बजेट अभावमा स्तरोन्नति हुन नसकेका सुदूरपश्चिमका नौवटै जिल्लाका विमानस्थलका लागि बजेट विनियोजन गरिएको छ। सुदूरपश्चिमका कैलालीको गेटा, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर र कमलबजार, बझाङ, बाजुरा, डडेल्धुरा तथा डोटीको दिपायल विमानस्थलका लागि बजेट विनियोजन गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा गेटा विमानस्थलका लागि एक अर्ब रुपैयाँ, अछामको साँफेबगर र कमलबजार विमानस्थलका लागि ६ करोड रुपैयाँ, कञ्चनपुरको मझगाउँ विमानस्थलका लागि दुई करोड ५१ लाख ३२ हजार सात सय ४३.३६ रुपैयाँ, बैतडीको पाटन विमानस्थलका लागि एक करोड ५० लाख ४४ हजार दुई सय ४७.७८ रुपैयाँ, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि दुई करोड ६५ लाख ४८ हजार ६ सय ७२.५६ रुपैयाँ, बझाङ विमानस्थलका लागि १२ लाख ९९ हजार दुई सय रुपैयाँ, बाजुरा विमानस्थलका लागि १८ लाख ७६ हजार तीन सय रुपैयाँ, डडेल्धुरा विमानस्थल सम्भाव्यता अध्यनका लागि ५० लाख रुपैयाँ तथा डोटी विमानस्थलको दुई सय ५० मिटर धावनमार्ग थप, टर्मिनल टावर निर्माण र जग्गा अधिग्रहणका लागि १८ करोड ६१ लाख ४७ हजार एक सय रुपैयाँ विनियोजन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ।
सुदूरपश्चिमका साना विमानस्थलको स्तरोन्नतिदेखि कैलालीको गेटामा रहेको विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन दुई सय ५० बिघा जमिन अधिग्रहण तथा दुई हजार पाँच सय मिटर धावनमार्गका लागि बजेट विनियोजन गरिएपछि यहाँका नागरिकमा खुसियाली छाएको दिपायल सिलगढी नगरपालिका– २ का वडाध्यक्ष राजेन्द्र खड्काले बताए। प्राधिकरणले बजेट विनियोजन गरेसँगै अब यहाँका सबै विमानस्थलमा काम सुरु गरिने धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए। उनले भने, ‘बजेट विनियोजन भइसकेको छ, अब छिट्टै काम सुरु हुनेछ।’ रासस