देशको राजधानी काठमाडौंका सडक चिल्ला र चौडा हुनुपर्ने हो, तर साँघुरा र खाल्डाखुल्डी भएका सडकमा राज्यले नै छाडेका ‘एम्बुस’ पनि छन् । विकासका नाममा कार्यालयपिच्छे समन्वयविना सडक भत्काएर खनिएका खाल्डा र मंगाल खुला छाडिएका ढलले नागरिकको ज्यान लिइरहेको छ । तैपनि सरकार गम्भीर बनेको छैन ।
काठमाडौंको कपन मिलनचोकका ४२ वर्षीय विशालकुमार नेपाल मंगलबार साँझ ८ बजे किराना पसल बन्द गर्न सटरबाहिर निस्किँदै थिए । मुसलधारे पानी दर्किरहेको थियो । सडकतिर नियालेका उनले फुटेको ढलमा एउटा बालक फुत्तै छिरेको देखे । दृश्य देखेर हडबडाएका उनी गुहार माग्दै घटनास्थलतिर दौडिए । उनका पछिपछि आसपासका अरू स्थानीय पनि लागे । सडकबाट सोहोरिएर ढलमा छिरेको पानीको भुमरीले बालकलाई घुमाइरहेको थियो । तर, ढलबाट बालकलाई कसैले उद्धार गर्न सकेन । हेर्दाहेर्दै बालक ढलभित्रै अलप भए ।
दारुणिक घटना सुनाउँदै बुधबार विशालकुमारले भने, ‘ढलमा खस्दै गरेको देखे पनि बालकलाई निकाल्न सकिएन । हेर्दाहेर्दै उनी ढलभित्रै गायब भए । ढल मर्मत गर्न हामीले बुढानीलकण्ठ नगरपालिकालाई पटक–पटक गुहारेका हौँ । तर, चासो दिएन । राज्यले संरक्षण गरेको त्यही धराप ढलले अबोध बालकलाई लग्यो ।’
विशालकुमारले बालकलाई जोगाउन सकिन्छ कि भनेर प्रहरीलाई पनि खबर गरेका थिए । केहीबेरमै विशेष टोलीसहित प्रहरी घटनास्थल पुगेको थियो । टोलीले उद्धारका लागि अनेक तरिका अपनायो । राति १२ बजेसम्म कसरत ग¥यो । तर, बालक भेट्टाउन सकेन । ढलभित्रबाट फोहोर पानीको भुल्को निस्किएकाले पनि उद्धार कठिन भएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले भने, ‘घटनाको सूचना पाएलगत्तै हाम्रो टोली पुग्यो । फुटेको ढलबाट पानीको भुल्को उर्लिरहेको रहेछ । त्यहाँ बालक छिरेको र बेपत्ता भएको प्रत्यक्षदर्शीबाट खुल्यो । मंगलबार रातभर र बुधबार दिनभर खोज्दा पनि भेट्टाउन सकिएन ।’
ढलमा बेपत्ता बालक को हुन् अझै पुष्टि हुन सकेको छैन । तर, कपन साततलेस्थित पाथीभरा टोल बस्ने १० वर्षीय उज्ज्वल विक हुन सक्ने प्रहरी अनुमान छ । किनभने यही नाम गरेको बालक कपनस्थित खहरे खोला हुँदै साततलेस्थित पाथीभरा टोल आउने क्रममा एकाएक बेपत्ता भएको जाहेरी बुधबार बिहान महानगरीय प्रहरी प्रभाग कपनमा परेको छ ।
जाहेरीमा उल्लेख निवेदनको व्यहोराअनुसार उनी मंगलबार साँझ फुपू ३८ वर्षीया अनिता कोइरालाको होटेलमा खाना खाएर हजुरबुबा मंगले विकसँगै खहरे खोलाको बाटो हुँदै पाथीभारा टोलतर्फ फर्किँदै थिए । ठूलो पानी परेपछि मंगले सडकनजिकैको घरमा ओत लागेर बसे । तर, उज्ज्वल भने रुझ्दै अगाडि बढे । पानी रोकिएपछि हिँडेका मंगले घरमा आइपुग्दा नाति भने देखिएनन् । कतै छिमेकतिर बसे कि भनेर उनी सुते । तर, बुधबार बिहानै सबैतिर बुझ्दा उज्ज्वल कतै भेटिएनन् । त्यसपछि उनी निवेदन बोकेर प्रहरी प्रभाव कपन पुगेका थिए ।
‘बालक बेपत्ता भएको भन्दै हामीकहाँ उजुरी परेको छ । निवेदनमा खुलाइएको बालकको हुलिया र प्रत्यक्षदर्शीले भनेअनुसार ढलमा बेपत्ता बालकको हुलिया मिलेको देखिन्छ । हराएको समय पनि मिल्छ । त्यसैले ढलमा बेपत्ता बालक उज्ज्वल नै हो भन्ने हाम्रो अनुमान छ,’ काठमाडौं परिसरका प्रवक्ता एसपी बस्नेतले भने ।
फुपू अनिताका अनुसार उज्ज्वलका आमा–बुबा दुवै छैनन् । दुई कक्षामा अध्ययन गर्ने उनी सानैदेखि हजुरबुबासँगै बस्दै आएका थिए । ‘उसको आमा–बाबु दुवै छैनन् । हजुरबुबासँग बस्थ्यो । कहिलेकाहीँ मकहाँ पनि बस्थ्यो । मंगलबार बुबा (मंगले)सँगै मेरो होटेलमा आएको थियो । साँझको खाना आएर फर्किएका हुन् । बुबा घर पुग्नुभएछ, तर ऊ पुगेनछ । प्रत्यक्षदर्शीले ढलमा डुबेको बालकको जुन हुलिया बताइरहेका छन्, उज्ज्वलसँग मिल्छ ।’
काठमाडौंवासीका लागि यो कारुणिक घटना नौलो होइन । एक दिनअघि सोमबार मात्रै जोरपाटीको नयाँबस्तिस्थित बागमती करिडोर हुँदै एक महिला माकलबारीतर्फ जाँदै थिइन् । सडक अँध्यारो थियो । सडकको बीच भागमा फुटेको ढलमा उनको आँखा परेन । हिँड्दै गरेकी उनी फुत्त ढलभित्र छिरिन् । प्रत्यक्षदर्शी उद्धारका लागि अगाडि बढे । तर, उनलाई कसैले फेला पारेनन् । किनकि ढल हुँदै बगेको पानीको तेज धारले उनलाई बेपत्ता बनाइसकेको थियो ।
घटनालगतै पुगेको प्रहरीले उनलाई कतै भेटाउन सकेन । मंगलबार एउटा शव नयाँ बानेश्वरस्थित बाग्मती नदिको किनारमा भेटियो । प्रहरीले तिनै महिनाको शव भएको अनुमान गरेको छ । तर, सनाखत अझै सनाखत हुन सकेको छैन ।
त्यसअघि ९ भदौको साँझ ४२ बर्षीय केशव लिम्बु सडक जोरपाटीको माकलबारी हुँदै डेरतर्फ जाँदै थिए । सडकमा बक्ति थिएन । अविरल बर्षाका कारण फुटेको ढल सडक बीचमै धराप बनेर तेर्सिएको उनले भेउ नै पाएनन्, ढलमा खसे ।
प्रत्यक्षदर्शीले उद्धार गर्न जाँदासम्म लिम्बु ढलमा बेपत्ता भइसकेका थिए । प्रहरीले उनी ढलभित्रै अड्किएको अनुमान गरेर एक्जाभेटर मगाएर ढल फुटायो । निकै मिहिनेतपछि लिम्बुलाई जीवितै उद्धार गरियो । काठमाडौं परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले भने,‘सडकबीचमा ढल फुटेको रहेछ । कसैलाई थाहा नै भएन । केशव लिम्बु हिँड्दै डेरातर्फ जाँदै रहेछन् । फुटेको ढल उनले देखेनन् । उनी त्यही ढलमा छिरे । एक्जाभेटरले ढल खनेर बल्ल उनलाई जीवतै उद्धार गर्न सकियो ।’
पाँच वर्षमा १४ जनाले सडकबीचका खाल्डोमा खसेर ज्यान गुमाए
नेपाल प्रहरीको तथ्यांकअनुसार पाँच वर्षमा काठमाडौं उपत्यकामा ४८ जना व्यक्ति सडकबीचका खाल्डोमा परेका छन् । जसमध्ये १४ जनाको ज्यान गएको छ भने ३४ जना घाइते भएका थिए । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार पछिल्लो समय सडक निर्माण तथा सडक क्षेत्रका विकास निर्माणका काम गर्दा सावधानी नअपनाउँदा धेरैको ज्यान जाने गरेको छ ।
प्रहरी तथ्यांकअनुसार चाबहिल, कपन, गौशाला, सुन्धारा, रत्नपार्क, नख्खु, जावलाखेल, भैँसेपाटी, बल्खु, नयाँ बसपार्क, नयाँ बानेश्वर, कोटेश्वर, तिनकुने, सिनामंगल, कलंकी, नारायणथान, चुच्चेपाटी, भक्तपुरको सल्लाघारी, सूर्यविनायक, जगातीलगायत क्षेत्रमा ढल पाइप व्यवस्थित गर्ने क्रममा सावधानी नअपनाउँदा सर्वसाधारण खाल्डोमा खसेका छन् ।
राज्यको लापरवाही
उपत्यकामा विकास निर्माणको काम गर्ने सरकारी निकायको लापरबाहीले सर्वसाधारणले अनाहकमा ज्यान गुमाउने क्रम रोकिएको छैन । सडक, खानेपानी, ढल तथा त्यससँग सम्बद्ध विकासका काम गर्दा ठाउँठाउँमा ज्यानमारा धराप खाल्डाहरू पार्दा त्यसमै खसेर धेरैले ज्यान गुमाएका छन् ।
विकास निर्माणको काममा सरकारी निकायले सुरक्षा सावधानी नअपनाउँदा यस्ता दुर्घटना बढेका हुन् । सडक निर्माण, ढल निर्माण, खानेपानी तथा तार बिछ्याउने काम तथा सडकपेटी मर्मत गर्दा सावधानी अपनाउने गरिएको छैन । जसका कारण खाल्डामै परेर आमसर्वसाधारणले ज्यान गुमाउनुपर्ने अवस्था आएको हो । पछिल्लो पाँच वर्षमा उपत्यकामा यस्ता खाल्डा तथा ढलमा ४८ जना खसेको र त्यसमध्ये १४ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांक छ । कतिपय सोही कारण सडक दुर्घटनामा समेत परेका छन् ।
सडकमा विकास निर्माणका काम अधुरै छाड्ने र त्यहाँ संकेतचिह्नसमेत नराख्ने प्रवृत्तिले जोखिम बढेको हो । मुख्य सडकमा पारिएका त्यस्ता खाल्डा परबाट नदेखिने र त्यहाँ संकेत चिह्न तथा सुरक्षाका अन्य तरिका राख्ने गरिएको छैन । काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, सडक विभाग, आयोजना कार्यान्वयन निर्देशनालय, सडक डिभिजन, विद्युत् प्राधिकरणलगायत निकायले विकासका काम गर्ने क्रममा सडकमा खाल्डा बनाई त्यत्तिकै छाड्ने गरेका छन् । तार, ह्युमपाइन, खानेपानी पाइपलगायत व्यवस्थित गर्न खाल्डा खनेपछि त्यसलाई समयमै पुर्ने गरिएको छैन । निर्माण कार्य हुँदै छ भन्ने संकेतसमेत धेरै ठाउँमा राखिँदैन ।
सहरी विकास तथा पूर्वाधारविज्ञ सूर्यराज आचार्यले ढल र मंगलको ढकनी नलगाई खाल्डा पारेर छाड्नु अपराधसरह भएको बताए । उनले भने, ‘यस्तो लापरबाही गर्ने इन्जिनियर वा कर्मचारीलाई फौजदारी कानुनअनुसार मुद्दा चलाएर जेल हाल्नुपर्छ ।’
विकास निर्माणको नाममा पछिल्लो समय उपत्यकाका सडकमा खाल्डैखाल्डा बनाइएका छन् । तर, ती खाल्डाले दुर्घटना निम्त्याएपछि मात्रै महानगर वा सम्बन्धित निकायले बल्ल पुर्छन् । पछिल्लो समय ढल व्यवस्थापनका लागि भन्दै उपत्यकाका ५० वटाभन्दा बढी ठाउँमा सडक भत्काइएको छ । ती ठाउँमा ओहोरदोहोर गर्नेहरूका लागि सचेत चिह्न वा संकेत राखिएको छैन ।
जसले जोखिम बढाएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख कमल श्रेष्ठले जानकारी दिए । उनले निर्माण अवधिभर सडक क्षेत्रमा ओहोरदोहोर गर्नेहरूका लागि सावधानी अपनाउन चिह्न प्रयोग गर्नुपर्ने बताए । ‘काम भइरहेको ठाउँमा संकेत चिह्नहरू राख्नुपर्छ वा त्यो क्षेत्रमा प्रवेश गर्न दिइनुहुन्न,’ उनले भने, ‘तर, कतिपयले सडकलाई जोखिम बनाएर काम गरिरहेका छन्, यसो गर्नु राम्रो होइन ।’
ट्राफिक व्यवस्थापनमा समेत समस्या
उपत्यकाका सडकबीचमा धरापपूर्ण खाल्टाखुल्टीका कारण ट्राफिक व्यवस्थापनमा समेत समस्या थपिएको छ । सडकका खाल्डोका कारण सवारीसाधनको गति कम गर्दा ह्वात्तै जाम बढेको ट्राफिक प्रहरीले जनाएको छ । ‘सडकमा केही न केही अवरोध भइरहन्छ, कहिले खानेपानीले अवरोध गर्छ, अहिले विद्युत् प्राधिकरणले गर्छ, अहिले ढल व्यवस्थापन गर्ने क्रममा सडक अस्तव्यस्त बनाइन्छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव शर्मा दासले भने । उनका अनुसार ठाउँठाउँमा सडक अवरोधका कारण ट्राफिक व्यवस्थापनमा पनि समस्या हुने गरेको छ ।
विद्युत् प्राधिकरणले पनि उस्तै जोखिम बढाउँदै
उपत्यकामा अहिले विद्युत् प्राधिकरणले तार भूमिगतको काम गरिरहेको छ । चारवटा आयोजनाअन्तर्गत तार भूमिगत गर्ने कार्य भइरहेका छन्, तर काम गर्दा सावधानी अपनाइएको छैन । केबुल गाड्नका लागि खनिएको ढल यत्तिकै छाडिएको छ । हाल महाराजगन्ज, रत्नपार्क, कीर्तिपुर र भक्तपुर–ललितपुरअन्तर्गत तार भूमिगतको काम अघि बढेको छ ।
त्यस्तै, धापासी, बालाजु र धोबीखोला क्षेत्रमा पनि भूमिगतकै काम सुरु भइरहेको छ । यी क्षेत्रमा निर्माण कार्य भइरहेको भए पनि सर्वसाधारणलाई अवरोध हुने गरेको छ । कतिपय ठाउँमा निर्माण कार्य बीचमै रोकिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षात्को वेला काम गर्न असहज भएकाले रोकिएको बताए । उनले सडकमा काम गर्दा सर्वसाधारणलाई बाधा नपुग्ने गरी काम गर्न ठेकेदारलाई निर्देशन दिइएको बताए । उनले भने, ‘सडक सबैको हो, विकास निर्माणका काम गर्दा सडकमा हिँड्नेलाई अवरोध पु¥याउनुहुन्न ।’
विकास निर्माण गर्दा नागरिकको सुरक्षाको ख्याल गर्नुपर्छ
कमल श्रेष्ठ, प्रमुख, आयोजना कार्यान्वयन निर्देशनालय
बर्खाको वेला काम गर्दा जोखिम धेरै हुन्छ । निर्माण भइरहेको वेला सचेत गराउनुपर्छ । जसले काम गर्ने हो उसले सावधानी गराउनुपर्छ । काम भइरहेको ठाउँमा संकेत चिह्नहरू राख्नुपर्छ वा त्यो क्षेत्रमा प्रवेश गर्न दिइनुहुन्न । तर, कतिपयले सडकलाई जोखिम बनाएर काम गरिरहेका छन्, यसो गर्नु राम्रो होइन ।
सेफ्टी नअपनाएको भनेर खबर पनि आएको छ
रामबहादुर थापा, प्रमुख, काठमाडौं महानगरपालिका पूर्वाधार महाशाखा
अहिले महानगरअन्तर्गतका ढल निर्माणको काम रोकिएको छ । रोकिएका ठाउँमा हामीले संकेत चिह्न र बोर्ड राख्न भनेका छौँ । कतिपय ठाउँमा सेफ्टी नअपनाएको भनेर खबर पनि आएको छ त्यसतर्फ ध्यान दिन्छौँ ।
खोला पुरेर सडक बनाइयो, सडकमुनिको ढल फुटेर बालकले ज्यान गुमाए
कपनस्थित खहरे खोलाले काठमाडौं महानगरपालिका– ६ र बुढानीलकण्ठ नगरपालिका– १२ को सीमा छुट्याउँछ । विगतमा यसलाई स्थानीय स्यालमती र चुखुँचा पनि भन्थे । ०५६ मा खोला मासेर ४८ इन्चको ह्युमपाइप बिछ्याइयो । त्यसमाथि कालोपत्रे सडक बनाइयो । खोला किनारका जग्गाले सुनको भाउ पायो । केही वर्षमै गगनचुम्बी भवन पनि ठडिए ।
घरको ट्वाइलेटबाट निस्किएका फोहोर ह्युमपाइपमा मिसाइयो । बस्ती बाक्लिएसँगै ह्युमपाइपको ढल सानो भयो । बर्खामा थेग्न नसकेर ढल फुट्न थाल्यो । बागमती प्रदेशअन्तर्गतको सिँचाइ आयोजनाले दुई वर्षदेखि यो सडक ढलान गर्दै छ । आयोजनाले झन्डै करोड रुपैयाँ खर्च गरिसकेको छ । तर, ढलको सुधार अझै भएको छैन । मंगलबार साँझ त्यही ढलमा खसेर अबोध बालक बेपत्ता भए ।
