लालपुर्जा माग्दै चितवनमा सुकुमबासीको प्रदर्शन

बुधबार, २२ मंसिर, २०७८
डिजिटल संस्करण
लालपुर्जा माग्दै चितवनमा सुकुमबासीको प्रदर्शन

तस्बिर सौजन्य ध्रुवराज खनाल

चितवनका सुकुमबासीले ‘नो लालपुर्जा, नो भोट’ अभियान सुरु गरेका छन् । नेपाल बसोवास बस्ती संरक्षण समाजको आह्वानमा ¥यालीसहित चितवनबाट यस्तो अभियान सुरु गरिएको हो । 

मंगलबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिकामा पर्ने टाँडी बजारबाट सुकुमबासीहरूले ‘उधारोमा भोट माग्ने प्रथा बन्द गर’, ‘जसको जोत उसको पोत कायम गर’, ‘बसोवासका आधारमा लालपुर्जा दे’लगायतका नारासहितका प्लेकार्डसहित प्रदर्शन गरे । 

नेपाल बसोवास बस्ती संरक्षण समाजका जिल्ला अध्यक्ष छविलाल देवकोटाले लालपुर्जा नपाएसम्म भोट नदिने अभियान सुरु भएको जानकारी दिए । हरेक चुनावमा आश्वासन पाए पनि लालपुर्जा नपाएको भन्दै लालपुर्जाविना आगामी चुनावमा कसैलाई भोट नदिने उनले बताए ।

अहिलेसम्म भूमिहीन सुकुमबासीहरूको समस्या समाधानका लागि २४ वटा आयोग बने पनि काम नभएको उनीहरूको आरोप छ । विघटन गरिएको भूमि आयोगमा लालपुर्जाका लागि चितवनबाट ४३ हजार दुई सय २८ जनाले फारम भरेको देवकोटा बताउँछन् । नेपालमा करिब ७० लाख सुकुमबासी छन्, जसमध्ये ४० लाख मतदाता छन् ।

सुझावित समाचार