लु, पिकेडाँडा, पत्ताले, जुनबेँसी, बेनीलगायतका स्थानमा भारी हिमपात भएको हो। 

सोलुखुम्बु जिल्लामा गत वर्षको तुलनामा यस वर्ष एक हप्ताअघि नै हिउँ परेको हो। बुधबार बिहानदेखि परेको हिउँले यहाँको जनजीवन अस्तव्यस्त बनेको छ। कतिपय हिउँ खेल्नका लागि बाहिर निस्किएका छन्। समुन्द्री सतहबाट करिब ३१०० फिटको उचाइमा रहेको पत्ताले डाँडामा बाक्लो हिउँ परेको र विभिन्न ठाउँबाट हिउँ खेल्नका लागि मानिसहरू त्यहाँ पुगेको स्थानीय प्रकाश मगरले बताए। 

हिमपातसँगै बढेको चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिक भने समस्यामा परेका छन्। हिमपात भएसँगै पानी जम्न थालेको छ। चिसोका कारण सदरमुकाम सल्लेरीका अधिकांश विद्यालय आज बन्द भए। जिल्लाको सडकसँग जोडिएको मुख्य नाका पत्ताले क्षेत्रमा सवारी आवतजावतमा पनि समस्या भएको छ। जिल्ला भित्रने र बाहिरिने ठूला तथा साना सवारीसाधन न्यून मात्रामा चलिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

जिल्लाको हवाई सम्पर्कसमेत टुटेको छ। खुम्बुको तेन्जिङ हिलारी विमानस्थल र फाप्लु विमानस्थलमा आज हालसम्म कुनै पनि उडान भएको छैन।
 

See More On

सुझावित समाचार