जबरालाई तत्काल बिदामा बसेर निकास दिन आग्रह गर्ने, नमाने संसद्बाट विकल्प खोज्ने

सत्तागठबन्धनका शीर्ष नेताको समझदारी

सोमबार, १३ मंसिर, २०७८
डिजिटल संस्करण

सत्तागठबन्धनका शीर्ष नेताहरूले न्यायालयमा देखिएको संकटमोचनका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई तत्काल बिदामा बस्न आग्रह गर्ने निष्कर्ष निकालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको बैठकले जबरालाई तत्काल बिदामा बसेर राजीनामा दिने प्रक्रियामा प्रवेश गर्न आग्रह गर्ने निर्णय गरेको हो । 

जबरालाई यो आग्रह गर्ने जिम्मा बैठकले प्रधानमन्त्री देउवालाई दिएको छ । ‘सकेसम्म न्यायालयबाटै समस्याको समाधान होस् भन्ने सत्तारुढ दलहरूको चाहना हो । त्यसैले शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीशलाई तत्काल बिदा बसेर निकास दिन र राजीनामाको प्रक्रियामा अगाडि बढ्न आग्रह गर्ने निष्कर्ष निकालेको छ,’ एक नेताले भने, ‘बैठकले प्रधानन्यायाधीशलाई यो आग्रह गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिएको छ ।’ 

जबराले आग्रह अस्वीकार गरे उनको बहिर्गमनको मुद्दा संसद्मा प्रवेश गराउने निर्णय पनि बैठकले गरेको छ । ‘सहज निकासको आग्रहलाई अस्वीकार गरे विकल्पमा संसद्मा प्रवेश गराउने निष्कर्षमा नेताहरू पुग्नुभएको छ,’ ती नेताले भने । नेपाल बार एसोसिएसनले शुक्रबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै जबराविरुद्ध महाअभियोग लगाउन आग्रह गरेको थियो । देउवाले गठबन्धनमा छलफल गरेर ‘पहल गर्ने’ आश्वासन दिएका थिए । 

बारले जबरामाथि १७ बुँदे आरोप लगाएको उक्त ज्ञापनपत्र सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भने आइतबार मात्रै बुझाएको हो । नेपालले न्यायालयको संकट समाधान निकाल्नुपर्ने र यसबारे गठबन्धनमा छलफल गर्ने बार पदाधिकारीलाई बताएका थिए । त्यसको केही घन्टापछि बालुवाटारमा तीन नेताबीच बैठक बसेको हो । 

बारले सत्तारुढ माओवादी र जनता समाजवादी तथा प्रतिपक्षी एमालेलगायत दललाई गत सोमबार नै ज्ञापनपत्र बुझाएको थियो । नेताहरूले उक्त मागबारे नेतृत्वलाई जानकारी गराउने जवाफ दिएका थिए । प्रधानन्यायाधीशमा जबरालाई अस्वीकार गर्दै बार एक महिनादेखि आन्दोलनमा रहेको र सर्वोच्चका सबै न्यायाधीशले उनीसँग बेन्च सेयर नगर्ने निर्णयमा पुगेकाले सर्वोच्च संकट समाधानका लागि दलहरूमाथि पनि दबाब बढ्दै गएको छ । न्यायाधीशहरूले बेन्च सेयर नगर्ने र अधिवक्ताहरूले उनको इजलास नबस्ने घोषणा गरिसकेकाले जबरा न्यायलयभित्रै ‘बहिष्कृत’ भएका छन् । यो अवस्थामा लामो समयसम्म न्यायालय ठप्प हुनु गलत भएको निष्कर्ष निकाल्दै सत्तारुढ दलहरूले उनलाई निकास दिन आग्रह गर्ने निर्णय गरेका हुन् ।

यसअघि ३० कात्तिकमा बसेको सत्तागठबन्धनको बैठकले न्यायालय विवादमा ‘ध्यानाकर्षण भएको’ भन्दै ‘यथाशीघ्र निकास हुनुपर्ने’ धारणा सार्वजनिक गरेको थियो । राज्यको महत्वपूर्ण अंगका रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्ने जनाएको थियो । 

गोलाप्रथा प्रणालीको स्वागत
जबरालाई बाहिरै राखेर सर्वोच्चका १८ न्यायाधीशको पूर्ण बैठकले गोलाप्रथा प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेकोमा बारले स्वागत गरेको छ । तर, गोलाप्रथा लागू हुँदैमा आन्दोलन नरोकिने चेतावनी पनि दिएको छ ।बारका थप माग सम्बोधन हुन बाँकी रहेको भन्दै महासचिव लीलामणि पौडेलले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘...गोला प्रणाली लागू भएकै कारणले हाम्रो अभियान विसर्जन हुँदैन, निरन्तर जारी रहनेछ ।’ जिल्ला र उच्च अदालतमा पनि गोलाप्रथा लागू गर्नुपर्ने बारको माग छ । न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिको प्रतिवेदनमै गोलाप्रथा लागू हुनुपर्ने सुझाव समेटिएको र कार्यान्वयनमा ल्याउन बारले निरन्तर आन्दोलन गर्दै आएको पौडेलले बताए । 

पूर्ण बैठकको निर्णयअनुसार बिहीबारदेखि सर्वोच्चका इजलास गोलाप्रथाबाट गठन हुनेछन् । बारले प्रधानन्यायाधीश जबराबेगरका इजलास गठन गर्न पनि न्यायाधीशहरूको ध्यानाकर्षण गराएको छ । राणाले गोला ताने भने पनि उनको इजलासमा बहस पैरवी नगर्न बारले कानुन व्यवसायीहरूलाई पनि आग्रह गरेको छ । 

 बार पदाधिकारीलाई नेपालले भने– न्यायालय संकटको समाधान निकाल्नैपर्छ, जिम्मेवारी व्यवस्थापिकाको पनि हो

सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको संकटको समाधान निकाल्नैपर्ने र यसको जिम्मेवारी व्यवस्थापिका संसद्को पनि भएको बताएका छन् । आइतबार बालुवाटार बैठकअघि बारको ज्ञापनपत्र बुझ्दै नेपालले न्यायपालिकाको संकट कार्यपालिका र व्यवस्थापिका दुवैको सरोकारको विषय रहेको बताएका हुन् । ‘न्यायालयमा संकट देखिएको छ भने अवश्य पनि समाधान निकाल्नुपर्छ । यो हाम्रो मात्र होइन, समग्र देशको सरोकारको विषय हो । यो कार्यपालिका मात्र होइन, व्यवस्थापिकाको पनि कुरा हो,’ बारका पदाधिकारीसँग उनले भने, ‘तपाईंहरूले सबैलाई भेट्नुभएको छ । यसमा प्रतिपक्षको पनि ध्यानाकर्षण हुनुपर्ने हो । तपाईंहरूले प्रतिपक्षको अवमूल्यन गर्नुभएजस्तो छ । त्यसैले उहाँहरूको चित्त दुख्यो होला ।’ 

नेपालले प्रतिपक्षीको मनसाय बुझे÷नबुझेको बारका पदाधिकारीलाई सोधेका थिए । जवाफमा बारका पदाधिकारीले आफूहरूले एमालेलाई पनि ज्ञापनपत्र बुझाएको बताएका थिए । त्यसपछि नेपालले थपेका थिए, ‘अहिले अवस्था कस्तो छ भन्दा कार्यपालिकाको नेतृत्व गरेको दल कांग्रेस महाधिवेशनमा होमिएको छ । अर्को दल पनि त्यस्तैमा व्यस्त छ । तर,  न्यायालयको यो अवस्था लामो समय यत्तिकै राख्न सकिन्न । यसमा इन्डिभिजुअल्ली पहल गरेर पनि भएन । म हेड अफ द गभर्नमेन्ट (प्रधानमन्त्री)सँग कुरा गर्छु । छिटोभन्दा छिटो सरोकारवालालाई बोलाएर यो कुरा राख्नु भन्छु ।’ त्यसको केही घन्टापछि बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल भएको थियो । 

आन्दोलनका थप कार्यक्रम तय गर्न आज बारको बैठक
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनले सोमबार चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दै छ । जबराविरुद्ध एक महिनादेखि आन्दोलनमा रहेको बारले सर्वोच्च अदालत हुँदै जिल्ला र उच्च अदालतसम्म धर्ना दिनेदेखि महाअभियोग लगाउन संसद्का सबै दललाई ज्ञापनपत्र बुझाउनेसम्म गरेको छ । तर, जबरा राजीनामाका लागि अझै तयार नभएपछि बैठक बसेर थप संघर्षका कार्यक्रम घोषणा गर्न लागेको महासचिव लीलामणी पौडेलले बताए । ‘अपराह्न ३ बजेका लागि बैठक डाकिएको छ । सुरुमा उच्च अदालतको आन्दोलनमा सहभागी भएर आउनुभएका साथीहरूको धारणा सुनेर समीक्षा गरिन्छ । त्यसपछि आन्दोलनलाई नयाँ स्वरूपमा लैजाने हो कि, अहिले भएकालाई नै समय लम्ब्याउने ? धर्नालाई निरन्तरता दिने वा अन्य बौद्धिक तथा पेसागत संगठनसँग छलफल गर्ने  हो ? छलफल गरेर निर्णयमा पुग्छौँ,’ पौडेलले भने । 

सुझावित समाचार