कांग्रेस नेता मीन विश्वकर्माले १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेता विश्वकर्माले बिहीबार पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
कांग्रेसको १४औं महाधिवेशन शुक्रबारदेखि सुरू हुँदै छ। यो महाधिवेशनबाट कांग्रेसले विभिन्न समावेशी समूहबाट आठजना सहमहामन्त्री हुने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार आफूले सहमहामन्त्रीमा उम्मेदवारी दिन लागेको नेता विश्वकर्माले बताए। उनी सभापति शेरबहादुर देउवाका विश्वास पात्र हुन्।
नेपाल दलित संघको केन्द्रीय अध्यक्षसमेत रहेका विश्वकर्मा १२औं र १३औँ महाधिवेशनमा निरन्तर केन्द्रीय सदस्य निर्वाचित हुन्। हाल प्रतिनिधिसभा सदस्यसमेत रहेका विश्वकर्मा पूर्ववाणिज्यमन्त्री र संविधानसभा सदस्यसमेत हुन्।
‘मैले सभापतिज्यूलाई भेटेर सहमहामन्त्रीमा उठ्छु भनिसकेको छु। सबै उम्मेदवारको टुंगो लाग्न अझै समय लाग्न सक्छ,’ उनले भने, ‘त्यसैले मैले अहिले तपाईहरूमाझ आफ्नो उम्मेदवारी घोषणा गर्दै छु।’