खाद्यमा छैन खरिदको सुरसार : व्यापारीलाई सस्तोमा धान बेच्दै किसान

आइतबार, १५ कार्तिक, २०८३
डिजिटल संस्करण
  • केन्द्रबाट ३० हजार क्विन्टल धान किन्न कोटा निर्धारण, तिहारपछि खरिद गरिने 

धनगढी- सरकारले यस सिजनका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ सय ६० रुपैयाँ निर्धारण गरेको छ । तर, धनगढी उपमहानगर– १०, घुइयाघाटका रामकिसन रानाले भने सरकारी मूल्यभन्दा ९१० रुपैयाँ कम अर्थात् प्रतिक्विन्टल दुई हजार ७५० रुपैयाँका दरले बेचेका छन् । साढे १५ क्विन्टल मोटा धान गल्ला व्यापारीलाई बुधबार बिक्री गरेको उनले सुनाए ।

यो समस्या रानाको मात्र होइन, हरेक किसानले खेपिरहेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद नगर्दा गल्ला व्यापारीलाई सस्तोमा धान दिनुपरेको छ । अधियाँको डेढ बिघा जमिनमा धान रोपेका उनले हिउँदे बालीका लागि चाहिने खर्च जुटाउनुपर्ने भएकाले खाद्यले खरिद सुरु गर्दासम्म कुर्न नसकिएको बाध्यता सुनाए । ‘केही समय कुरेको भए बढी मूल्य पाइन्थ्यो । तर, गहुँ बालीका लागि अहिले मल, बिउ किन्नुपर्छ । घर खर्च पनि चाहिएको थियो,’ धनगढी– ८ स्थित एक गल्लामा धान बिक्री गरिरहेका रानाले भने, ‘मिहिनेत र लगानीअनुसार धानमा फाइदा आएन ।’

धान उत्पादनको भण्डारका रूपमा रहेको कैलालीमा अहिले मोटा धान प्रतिक्विन्टल न्यूनतम दुई हजार ७०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समयमै धान खरिद सुरु नगर्नाले सरकारले तोकेको मूल्य पाउन नसकेको किसान बताउँछन् । त्यही कारण धानको मूल्यमा व्यापारी र बिचौलिया हाबी हुने गरेको उनीहरूको भनाइ छ ।

खाद्यले हरेक वर्ष कैलालीका विभिन्न ठाउँमा खरिद केन्द्र राखेर किसानबाट निश्चित कोटा धान खरिद गर्ने गर्छ । प्रतिस्पर्धा हुने भएकाले खाद्यले खरिद सुरु गरेपछि गल्ला व्यापारीले पनि मूल्य बढाएर धान खरिद गर्छन् ।

सरकारले खरिदमा ढिलाइ गर्ने भएकाले विगत वर्षजस्तै यस वर्ष पनि धान भिœयाउने वेला न्यूनतम मूल्य लागू नभएको धनगढीका अर्का किसान हरेन्द्र थारूले बताए । सरकारले धानको गुणस्तर र मूल्य तोकिदिएर त्यसलाई कार्यान्वयन गर्नुपर्ने उनको माग छ । भण्डारण गरेर राख्ने समस्या, चाडपर्व मनाउने र हिउँदे बालीका लागि खर्च जुटाउनुपर्ने बाध्यताले खाद्यले खरिद सुरु गर्नुअघि धेरैजसो किसानले व्यापारीलाई सस्तो मूल्यमा धान बिक्री गर्ने गरेको थारूले बताए । ‘सरकारले मूल्य मात्र तोक्छ । समयमा खरिद नगर्दा मूल्य पाउँदैनौँ,’ थारूले भने, ‘बाली लगाउन पनि सजिलो छैन, मल खोज्नै सास्ती हुन्छ ।’

गल्ला व्यापारी भने तत्कालै थ्रेसिङ गरेको धानको गुणस्तर कम हुने भएकाले अहिले मूल्य पनि कम रहेको तर्क गर्छन् । भर्खरै भिœयाएको धान राम्ररी नसुकेको र चिस्यान बढी हुने गरेको धनगढीका एक गल्ला व्यापारीले बताए । उनका अनुसार भिœयाउनेबित्तिकैको धान राम्ररी सुकेको हुँदैन, चिस्यान बढी हुन्छ । ‘थ्रेसिङ गरेर सिधै ल्याएको धान राम्ररी सुकेको हुँदैन । माटोको धुलो, फोहोर, चामल नभएको धान मिसिएको हुने भएकाले सरकारले तोकेको मूल्यमा खरिद गर्दा घाटा हुन्छ,’ ती व्यापारीले भने, ‘किसानले केही पर्खेर राम्ररी सुकाइ, सफा गरेर ल्याए हामी पनि सरकारले तोकेकै मूल्य दिन्छौँ ।’

केन्द्रबाट ३० हजार क्विन्टल धान किन्न कोटा निर्धारण, तिहार पछि खरिद गरिने 
कैलालीमा ३० हजार क्विन्टल धान खरिदका लागि केन्द्रबाट शुक्रबार कोटा निर्धारण भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख दीपक थापाले बताए । तर, जिल्ला दररेट समितिको बैठक बस्न बाँकी रहेको र चाडपर्व पनि नजिकै आइसकेकाले अब सम्भवतः तिहारपछि खरिद प्रक्रिया अगाडि बढ्ने उनले बताए ।  कैलालीमा ६० हजार क्विन्टल धान खरिदको प्रस्ताव प्रदेश कार्यालयले केन्द्रमा पठाएको थियो ।

गत वर्ष ११ कात्तिकबाट कैलालीमा धान खरिद सुरु गरिएकोमा यस वर्ष दसैँ ढिला पर्नु, पानी परेकाले किसानले धान भिœयाउन ढिला हुनुले पनि खरिदमा ढिलाइ भएको उनले बताए । खाद्यले खरिद गर्ने धानमा चिस्यान नभएको, फोहोरलगायत अन्य वस्तु नमिसिएको, नकाटिएकोलगायत निश्चित गुणस्तर तोकिएको हुन्छ । भिœयाउने वेलाको धानमा ती गुणस्तर नपुग्ने भएकाले पनि खरिदमा केही ढिलो हुने गरेको खाद्यका कर्मचारी बताउँछन् । खाद्यले खरिद सुरु गरेपछि बिक्रीका लागि खाद्यका खरिद केन्द्रमा किसानको भिड लाग्ने गर्छ । गत वर्ष टीकापुर, सत्ती, मोहनपुरलगायत खरिद केन्द्रमा धान बिक्री गर्न किसानले तीन–चार दिन पालो कुर्नुपरेको थियो । खाद्यले ६ वटा खरिद केन्द्र सञ्चालनमा ल्याएको थियो ।

खाद्यले गत वर्ष कैलालीमा ३५ हजार क्विन्टल धान खरिदको कोटा निर्धारण गरेको थियो । तर, किसानको भिड बढेपछि गत वर्ष निर्धारित कोटाभन्दा बढी ३८ हजार ९४९ क्विन्टल धान खरिद गरिएको प्रादेशिक प्रमुख थापाले बताए । खाद्यले यहाँ खरिद गरेको धान कुटेर सुदूरपश्चिमका पहाडी जिल्लासँगै कर्णालीका विभिन्न जिल्लामा चामल पठाउने गरेको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार यहाँ करिब साढे ६३ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको छ भने उत्पादकत्व प्रतिहेक्टर ४.७ टन छ । 


 

सुझावित समाचार