सेयर बजारको उकालो यात्रा यस साताभरि कायमै रहेको छ। अघिल्लो सातासम्म घटेर निराश बनेका लगानीकर्तालाई यस साता बजारले खुसी दिलाएको छ। सेयर मात्र नभएर कारोबार रकममा पनि सुधार आएको छ भने बजारले करेक्सन रेखालाई पार गरी अघि बढेको छ। जसको कारण लगानीकर्ता बजारप्रति सकारात्मक बन्दै गएका छन्।
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १३ अंकले बढेर दुई हजार सात सय ८२ दशमलव १६ अंक पुगेकाे छ । यस्तै क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स चार दशमलव ४२ अंकले बढेर पाँच सय २० बिन्दुमा पुगेको छ। सामान्य अंकले बढेको नेप्सेमा यस दिन पनि प्रोफिट बुक गर्नेतर्फ लगानीकर्ताहरू केन्द्रित भएका छन्।
कारोबारमा आएका १३ समूहको सूचकमध्ये माइक्रो फाइनान्स र जलविद्युततर्फ लगानीकर्ताको आकर्षण बढेको छ। त्यस्तै फाइनान्स र विकास बैंकको सूचक सकारात्मक बनेको छ। सामान्य अंकले बढेको नेप्सेमा वाणिज्य बैंक, जीवन बिमा, होटेल तथा पर्यटन समूहको सूचक सामान्य अंकले घटेको छ। सो दिन रिडी हाइड्रोपावर कम्पनीको १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ। त्यस्तै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, हिमालयन पावर पार्टनर, जीवन विकास लघुवित्त, ग्रामीण विकास लघुवित्त, कामना सेवा विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेप्लोपर्स कम्पनीको सेयर ९ देखि ७ प्रतिशतले घटेको छ।
सामान्य अंकले घटेको नेप्सेमा गुराँस लाइफ इस्योरेन्स, सिटिजन म्युचुअल फन्ड, अजोड इन्स्योरेन्स, कृषि विकास बैंकको सेयर समान्य दुई प्रतिशतले घटेको छ। त्यस्तै, युनिलिभर नेपालको दुई प्रतिशतले गिरावट आएको छ भने ओरेन्ट होटेलको सेयर मूल्यमा सामान्य गिरावट आएको छ।
धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २२ कम्पनीको ९२ लाख कित्ता मात्र सेयर खरिद–बिक्री हुँदा पाँच अर्ब ३९ करोड ५२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। नेसनल हाइड्रोपावर कम्पनीको २९ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने दोस्रो कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ। बैंकको सो दिन २२ करोड रुपैयाँको सेयर कारोबार भएको छ। त्यसैगरी जालपा विकास, एनआइसी एसिया बैंक, युनाइटेड मोदी हाइड्रोपावर, अपि पावर कम्पनीको सेयर १९ करोड रुपैयाँदेखि १६ करोड रुपैयाँसम्मको कारोबार भएको छ।