धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार झिनो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.२७ बिन्दुले उकालो लागेर दुई हजार नौ सय ४७.६९ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ ०.५५ बिन्दुले बढेर पाँच सय ४८.८७ मा पुगेको छ।
आज २२६ कम्पनीका एक करोड ५६ लाख ८१ हजार १८४ कित्ता सेयर नौ अर्ब २९ करोड पाँच लाख ५४ हजार १५५ रुपैयाँमा खरिद बिक्री भए। सोमबारको कारोबारपछि बजार पुँजीकरण ४१ खर्ब २५ अर्ब ४६ करोड ८६ लाख ४० हजार रुपैयाँबराबर पुगेको छ।
कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको सेयर उकालो लागेको छ भने ६ उपसमूहको सेयर ओरालो लागेको छ। बैंकिङ १६.८१, व्यापार २९.५३, होटल तथा पर्यटन ४.१३, विकास बैंक ४.३५, वित्त २.५, निर्जीवन बिमा १९८.८६ र जीवन बिमा ८५.८४ बिन्दुले बढेको छ। यस्तै, जलविद्युत् ९०.५६, उत्पादन ९३.८, अन्य ८.१७, लघुवित्त ३१.०४, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.६४ बिन्दुले घटेको छ।
कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६१ करोड ९३ लाख ५० हजार ७९३ रुपैयाँबराबरको कारोबार भयो। युनाइटेड मोदी हाइड्रोपावर ४७ करोड ५७ लाख ७४ हजार ५८३ रुपैयाँ, नेसनल हाइड्रोपावर ३४ करोड ३० लाख १५ हजार ९७० रुपैयाँ, नबिल बैंक ३० करोड ७३ लाख ५६ हजार ७८२ रुपैयाँ र अपी पावर २८ करोड ३५ करोड ५४ हजार ४५५ रुपैयाँबराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ।
नेप्सेमा अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, सानिमा लाइफ इन्स्योरेन्सको सेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावर ४.१६ र एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरधनीले ४.०७ प्रतिशतले कमाए। त्यस्तै, कालिका पावर कम्पनी ६.४७, रैराङ हाइड्रोपावर ५.६२, ग्रिनलाइफ इन्स्योरेन्स ५.३६, युनिभर्सल पावर ५.१३ र माउन्टेन हाइड्रो नेपालका सेयरधनीले ५.०४ प्रतिशतले गुमाए। रासस