नेप्से सूचकमा दुई हजार तीन सयको टेवा पाएर एकपछि अर्को गरी सुधार देखिएको छ । मंगलबार ५६ अंकले बढेको नेप्से सूचक बुधबार ९२ दशमलव १६ अंकले बढेर दुई हजार पाँच यस सात दशमलव ७० बिन्दुमा पुगेको छ ।
बजार दुई हजार तीन सयबाट तल पनि नओर्लने र माथि पनि नजाने संकेतले दुई हजार तीन सयबाटै टेवा लिने प्रयासमा थियो । बजारलाई टेवा दिनका लागि सोमबार केन्द्रीय बैंकको निर्णय प्रमुख बन्यो । आयातमा कडाइ, वस्तु आयातमा मार्जिन राख्नुपर्नेजस्ता निर्देशनले लगानीकर्तालाई मानसिक प्रभाव पारेका विश्लेषणहरू बताउँछन् । यस्तै, ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स १४ दशमलव ७४ अंकले बढेर चार सय ७७ बिन्दुमा पुगेको छ ।
अधिकांश नेप्सेमा सूचीकृत कम्पनीहरूले बोनस सेयर घोषणा गरिसकेका छन् भने यस समय साधारणसभाको समय पनि चलेको छ । बजारले लामो समयसम्म करेक्सन लिएको हुँदा आगामी बजार ‘पर्ख र हेरको अवस्था छ भन्न सकिन्छ ।
बुधबार बजारलाई कारोबार रकमले पनि सकारात्मक बनाएको छ । केही दिनदेखि दुई अर्ब रुपैयाँमाथि मात्र कारोबार हुँदै आएकोमा चार अर्ब ५२ करोड रुपैयाँभन्दा बढी कारोबार भएको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३३ स्क्रिप्ट कारोबारमा आउँदा ८१ लाख कित्ता/इकाइको खरिद–बिक्री भएको छ ।
कारोबारमा आएका १३ वटै समूहको सूचक सकारात्मक बनेका छन् । जलविद्युत्, विकास बैंक, माइक्रोफाइनान्समा लगानीकर्ताको आकर्षण उच्च रहेको छ । विशेषतः बढेको बजारमा लगानीकर्ताहरू हाइड्रोपावर र बिकास बैंकतर्फ आकर्षित देखिएका छन् ।
पाँच कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार
बुधबार पाँचवटा कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, अपर तामाकोसी हाइड्रोपावर, शिवम् सिमेन्ट कम्पनी, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । त्यसैगरी, सगरमाथा इन्स्योरेन्स, आरएसडिसी लघुवित्त, हिमालयन डिस्टिलरी, हिमाल दोलखा हाइड्रोपावर, युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर नौ प्रतिशतमाथि बढेको छ । बुधबार एक सय ८६ वटा स्क्रिप्टको मूल्य बढेको छ । दुईवटा स्क्रिप्टको मूल्य घट्न पुगेका छन् ।
सबैभन्दा बढी हिमालयन डिस्टिलरीको ६८ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ भने अपर तामाकोसी हाइड्रोपावर, अरुणभ्याली हाइड्रो पावर, गोर्खाज फाइनान्स, नबिल बैंकको सेयर १५ करोड रुपैयाँदेखि ११ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।