काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नागार्जुन नगरपालिकामा ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ भवन निर्माण हुने भएको छ। नागार्जुन– ६ स्थित सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको करिब १८ रोपनी सार्वजनिक जग्गामा उक्त भवन निर्माण हुने भएको हो।
अव्यवस्थित सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवर्द्धनका लागि मानव सेवा आश्रम सञ्चालन प्रयोजनका लागि भवन निर्माण गर्ने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ। सम्झौतापत्रमा महानगरका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्य, नागार्जुन नगरपालिका तर्फबाट मोहनबहादुर बस्नेत र मानव सेवा आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरेका छन्।
काठमाडौं जिल्लाभित्र अव्यवस्थित रूपमा खुला आकाशमुनि कष्टकर जीवनयापन गरिरहेकाहरूको उद्धार, उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलन गराउने र त्यस्ता सहयोगापेक्षी मानव व्यवस्थापन एवं मानवता प्रवर्द्धनलाई दिगो व्यवस्थापन गर्न सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम निर्माण गरी सञ्चालनमा ल्याउन लागिएको कार्यक्रममा जानकारी दिइएको थियो।
सम्झौताअनुसार काठमाडौं महानगरपालिका र चन्द्रागिरि नगरपालिका क्षेत्रभित्रका सडकपेटी तथा खुला क्षेत्रहरूमा रहेका–भेटिएका सबै उमेर समूहका र सबै प्रकृतिका सहयोगापेक्षी मानवहरूको उद्धार, उपचार, पालनपोषण, शिक्षादीक्षा आदि आधारभूत आवश्यकताको परिपूर्ति गर्ने प्रबन्ध मानव सेवा आश्रमले गर्नेछ । सार्वजनिक खरिद प्रक्रियाबाट भवन निर्माण गर्न निर्धारण हुने सम्पूर्ण लागत काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ।
काठमाडौं महानगरपालिका सहरी पूर्वाधार निर्माण विभागका प्रमुख राम थापाले यो आर्थिक वर्षमा उक्त भवन निर्माणका लागि काठमाडौं महानगरपालिकाले ६ करोड छुट्याएको जानकारी दिए । सम्झौताअनुसारको भवन ०८० मा निर्माण सम्पन्न हुनेछ।