२६ डिसेम्बर १९२० मा लिभरपुलस्थित गुडिसन पार्क मैदानमा फुटबल हेर्न ५३ हजार दर्शकको भिड उर्लियो । करिब १४ हजार दर्शक टिकट नपाएर गेटबाटै घर फर्कन बाध्य भए । त्यस दिन खेल्ने दुई टोली थिए, डिक केर लेडिज र सेन्ट हेलेन्स लेडिज । त्यो खेलले महिला फुटबलमा उच्च दर्शक उपस्थितिको कीर्तिमान राखेको थियो । सन् १९२० को दशकमा फस्टाउँदै गरेको महिला फुटबलका निमित्त त्यो निःसन्देह ऐतिहासिक दिन थियो । तर, महिला फुटबलले उचाइ छोएको त्यो दिन महिला फुटबल इतिहासको कालो दिनको कारक पनि बन्न पुग्यो । महिला फुटबलको बढ्दो लोकप्रियताले पुरुष फुटबलमा दर्शक उपस्थिति र आम्दानी दुवैमा कमी ल्याउन सक्ने देखेर त्रसित बेलायती फुटबल संघ (एफए)ले आजभन्दा एक सय वर्षअघि ५ डिसेम्बर १९२१ मा ‘फुटबल खेल महिलाहरूको शरीर र प्रजनन स्वास्थ्यका लागि अनुपयुक्त भएको’ उल्लेख गर्दै एक विज्ञप्तिमार्फत महिला फुटबलमाथि प्रतिबन्ध लगायो । पाँच दशक कायम रहेको त्यो प्रतिबन्धको मूल्य महिला फुटबलले आजसम्म तिर्दै छ ।
सँगसँगैजसो सुरुआत भए पनि पुरुष फुटबलको जस्तो महिला फुटबलको अभिलेख भने भेटिँदैन । सन् १८८० कै दशकमा बेलायतमा विभिन्न महिला टोलीले एक–अर्कासँग मैत्रीपूर्ण खेल खेल्ने गरेको देखिन्छ । स्कटिस लेखक तथा महिला अधिकारकर्मी फ्लोरेन्स डिक्सीले सन् १८९५ मा लन्डनमा ‘ब्रिटिस लेडिज फुटबल क्लब’को स्थापना गरिन् । क्लबको मुख्य उद्देश्य बेलायतभरका महिला फुटबल टोलीलाई खेल आयोजना गर्न प्रोत्साहन तथा सहयोग गर्नु थियो । ब्रिटिस लेडिज फुटबल क्लबको अगुवाइमा सन् १८९५ मा आयोजित उत्तरी बेलायत र दक्षिणी बेलायतबीचको खेलमा उत्तरी बेलायत ७–१ ले विजयी भएको थियो । एफएको वेबसाइटमा यो खेललाई प्रथम आधिकारिक महिला फुटबल खेल मानिएको छ । यद्यपि, स्थानीयस्तरमा महिलाहरूले निकै अघिबाट फुटबल खेल्ने गरेको प्रमाण भेटिन्छ ।
महिलालाई मतदानको अधिकारबाट समेत वञ्चित राखेको १८८०–९० ताकाको पुरुषप्रधान समाजले महिलाले फुटबल खेलेको सहन सक्ने कुरै भएन । फुटबल महिलाको खेल नै हैन भन्ने धारणा व्यापक थियो । महिलाले खेल्दा लगाउने पोसाक अशोभनीय र आपत्तिजनक भएको गुनासापत्र फुटबल संघ र पत्रपत्रिकाका कार्यालयमा नियमित पुग्थे । जसकारण महिलाहरू खेल्न असाध्यै असजिलो हुने ‘गियर’ लगाएर खेल्न बाध्य थिए । फुटबल महिलाहरूको स्वास्थ्यका लागि पनि उपयुक्त नभएको तर्क गरिन्थ्यो । यसैबीच, सन् १९०२ मा एफएले पुरुष टोलीलाई महिला टोलीसँग आधिकारिक खेल्नबाट रोक लगायो । महिलाको स्वास्थ्यका कारण देखाए पनि महिलाले पुरुषहरूलाई नियमित रूपमा पराजित गर्ने सम्भावना देखेर एफएका हाकिमहरू चिन्तित थिए । यसले बढ्दै गरेको फुटबलको लोकप्रियतामा धक्का पुग्ने उनीहरूको विश्वास थियो ।
पहिलो विश्वयुद्ध र महिला फुटबलको उदय : पहिलो विश्वयुद्ध सुरु भएसँगै धेरै बेलायती युवा युद्धमा होमिनुपर्यो । पुरुष कामदारहरू युद्धमा पठाइएपछि महिलाले मुख्यतः युद्ध सामग्री उत्पादन गर्ने कारखानाहरूमा काम गर्न थाले । पुरुष कामदारलाई प्रतिस्थापन गरेसँगै महिला कामदारले खाजा समयमा फुटबल खेल्ने र सप्ताहन्तमा विभिन्न कारखानाबीच मैत्रीपूर्ण खेल खेल्ने चलन बसाए । धेरैको संख्यामा पुरुष खेलाडी युद्धमा होमिएका कारण बेलायती फुटबल लिग पनि रोकिएको थियो । यसले महिला फुटबलमा दर्शकको उपस्थिति बढायो । सन् १९१७ को एक दिन प्रेस्टन सहरको डिक केर नाम गरेको कारखानामा दिउँसो खाजा–समयमा पुरुषलाई पराजित गरेपछि त्यहाँका महिलाले फुटबल टोली गठन गर्ने निर्णय गरे र जन्मियो सम्भवतः आजसम्मकै बलियो महिला फुटबल टोली, डिक केर लेडिज ।
अल्फ्रेड फ्य्रांकल्यान्डको प्रशिक्षणमा खेल्ने डिक केर लेडिज उत्कृष्ट खेलका कारण छोटो समयमै ख्याति कमाउन सफल भयो । युद्धमा घाइते भएर फर्किएका जवानहरूको उपचारका निम्ति रकम संकलन गर्न सन् १९१७ को क्रिसमसमा आयोजित खेलमा डिक केर लेडिजको खेल हेर्न १० हजार दर्शक आए । सन् १९१८ भर यो टोलीले परोपकारी उद्देश्यका साथ धेरै खेल खेल्यो । डिक केरको लोकप्रियता यति चुलियो कि सन् १९२० मा यो टोलीले मैत्रीपूर्ण खेलका निम्ति फ्रान्सको यात्रा तय गर्यो । फ्रान्समा राम्रो प्रदर्शन गरेर फर्केको यो टोलीले बेलायतमा झन् धेरै चर्चा कमायो । सन् १९२० डिसेम्बर २६ मा उर्लिएको ५३ हजार दर्शकको भिड लोकप्रियताको उच्चतम बिन्दु थियो । परोपकारी कार्यका निमित्त रकम संकलन गर्न आयोजित यो खेलले महिला फुटबलमा सबैभन्दा धेरै दर्शक उपस्थितिको कीर्तिमान कायम गर्यो । तर, कीर्तिमानी दर्शक बटुलेको एक वर्ष नबित्दै महिलालाई फुटबल खेल्नबाटै प्रतिबन्ध लगाइयो । महिला फुटबलको बढ्दो लोकप्रियताबाट डराएर एफएले महिलालाई फुटबल खेल्नबाट प्रतिबन्धित गरेको थियो ।
महिला फुटबलमाथि पुरुष सत्ताको प्रहार : विश्वयुद्धको अन्त्यपछि बेलायत फर्केका युवाहरूको तत्कालीन सरकारसँग चरम असन्तुष्टि थियो । बेरोजगारी दर उच्च थियो । उनीहरू आफू युद्धमा होमिँदा महिलाले ‘खोसेको’ युद्धअघिको आफ्नो रोजगारी फिर्ता चाहन्थे । विभिन्न ठाउँमा आन्दोलन चर्कियो । महिलाहरू घरको काममा फर्किनुपर्छ भन्ने जमात बलियो हुँदै थियो । बेलायती संसद्ले सन् २०१९ मा ‘रेस्टोरेसन अफ प्रि–वार प्राक्टिसेस’ ऐन पास ग¥यो र युद्धबाट फर्केका जवानहरूलाई उनीहरूको युद्धअघिको रोजगारी फिर्ता दियो ।
फुटबलमा पुरुष दबदबा कायम गर्न सुनौलो समयबाट गुज्रिरहेको महिला फुटबललाई सखाप पारियो । पाँच दशक प्रतिबन्धित भएर सन् १९७१ मा फुकुवा भएको महिला फुटबल पाँच दशकपछि पनि पूर्ण व्यावसायिक बन्न संघर्षरत छ ।
युद्ध अवधिभर विभिन्न कारखानामा श्रम गरेर योदगान पुर्याएका महिला कार्यस्थलबाट फ्याँकिए । योसँगै धेरै महिलाको खेल–जीवन पनि सकियो । यसैगरी, बेलायती समाजको एक तप्का सन् १९१८ मा ३० वर्षभन्दा माथिका महिलाले मताधिकार पाएकोमा असन्तुष्ट थियो । महिलालाई ‘आफ्नै स्थानमा फर्काउन’ लागिपरेको यो तप्का बेलायतले युद्धमा १० लाख सेना गुमाएका कारण महिलाको मुख्य काम सन्तान जन्माउनु र जनसंख्या बढाउनु हो भन्ने तर्क गर्न लाग्यो । महिलाले के गर्नु हुन्छ र के गर्नु हुन्न भन्ने बहस व्यापक थियो । फुटबललगायतका खेलले महिलाको प्रजनन क्षमतामा नकारात्मक असर पु¥याउने बनिबनाउ ‘प्रमाण’हरूले बेलायती मिडियामा राम्रै स्थान पाइराखेका थिए ।
महिलाको भूमिकालाई लिएर समाज विभाजित भएको मौका छोपेर एफएले सन् १९२१ डिसेम्बर ५ मा महिलालाई फुटबल खेल्नबाट बन्देज लगायो । महिलाले फुटबल खेलमार्फत परोपकारका लागि भनेर संकलन गरेको पैसा हिनामिना गरेको र फुटबल महिलाको स्वास्थ्यका लागि उपयुक्त नभएको कारण देखाउँदै एफएले सम्पूर्ण बेलायती क्लबलाई आफ्ना पूर्वाधार महिला फुटबलका लागि प्रयोग गर्नबाट रोक लगायो । यथार्थमा फुटबल संघ महिला फुटबलको लोकप्रियताबाट झस्केको थियो । सन् १९२० मा त्यतिवेलाको पुरुष फुटबलको सबैभन्दा ठूलो खेल एफए कप फाइनलमा ५० हजार १८ दर्शक उपस्थित हुँदा डिक केर लेडिजले मैत्रीपूर्ण खेलमै ५३ हजार दर्शक आकर्षित गर्न सफल भएको थियो । सोही समय बेलायती फुटबल लिग पुरुष लिगको तेस्रो श्रेणी सुरु गर्ने तयारी गर्दै थियो । फुटबल लिगलाई महिला फुटबलको लोकप्रियताका कारण उक्त प्रतिस्पर्धा सफल नहुने डर थियो । तसर्थ, पुरुष लिगको भविष्य सुनिश्चित गर्न एफएले महिला फुटबलको घाँटी निमोठ्यो ।
प्रतिबन्धको विरोधमा महिला क्लबहरूले एकजुट भएर आफ्नै लिग सञ्चालन गर्न प्रयास गरे पनि एफएको शक्तिअघि ऊनीहरूको केही लागेन । डिक केर लेडिजलगायत केही स्थापित क्लबले आफ्नै प्रयासमा खेल आयोजना गरेर निकै वर्ष खेले पनि प्रतिबन्धका पाँच दशकभर महिला फुटबल गतिविधि ठप्पप्रायः रह्यो । प्रतिबन्धका कारण विद्यालयमा महिला फुटबल प्रतिस्पर्धा हुन छाडे । यसले महिला फुटबलमा पुरुष फुटबलमा झैँ तल्लो संरचनाको विकास हुन पाएन । बेलायतलाई पछ्याउँदै ब्राजिल, जर्मनीलगायतका अन्य फुटबल शक्तिहरूले पनि महिला फुटबलमाथि प्रतिबन्ध लगाए । फुटबलमा पुरुष दबदबा कायम गर्न सुनौलो समयबाट गुज्रिरहेको महिला फुटबललाई सखाप पारियो ।
पाँच दशक प्रतिबन्धित भएर सन् १९७१ मा फुकुवा भएको महिला फुटबल पाँच दशकपछि पनि पूर्ण व्यावसायिक बन्न संघर्षरत छ । सम्भवतः डिक केर लेडिजपछि इतिहासकै सबैभन्दा बलियो अमेरिकाको महिला राष्ट्रिय फुटबल टोली अमेरिकाको राष्ट्रिय फुटबल टिम (पुरुष)कै बराबर तलब÷सुबिधाको माग राखेर वर्षाैंदेखि अदालती लडाइँ लडिरहेको छ । स्पेनिस महिला फुटबल लिगमा रायो–भायकानोका खेलाडीहरू क्लबले चिकित्सकको समेत व्यवस्था नगरेको भन्दै पछिल्लो समय महिनौँदेखि आन्दोलनरत छन् ।
पुरुष फुटबलका महारथी रियल मड्रिड र म्यानचेस्टर युनाइटेडमा दुई वर्षअघिसम्म महिला फुटबल टोली नै थिएनन् । महिला फुटबल लगानी, सुविधा, अवसर हरेक हिसाबमा पुरुष फुटबलभन्दा सयौँ गुणा पछाडि छ । जबजब महिला फुटबलले समानताको माग गर्छ, तबतब फुटबल पण्डित र राजनीतिक टिप्पणीकारहरूदेखि फुटबल ट्विटरसम्म ‘समान अधिकारको माग गर्ने महिला फुटबलले किन पुरुष फुटबलजत्तिकै दर्शक तान्न नसकेको’ भनेर प्रश्न गर्छन् । तर, उनीहरू सय वर्षअगाडि नै पुरुष फुटबलले भन्दा बढी लोकप्रियता महिला फुटबलले हासिल गरिसकेको थियो भन्ने तथ्यलाई किन बिर्सिन्छन् । उनीहरूलाई ५ डिसेम्बर १९२१ सम्झाइदिनुपर्छ ।
Tweet to @mandeep_krk