- दुहुँ र महाकालीका बस्ती पहिरोको जोखिममा, निजाङगाडको मोटरेबल पुल बगाएपछि खलंगासँग सम्पर्कविच्छेद
- मान्छे जोगियौँ, सम्पत्ति जोगाउन सकेनौँ : देवबहादुर बम, स्थानीय
दुई दिनदेखिको निरन्तर वर्षापछि आएको बाढीपहिरोमा परी दार्चुलाको दुहुँ गाउँपालिकामा तीनजनाको मृत्यु भएको छ । दुईजना बेपत्ता भएका छन् । राति सुतिरहेको अवस्थामा खसेको पहिरोले घर पुरिँदा दुहुँ गाउँपालिका– १ बासपालिकाका नरसिंह महर र उनकी श्रीमती कौशाको मृत्यु भएको हो । त्यस्तै, दुहुँकै ५ नम्बर वडा दुल्लामा राति नै पहिरोसहितको बाढी घरमा पसेपछि मनुवा डडालको मृत्यु भएको छ ।
सुतिरहेका वेला पसेको बाढीपहिरोमा परी उनकी श्रीमती उजली घाइते भएको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताए । उजली र सोही ठाउँका अर्का घाइते जनकराम कामीलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि धनगढी लगिएको छ ।
दुहुँ– ३ मा निजाङगाड खोलामा आएको बाढीले बगाउँदा स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएका छन् । वडाध्यक्ष लालबहादुर बमका अनुसार घट्ट गएका उनीहरूलाई खोलाले बगाएको हो ।
बस्ती पहिरोको जोखिममा, निजाङगाडको मोटरेबल पुल बगाएपछि खलंगासँग सम्पर्कविच्छेद
दुहुँ– १ को पिपलचौरीमा दुईवटा घर पहिरोले पूर्ण क्षतिग्रस्त भएको छ । २५ भन्दा बढी घर पहिरोको जोखिममा छन् । जोखिम बस्तीका नागरिकलाई सेनाको हेलिकोप्टरमार्फत ८० थान त्रिपाल ल्याएर वितरण गरिएको गाउँपालिका अध्यक्ष कार्कीले जानकारी दिए । उनका अनुसार दुहुँ– ३ को श्रीवगडमा निजाङगाड खोलाले पूर्णबहादुर बम, नरेन्द्रबहादुर बम, दीपक बम, रणबहादुर बम, धीरेन्द्र बम, शेरबहादुर बमको घर बगाएको छ ।
त्यस्तै, दुहुँ– ५ को सुत्खोला, सिमार, नसली, बत्थोलीलगायतका क्षेत्रका झन्डै एक सय घर बाढीपहिरोको उच्च जोखिममा छन् । खोला छेउछाउका अधिकांश बस्ती जोखिममा छन् । उनीहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । महाकाली नगरपालिका– १ को श्रीवगडमा देवबहादुर बम, अमरबहादुर बम, सुन्दरबहादुर बम र जितबहादुर बमको होटेल तथा पसल बगाएको छ ।
दुहुँमा सदरमुकाम खलंगासँगको सडक सम्पर्कविच्छेद भएको छ । सदरमुकाम खलंगा हुँदै दुहुँ गाउँपालिका र व्यास गाउँपालिका जोड्ने दार्चुला–तिंकर सडकखण्डमा पर्ने निजाङगाड खोलामा रहेको मोटरेबल पुल बगाएपछि सम्पर्कविच्छेद भएको हो । दुहुँका पाँचवटा झोलुंगे पुल पनि बगाएको छ ।

दुहुँकै तीनवटा लघुजलविद्युत्मा क्षति पुगेको छ । वडा नम्बर २ को सिमार खोला १८ किलोवाट, वडा नम्बर ५ को कालागाड ३४ किलोवाट र कालागाड दोस्रो ४० किलोवाट जलविद्युत्मा क्षति पुगेको स्थानीय लोकेन्द्रबहादुर बमले जानकारी दिए ।
निजाङगाड खोलानजिकै रहेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको रेन्जपोस्ट भवनको आधा भाग बगाएको छ । महाकाली नगरपालिका– १ श्रीवगड क्षेत्रमा मात्र ११ वटा घर बाढीले ध्वस्त बनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टले बताए । श्रीवगडमै रहेको राजेन्द्र निर्माण सेवाको एक्स्काभेटर, जेनेरेटर, मिक्स्चर भाइब्रेटरलगायतमा क्षति पुगेको छ ।
निजाङगाड खोलाले खानेपानीको मुहान र पाइपसमेत बगाएपछि श्रीवगड क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । वानाला खानेपानी आयोजनाबाट महाकाली– १ र दुहुँ– ३ को सीमाक्षेत्र श्रीवगडमा खानेपानी ल्याइएको थियो । महाकालीतर्फ श्रीवगडमा ४० र दुहुँतर्फ श्रीवगडमा १५ परिवार बस्दै आएका छन् । अहिले गाउँमा खानेपानी नभएपछि समस्या भएको स्थानीय मानबहादुर बमले बताए । ‘खानेपानी नहुँदा खाना पाएका छैनौँ, रातभर जंगलमा गएर बस्यौँ,’ उनले भने । उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटीले बाढीपहिरोपीडित २३ परिवारलाई राहत सामग्री वितरण गरेको जनाएको छ ।
मान्छे जोगियौँ, सम्पत्ति जोगाउन सकेनौँ : देवबहादुर बम, स्थानीय
स्थानीय देवबहादुर बमले ०६५ मा महाकाली नगरपालिका– १ श्रीवगडमा होटेल खोलेका थिए । दुहुँ र व्यासका नागरिक आवतजावत गर्दा उनकै होटेलमा खाजा–नास्ता खाएर जान्थे । भर्खरै मात्र दार्चुला–तिंकर सडकको नजाङमा पक्की पुल बनेको थियो । ‘पक्की पुलछेउमै होटेल राम्रो चलेको थियो । आइतबार राति गौरा पर्व मनाउँदै सपरिवार होटेलमै थिएँ । दिउँसभरि घाम लागेको थियो । राति हल्का पानी परे पनि बगाउने गरी निजाङगाड खोला आउला भनेर कसैले कल्पनासमेत गरेका थिएनन्,’ देवबहादुर बमले भने, ‘तर, बिहान २ बजेपछि खोला एकाएक होटेलभित्र पस्यो । होटेलबाट सबै निस्कन सक्यौँ, तर कमाएको जायजेथा सम्पत्ति केही बचाउन सकिएन । मान्छे बचाउने कि सम्पत्ति भनेर सोच्न सकेनौँ ।’
दुईवटा पसलमा झन्डै ४०–४५ लाख रुपैयाँ लगानी रहेको उनले बताए । उनका अनुसार होटेलमा दुई सय २० थान भरिएका सिलिन्डर ग्यास थियो । सोमबार बिहान प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको नेतृत्वमा सुरक्षाकर्मी पुग्दा सर्वसाधारण बाढीस्थल पुगेका थिए । त्यहीँ देवबहादुर र पत्नी मानमती बम पनि थिए । खोलाछेउबाटै आफ्नो बगेको होटेल हेर्दै मानमती रुँदै थिइन् । ‘जे कमाएका थियौँ, सबै बाढीले बगायो । सम्पत्ति सबै सकियो,’ उनले भनिन् ।
अपि हिमाल गाउँपालिकामा पनि तीनवटा पुल बगायो, अपर चमेलिया जनविद्युतमा क्षति
अपि हिमाल गाउँपालिकामा बाढीले तीनवटा पुल बगाएको छ । आइतबार राति आएको अविरल वर्षाका कारण वडा नम्बर १ र ६ मा पुल बगाएको हो । रिगुर खोलामा आएको बाढीका कारण ककनाडी र चौकीबगडमा रहेको झोलुंगे पुल बगाएको वडाअध्यक्ष गामसिंह धामीले जानकारी दिए । पुल बगाएपछि आवतजावतमा समस्या भएको छ ।
त्यस्तै, अपि पावर कम्पनीले निर्माण गरिरहेको माथिल्लो चमेलियाको ड्यामसाइटमा चमेलिया नदीले क्षति पुर्याएको छ । निर्माणाधीन ४० मेगावट क्षमताको जलविद्युत्को ड्याम क्षेत्रमा बाढीले क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । अपि गाउँपालिकाको ओखलनजिकै निर्माण भइरहेको ड्याम क्षेत्रमा पूरै बालुवा–माटो भरिएको छ । यस्तै, निर्माणस्थलमा रहेका एक्स्काभेटर, ट्र्याक्टर र निर्माण सामग्रीमा क्षति पुगेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।