कांग्रेसमा हिजोजस्तै प्रश्न उठ्ने ठाउँ नहोस् : प्रदीप पौडेल

शनिबार, ३ पुष, २०७८
डिजिटल संस्करण

१४औँ महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गरेका युवा नेता प्रदीप पौडेलले आफू पराजित भए पनि आफ्नो पुस्ताले जितेको बताएका छन् । लैनचौर बैंक्वेटमा महाधिवेशन प्रतिनिधिलाई धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचन परिणामलाई स्वाभाविक रूपमा लिएको बताए । उनले आफू पराजित भए पनि आफ्नो पुस्ता कार्यकारी भूमिकामा पुगेकोमा कांग्रेसमा सुधारको विश्वास रहेको बताए ।

‘हामीले सँगै पार्टीका कमजोरीमाथि प्रश्न उठाएका थियौंँ । म पनि उत्तर दिने ठाउँमा जान चाहन्थो । तर, सफल हुँन सकिनँ,’ उनले भने, ‘साथीहरू पुग्नुभएको छ । फेरि हिजोजस्तै प्रश्न उड्ने ठाउँ नहोस् । हाम्रो पुस्तामा धेरै आशा छ, भरोशा जोडिएको छ, यसलाई निराश बनाउने काम नहोस् ।’

उनले जिम्मेवारीमा पुगेकाहरूले फरक कार्यशैलीका साथ काम गर्नुपर्ने बताए । आफैँ व्यवस्थित हुन सके मात्रै हामीले देशलाई व्यवस्थित गर्न सकिनेमा उनको जोड थियो । ‘मैले जितिनँ, तर मेरो पुस्ताले जितेको छ । मेरो पुस्ता कार्यकारी भूमिकामा पुगेको छ,’ पौडेलले भने, ‘अहिले चुनाव जित्नु र हार्नु महत्वपूर्ण होइन । अबको निर्वाचन जित्ने महत्वपूर्ण हो ।’ 

उनले आन्तरिक प्रतिस्पर्धाको विधि पनि बदल्नु आवश्यक रहेको बताएका थिए । नीतिसहितको नेतृत्व आउने व्यवस्थाबाट सही नेतृत्व अगाडि आउने उनको भनाइ थियो । ‘म १४औँ महाधिवेशनमा लडेको थिएँ भन्ने मनोविज्ञान बोकेर काम गर्नेछैन । पार्टी निर्माणको एजेन्डामा म सधैँ नेतृत्वलाई सहयोग गर्नेछु,’ पौडेलले भने । 

सुझावित समाचार