राप्रपामा नक्कली मतदाता भेटिएपछि छानबिन समिति गठन

बिहिबार, १६ मंसिर, २०७८
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीमा महाधिवेशन प्रतिनिधि (मतदाता) को नाममा संस्थापन पक्षले धाँधली गरेको भन्दै विरोध भएपछि केन्द्रीय निर्वाचन समितिले छानबिन समिति गठन गरेको छ। बिहीबार गठित छानबिन समितिले १५ जिल्लाका प्रतिनिधिहरूको छानबिन गर्ने क्रममा करिब सयजना नक्कली मतदाता फेला पारेको छ। 

राप्रपा वरिष्ठ नेता हरिबहादुर बस्नेत नेतृत्वको केन्द्रीय निर्वाचन समितिले गठन गरेको छानबिन समितिमा तोरणबहादुर गुरुङ, पुष्कर अधिकारी, श्यामबहादुर शाही, झनक प्याकुरेल र कैयाँ चौधरी छन्। समितिलाई मतदाता नामावली विवाद समाधान गरेर अन्तिम रूप दिन भनिएको छ। ‘१५ जिल्लाको छानबिन सकियो। यसमा धाँधली भएको भेटिएको छ। वास्तविक प्रतिनिधिको नाम काटिएको छ, प्रतिनिधि नभएकाहरूको नाम समावेश गरिएको छ,’ राप्रपाका एक नेताले नयाँ पत्रिकासँग भने, ‘निर्वाचन समितिले वास्तविक मानिसको नाम थपेर मतदाता नामावली प्रकाशन गर्ने अन्तिम कोसिस गर्नेछ।’

राप्रपा नेता धवलशमशेरको गृहजिल्ला बाँकेसहित पाल्पा, खोटाङ, स्याङ्जालगायतका जिल्लामा संस्थापन पक्षले नक्कली मतदाता खडा गरेको अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देन समूहको आरोप छ। असन्तुष्ट पक्षका एक नेताले बताएअनुसार  देशैभरिबाट ३ सयभन्दा बढी नक्कली मतदाता राखिएको छ। आज साँझसम्म छानबिन सकेपछि निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ। चुनावी प्रक्रिया भने शुक्रबार मात्रै सुरु हुनेछ।
 

See More On

सुझावित समाचार