सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै गएपछि पर्यटकीय गन्तव्यहरू आन्तरिक पर्यटकले भरिभराउ हुन थालेका छन् । कोभिडको कहर कम हुँदै गएसँगै उकुसमुकुस भएर बसेका नेपालीहरू घुमफिरमा निस्कन थालेका हुन् । लामो समयदेखि खाली रहेका होटेलका कोठाहरूको ‘अकुपेन्सी’ बढ्दै गइरहेको व्यवसायी बताउँछन् ।
शनिबार र आइतबार लगातार दुई दिन बिदा भएपछि नगरकोट, धुलिखेल, पोखरा, सराङकोट, सौराहा, लुम्बिनी, भोटेकोसी किनार, दामन, बन्दिपुर, कुश्माको बन्जी, धुलिखेल जिपलाइनलगायतका पर्यटकीय क्षेत्रहरूमा चहलपहल बढेको स्थानीय व्यवसायीले बताए । कतिपय ठाउँका होटेलमा कोठा पाउनसमेत मुस्किल पर्न थालिसकेको छ ।
काठमाडौंबाट नजिकै रहेको नगरकोटको क्लब हिमालयमा शुक्रबार र शनिबार कोठा पाउन मुस्किल छ । ‘अहिले विकेन्डमा राम्रो भइरहेको छ, हाम्रा ६८ वटा कोठाहरू सबै भरिन्छन्,’ क्लब हिमालयकी प्रबन्धक क्षितिज मास्केले भनिन्, ‘विकेन्डको एक–दुई दिनअगाडि नै सबै कोठाहरू सोल्ड आउट हुन थालेका छन् ।’
बिदाबाहेकका दिनमा पनि क्लब हिमालयमा २०–२५ कोठा गइरहेको उनले बताइन् । उनी थप्छिन्, ‘हाम्रोमा कर्पोरेटदेखि परिवार र साथीहरूसँग आउने पाहुनाहरू धेरै हुनुहुन्छ ।’ नगरकोटमा शुक्रबार र शनिबार पहिल्यै बुकिङ नगरे कोठा नपाइने अवस्था आइसकेको व्यवसायी बताउँछन् । शुक्रबार भक्तपुरको तेलकोटदेखि नै नगरकोटतिर हुइँकिएका गाडी र बाइक बाक्लै देखिन्छन् ।
कुनै समय विदेशी पर्यटकको भर पर्नुपर्ने पोखरा अहिले आन्तरिक पर्यटकले नै धानिन थालिसकेको छ । गत सातादेखि लकडाउन खुकुलो भएसँगै पर्यटकीय गतिविधि पनि बढ्न थालेको होटेल एसोसिएसन अफ नेपाल (हान), पोखराका अध्यक्ष विकल तुलाचनले बताए ।
अहिले पोखरामा दसैँअगाडि सक्नैपर्ने बैंक तथा वित्तीय संस्थाका साधारणसभा, कर्पोरेट, एनजिओ तथा आइएनजिओका मिटिङ, सेमिनार, बैठकहरू बाक्लिएका छन् । ‘पोखराका ठूला होटेलमा मिटिङ, सेमिनार र साधारणसभाले चाप बढेको छ,’ उनले भने, ‘तर, अझै पनि कोभिडको डर, खराब मौसम, दर्दनाक सडकलगायत कारणले सर्वसाधारण निर्बाध रूपमा घुमफिरमा निस्कन सकेका छैनन्, जसकारण साना पर्यटकीय होटेलहरू अझै पनि खाली नै छन् ।’
कास्कीको चर्चित रूपाकोट रिसोर्टका सञ्चालक पुष्पहरि अधिकारी पनि बिस्तारै आन्तरिक पर्यटक आउन थालेको बताउँछन् । ‘निषेधाज्ञापछि खुलेका होटेलमा आन्तरिक पर्यटकले नै ३०–३५ प्रतिशत अकुपेन्सी हुन थालेको छ,’ उनले भने, ‘बाह्य पर्यटक आउन पक्कै समय लाग्ला, बिस्तारै आन्तरिक पर्यटक घुम्न–निस्कन थालेका छन् ।’
अहिले पोखरा, सौराहालगायतका गन्तव्यमा पहिरोका कारण आन्तरिक पर्यटक सडकमार्फत निस्कन डराइरहेका छन् । तर, जहाजमा यात्रा गर्नेहरू भने बढ्न थालेका छन् । सोही कारण पोखरालाई आधार बनाएर बुद्ध एयरले चितवन, सिमरा, भैरहवा, नेपालगन्जलगायत ठाउँमा प्रादेशिक उडान गरिरहेको छ । ‘शुक्रबार र शनिबार दुई दिन बिदा हुँदा पोखरामा चहलपहल बाक्लिएको छ, रात्रिकालीन व्यवसाय पनि खुल्न थालेका छन्,’ तुलाचनले भने, ‘कोभिड मत्थर भएर आन्तरिक पर्यटकीय गतिविधि बढ्नु पक्कै राम्रो संकेत हो ।’ उनका अनुसार अहिले ठूला होटेलमा ७०–८० प्रतिशतसम्म र साना होटेलमा २०–२५ प्रतिशतसम्म अकुपेन्सी हुन थालेको छ ।
निषेधाज्ञा खुकुलो भएसँगै सौराहामा आन्तरिक पर्यटक बढ्दै गइरहेको क्षेत्रीय होटेल संघ चितवनका पूर्वअध्यक्ष सुमन घिमिरेले बताए । ‘हरेक हप्ता पर्यटक आगमन इम्प्रुभ हुँदै गइरहेको छ, नेपालमा पनि विकेन्ड वा बिदाका दिनमा घुम्न निस्कने संस्कृति बढेको छ,’ उनले भने, ‘शुक्रबार र शनिबार बिदा हुँदा सौराहाका होटेलमा अकुपेन्सी दर करिब ४०–५० प्रतिशत पुग्यो ।’ मुग्लिन–नारायणगढ सडकको दर्दनाक अवस्थाका कारण अझै पनि सडकबाट यात्रा गर्ने पर्यटक सौराहा पुग्न सकिरहेका छैनन् । उनी थप्छन्, ‘अझै मौसम सफा भएको छैन, बुटवल–नारायणगढ र नारायणगढ–मुग्लिन सडक दर्दनाक छ ।’
काठमाडौंबाट नजिकै रहेको धुलिखेलमा पनि आन्तरिक पर्यटकको भिड लाग्न थालिसकेको छ । धुलिखेलको जिपलाइनमा आन्तरिक पर्यटक बढ्दै जान थालेको सञ्चालक भूपेश श्रेष्ठले बताए । ‘धुलिखेलमा आन्तरिक पर्यटक बढ्दै जान थालेपछि जिपलाइनमा पनि आकर्षण बढ्दै छ,’ उनले भने, ‘अहिले सामान्य समयको तुलनामा ३५–४० प्रतिशत मान्छे जिपलाइनको मज्जा लिन आउन थालिसकेका छन् ।’
विश्वकै दोस्रो अग्लो बन्जी कुश्मामा पनि बिदाका दिन बन्ज गर्न आउनेको संख्या बढिसकेको द क्लिफका सञ्चालक राजु कार्कीले बताए । ‘अरू दिनमा अझै पनि बन्जी गर्न आउने मान्छे कम हुनुहुन्छ, तर बिदाका दिनमा ५०–६० जनाले बन्जी–स्विङ गर्न थालिसक्नुभएको छ ।’ मौसम खराबीले सडकमा ठाउँ–ठाउँमा पहिरो गएपछि मान्छे अझै निष्फिक्री भएर घुम्न निस्कन नसकेको उनको भनाइ छ । शुक्रबार, शनिबार र आइतबार दिनकै ५०–६० जनाले बन्जी गरेको उनले बताए । दी क्लिफले बन्जी, स्विङ, गुलेली पिङ, फेमिली पिङ, स्काई चियर, क्रेजी ब्रिजलगायत आकर्षक पर्यटकीय गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।
छैनन् विदेशी पर्यटक
सरकारले विदेशी पर्यटकलाई खुला नगरेका कारण आन्तरिक पर्यटन जुर्मुराउन थाले पनि विदेशी पर्यटक भने निकै कम देखिन्छन् । हान पोखराका अध्यक्ष तुलाचनका अनुसार विदेशीको इन्क्वायरी आउन थालिसकेको छ, तर बुकिङ सुरु भइसकेको छैन । उनी भन्छन्, ‘विदेशीले अहिले नेपालमा अवस्था कस्तो छ, कहिलेदेखि घुमफिरका लागि खुला हुन्छ भनेर सोध्न थालेका छन् ।’
पर्यटन व्यवसायीहरूले कोभिड महामारीपछि लगाइएका प्रतिबन्ध हटाउँदै पर्यटन क्षेत्र खुला गर्न माग गरिरहेका छन् । कोभिड संक्रमण फैलिन कम हुँदै गएको र अग्रपंक्तिमा खटिने पर्यटनकर्मीहरूले पनि डबल डोज भ्याक्सिन लगाइसकेको हुनाले पर्यटक आवागमन सहज बनाउनुपर्ने व्यवसायीको माग छ ।
नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख दीपकराज जोशीको टोलीले गरेको एक अध्ययनले नेपालका मुख्य पर्यटकीय गन्तव्यहरूमा काम गर्ने ९५ प्रतिशतभन्दा बढी कर्मचारीले पूर्ण डोज खोप लगाइसकेका छन् । उनी भन्छन्, ‘अब जतिसक्दो चाँडै पर्यटन क्षेत्र खुला गरेर पर्यटकीय गतिविधि चलायमान बनाउनुपर्छ ।’ पर्यटन व्यवसायीहरूले डबल डोज खोप लगाएका भारतीय नागरिकलाई छिटोभन्दा छिटो नेपाल भ्रमणका लागि खुला गर्नुपर्ने बताउँदै आएका छन् । भारतीय पर्यटक घुमफिरका लागि आउन थालेपछि पर्यटन क्षेत्र लयमा फर्किंदै जाने व्यवसायीको विश्वास छ ।
आन्तरिक उडानमा खचाखच यात्रु
निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक उडानमा यात्रु भरिभराउ हुन थालेका छन् । बुद्ध एयरले विभिन्न गन्तव्यमा दैनिक एक सय ४२ उडान गरिरहेको छ, जसमा करिब ९५ प्रतिशत अकुपेन्सी रहेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले बताए । अहिले बुद्धले दैनिक आठ हजारभन्दा बढी यात्रु बोकिरहेको छ । ‘अझै चाडपर्व आउन बाँकी छ, अहिले नै दुईतर्फी उडानमै अकुपेन्सी राम्रो छ,’ उनले भने, ‘चाडपर्व आएपछि फुल अकुपेन्सी हुनेमा कुनै शंका रहेन ।’
पर्यटकीय सहर पोखरामा बुद्धले दैनिक १२–१३ वटा फुल अकुपेन्सीमा उडान गरिरहेको उनले बताए । बुद्धले पोखरामा काठमाडौंबाट दैनिक नौवटा र भैरहवा, नेपालगन्ज, चितवन र सिमराबाट एक–एकवटा उडान गरिरहेको छ । बुद्ध एयरले कोभिडकै बीचमा पोखराबाट नेपालगन्ज र सिमरा तथा चितवन–भैरहवा उडान विस्तार गरेको छ ।
यती एयरलाइन्सले पोखरामा फुल अकुपेन्सीमा दैनिक चारवटा उडान गरिरहेको यतीका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । अहिले यती एयरलाइन्सले दैनिक अप–डाउन गरेर ४२ वटा उडान गरिरहेको छ, जसमा दुईतर्फी उडानमै ९० देखि ९५ प्रतिशतसम्म अकुपेन्सी हुने गरेको छ । उनी भन्छन्, ‘कतिपय उडानमा फुल अकुपेन्सी भएर टिकट नै नपाउने अवस्था हुन्छ ।’