बुटवल उवासंघका नवनिर्वाचित कार्यसमितिको पदस्थापन

बुधबार, १८ कार्तिक, २०८३
प्रिन्ट संस्करण

बुटवल/ बुटवल उद्योग वाणिज्य संघमा नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरणसहित पदस्थापन गरिएको छ । संघमा सोमबार एक कार्यक्रमबिच नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यले शपथसहित पदभार ग्रहण गरेका हुन् ।

संघमा ७३औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशनबाट नरीश्वर शर्मा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी, महासचिवमा वसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा टीकाराम बन्जाडे, सचिवमा दीपक चापागाईं र सहकोषाध्यक्षमा कमला पोखरेल निर्वाचित भएका थिए ।

त्यस्तै, कार्यसमिति सदस्यमा एसोसिएटतर्फबाट बालकृष्ण पौडेल, उद्योगतर्फबाट सुनीता शर्मा बन्जाडे, गोपाल टन्डन, लेखनाथ भण्डारी र ज्ञानबहादुर पुन, वाणिज्यतर्फबाट गणेशप्रसाद भट्टराई निर्वाचित भएका थिए । साथै, सुनीता गिरी, रामबहादुर भण्डारी र उमेश अमात्य, खुलाबाट विष्णु (कमला) पन्थ घिमिरे, दीपक घिमिरे, सुनीता अर्याल, प्रदीप शाक्य, विष्णुप्रसाद उपाध्याय, गोपालप्रसाद बस्याल र विजयकुमार वर्णवाल तथा महिलाबाट रेनु श्रेष्ठ र मञ्जु पुरी गिरीसमेत निर्वाचित भएका थिए । उनीहरूलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता बाबुराम पाण्डेले शपथग्रहण गराएका हुन् ।

कार्यक्रममा संघका नवनिर्वाचित पौडेलले आफ्नो प्रतिबद्धता मन्तव्य राख्दै संघलाई व्यवसायीको हित र औद्योगिक विकासका लागि क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले मुलुकको औद्योगिक तथा व्यावसायिक वातावरण बिग्रिँदै गएको औँल्याउँदै सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्यमा जोड दिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहेका संघका निवर्तमान अध्यक्ष हरिप्रसाद अर्यालले आफ्नो कार्यकालमा उद्योगी–व्यवसायीका हकहित, व्यावसायिक तथा उद्यमशीलता विकासका लागि सबैसँग सहकार्य गरी इमानदार प्रयास गरिएको र परिणाम पनि सकारात्मक आएको बताए । 

सुझावित समाचार