कैद सजाय भुक्तान गरिरहेका दुई सैनिक जेलमुक्त हुन सक्ने

शुक्रबार, १८ भदौ, २०७८
डिजिटल संस्करण

भरत गुरुङको हत्यामा संलग्न गंगाधर ढकालले चितवनस्थित कालीबहादुर गणबाट ‘केआर १००७९२’ नामको एसएमजी (सर्ट मेसिनगन) चोरीमा आफ्नो मात्रै संलग्नता रहेको स्वीकार गरेपछि कैद सजाय भुक्तान गरिरहेका अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङले न्याय पाउने सम्भावना बढेको छ ।

सैनिक मुख्यालयमा बिहीबार बसेको विशेष सैनिक अदालत लवकुमार र सरोजको पक्षमा सकारात्मक रहेको सैनिक स्रोतले जानकारी दिएको छ । भरतको हत्यामा संलग्न ढकालले कालीबहादुर गणबाट हतियार चोरी गरेको स्वीकार गरेको र छानबिनका क्रममा प्राप्त प्रतिवेदनले पनि त्यही देखाएको हुँदा अदालतको फैसला लवकुमार र सरोजको पक्षमा रहेको सैनिक स्रोतको दाबी छ । 

बिहीबार दिउँसो ३ बजे उच्च अदालत पाटनका न्यायाधीश लोहती चन्द शाहको संयोजकत्वमा सैनिक विशेष अदालत बसेको थियो । अदालतमा सदस्यका रूपमा रक्षा मन्त्रालयका सचिव बेगेन्द्रराज शर्मा पौडेल र उपरथी रत्नशमशेर थापा रहेका थिए । अदालतमा प्राप्त प्रमाणका आधारमा बहस भएको थियो । तर, अदालतले फैसला शुक्रबार मात्रै सार्वजनिक गर्ने जानकारी दिएको छ । 

‘केआर १००७९२’ हतियार चोरी गरेको अभियोगमा सैनिक अदालतले अमल्दार लवकुमार र सरोजलाई दोषी ठहर्याएको थियो । उनीहरू २८ महिनादेखि चितवनस्थित सैनिक कारागारमा सजाय भुक्तान गरिरहेका छन् । कसुर प्रमाणित गर्दै सैनिक अदालतले लवकुमारविरुद्ध १० र सरोजविरुद्ध सात वर्ष कैद सजयको फैसला गरेको थियो । उनीहरूसँगै पक्राउ परेका अर्का सिपाही सुबी गुरुङविरुद्ध भने तीन महिना कैद र जागिरबाट बर्खास्त हुनै फैसला अदालतले गरेको थियो । 

हतियार चोरीमा लवकुमार र सरोज संलग्न नभई ढकाल रहेको तथ्य बाहिरिएपछि पीडितका आफन्तले सेनासमक्ष हारगुहार गरेका थिए । सोही आधारमा सेनाले घटनाको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।

See More On

सुझावित समाचार