सेयर बजारमा भारी गिरावट : १३ अर्बको कारोबार, १३ वटै समूह नकारात्मक
सेयर बजार परिसूचकमा भारी गिरावट आएको छ । नेप्सेमा गिरावटसँगै कारोबार रकममा पनि कमी आएको हो । मंगलबार नेप्से ६९ दशमलव ५ अंकले घटेर दुई हजार नौ सय ७५ दशमलव ८४ बिन्दुमा पुुगेर बन्द भएको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स १२ दशमलव ३४ अंकले घटेर पाँच सय ५० दशमलव ५२ बिन्दुमा पुगेको छ ।
नेप्सेमा गिरावट आएसँगै लगानीकर्ता मंगलबार पनि ‘पर्ख र हेर’को अवस्थामै रहे । जसका कारण सेयर खरिद–बिक्रीमा कमी आएको छ । पछिल्लो समय सेयर बजार करेक्सन हुनुमा लगानीकर्ताले १२ करोड रुपैयाँभन्दा बढी कर्जा लिन नपाउने व्यवस्थालाई पनि हेरेका छन् । यसअघि १२ करोड रुपैयाँभन्दा बढी कर्जा लिएर सेयर कारोबार गर्दै आएका लगानीकर्ताका लागि नवीकरणसँगै तोकिएको सीमामा ल्याउनका लागि सेयर बेच्नुपर्ने बाध्यात्मक अवस्था आइपरेको छ । जसले गर्दा पछिल्लो समय बजारमा भारी करेक्सन हुन पुगेको विश्लेषकहरू बताउँछन् ।
नेप्सेमा गिरावट आएसँगै सेयर खरिद–बिक्रीमा पनि कमी आएको छ । मंगलबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २७ कम्पनीको दुई करोड ३१ लाख कित्ता सेयर किनबेच हुँदा १३ अर्ब २६ करोड रुपैयाँको काराबोर भएको छ । सो दिन सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर कम्पनी रहेको छ । अरुण भ्यालीको एक अर्ब एक करोड पाँच लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिस्टिलरीको ४९ करोड २३ लाख रुपैयाँ, अपि पावरको २९ करोड ७८ लाख रुपैयाँ, नेपाल बैंक लिमिटेडको २९ करोड ७४ लाख रुपैयाँ, गुडविल फाइनान्सको २९ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ ।
मंगलबार कारोबारमा आएका १३ वटै समूहका सूचक नकारात्मक बनेका छन् । विकास बैंक, जलविद्युत्, फाइनान्स, जीवन बिमा, निर्जीवन बिमा समूहको सूचकमा उच्च गिरावट आएको हो ।
यस दिन सबैभन्दा धेरै घट्ने कम्पनीमा रुरु जलविद्युत् रहेको छ । रुरुको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा कारोबार भएको हो । त्यसैगरी, माउन्टेन हाइड्रो नेपाल, हिमालयन ऊर्जा विकास कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था, घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । माउन्टेन इनर्जी, रिडी हाइड्रोपावर डेभलपमेन्ट, ग्रिन लाइफ हाइड्रोपावर, सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ता सो दिन निराश बनेका छन् ।
मंगलबार २८ वटा कम्पनीको सेयरमा मात्र हरियाली छाएको छ । कर्णाली डेभलपमेन्ट बैंक, मनकामना लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, नागरिक सामूहिक फन्डका लगानीकर्ता भने नाफा कमाउन सफल भएका छन् ।