नेपाली कांग्रेसमा क्रियाशील सदस्यको संख्या साढे आठ लाख नाघेको छ। केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले मंगलबार सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनअनुसार कांग्रेसमा क्रियाशील सदस्यको संख्या आठ लाख ५२ हजार सात सय ११ पुगेको हो । कांग्रेसले १४औँ महाधिवेशनका लागि गएको महाधिवेशनमा भएको क्रियाशीलको संख्यालाई दोब्बर बनाउने निर्णय गरेको थियो। यसअघि १३औँ महाधिवेशनमा चार लाख ७० हजार सदस्य मात्रै थिए।
केन्द्रीय सदस्य रमेश लेखक सयोजकत्वको छानबिन समितिले सप्तरी, बारा, रसुवा र सिन्धुपाल्चोकका नयाँ सदस्यतालाई आगामी महाधिवेशनका लागि स्थगित गरेर ७३ जिल्लाको विवरण बुझाएको हो। तर, छानबिनका लागि आवश्यक पर्ने सक्कल कागजात प्राप्त नभएको र छानबिनको काम पूर्ण नभएको भन्दै सदस्य कल्याणकुमार गुरुङले भने फरक मत राखेका छन्। समितिले सबै निर्णयहरू सर्वसम्मत रूपमा निर्णय गर्ने र सर्वसम्मत नभए त्यस्ता विवादलाई अर्को महाधिवेशनका लागि स्थगित गर्ने मापदण्ड बनाएको थियो।
गुरुङको नोट अफ डिसेन्टका बीच समितिले सभापतिसमक्ष प्रतिवेदन बुझाएको हो। अब पदाधिकारी र पूर्वपदाधिकारीहरूले समितिले बुझाएका विवादका विषयहरूमा थप छलफल गरेर सदस्यता अर्थात् पार्टीको अधिवेशनका मतदाताको टुंगो लगाउनेछ।
प्रतिवेदनमा उल्लेख भएअनुसार चार लाख ४३ हजार ६ सय ७८ जना नयाँ सदस्य थपिएका छन् भने चार लाख नौ हजारको नवीकरण भएको छ। लिंगका आधारमा हेर्दा कांग्रेस क्रियाशील सदस्यतामा पुरुषको वर्चस्व छ। ७४.२६ प्रतिशत पुरुषले क्रियाशील सदस्यता पाउँदा २२.६२ महिला र अन्य ०.०२ प्रतिशतले सदस्यता पाएका छन्। ६ लाख ५३ हजार चार सय ३८ सदस्य पुरुष र एक लाख ९९ हजार ९७ जना महिला सदस्य छन्। यस्तै, एक सय ७६ जना अन्यले क्रियाशील सदस्यता पाएका छन्।
सबैभन्दा बढी ४१ देखि ६० वर्ष उमेर समूहका
कांग्रेसको नेतृत्वमा अधिकांश पाका नेताहरूले दाबी गरिरहेका छन्। अर्थात्, ६० नाघेका नेताहरू हाबी छन्। पदाधिकारीका आकांक्षी पनि पाका उमेरकै छन्। तर, क्रियाशील सदस्यमा भने युवाको वर्चस्व देखिएकोछ । सबैभन्दा बढी ४१ देखि ६० वर्ष उमेर समूहका सदस्य बढी छन्। १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार चार सय २७ जना अर्थात् ४.५९ प्रतिशतले क्रियाशील पाएका छन्।
२६ देखि ४० वर्ष उमेर समूहका दुई लाख २९ हजार सात सय ७४ अर्थात् २८.३८ जनाले सदस्यता पाउँदा ४१ देखि ६० वर्ष उमेर समूहका तीन लाख २८ हजार दुई सय ३४ जना अर्थात् ३७.३० प्रतिशतले सदस्यता पाएका छन्। ६१ देखि ७५ वर्ष उमेर समूहका ८३ हजार १० जना अर्थात् ९.४३ प्रतिशत र ७५ वर्षमाथिका ११ हजार सात सय ८२ जना अर्थात् १.३३ प्रतिशत क्रियाशील सदस्य छन्।
समानुपातिक समावेशी छैन कांग्रेस
क्रियाशील सदस्यताको संख्या हेर्दा कांग्रेसमा जनसंख्याको आधारमा समानुपातिक समावेशी सहभागिता भएको देखिँदैन। खस आर्य समुदायका पुरुषको वर्चस्व रहेको छ। कांग्रेसमा अल्पसंख्यकतर्फ ६ हजार आठ सय २९ जना क्रियाशील छन्। मधेसी ९५ हजार एक सय ४१, मुस्लिम १६ हजार नाै सय ७०, थारू २७ हजार ६ सय १५, अपांगता भएका दुई सय एक, पिछडिएको क्षेत्रबाट १४ हजार नाै सय १४, आदिवासी जनजाति दुई लाख आठ हजार एक सय ५९, खस आर्य तीन लाख ६७ हजार ६ सय ११ र दलित ४५ हजार चार सय १७ जना छन्।
कुन प्रदेशमा कति ?
प्रदेश नम्बर १ मा एक लाख ७४ हजार सात सय ८२ जना क्रियाशील छन्। प्रदेश नम्बर २ मा एक लाख १२ हजार नाै सय ४६, बागमती प्रदेशमा एक लाख ८६ हजार एक सय ४३, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६ सय ३३ जना, लुम्बिनी प्रदेशमा एक लाख ३० हजार आठ सय ८५, कर्णाली प्रदेशमा ५४ हजार पाँच सय ६६ र सुदूरपश्चिम प्रदेशमा ७४ हजार सात सय ५६ जना क्रियाशील छन्।
अझै विवादित क्षेत्र
क्रियाशील सदस्यताबारे विवाद भएका धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २, बारा र सप्तरी जिलाको नयाँ क्रियाशीलबारे छानबिन समितिले निर्णय गर्न सकेको छैन। यी क्षेत्रमा के गर्ने भन्नेबारे आवश्यक निर्णय गर्न शीर्ष नेतालाई समितिले अनुरोध गरेको छ।
क्रियाशील सदस्य नै कांग्रेसको तल्लो तहको अधिवेशनका मतदाता हुन्। क्रियाशील सदस्यमध्येबाट छनाेट भएका क्षेत्रीय अधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशन प्रतिनिधिको चयन गरेर पठाउँछन्। हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट केन्द्रीय महाधिवेशनका लागि सभापतिसहित २५ जना महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ। ती महाधिवेशन प्रतिनिधिले नै केन्द्रको नेतृत्व चयन गर्छन्। त्यही कारण नेताहरूले आफ्नो पक्षमा धेरै क्रियाशील सदस्यहरू थप गर्ने प्रयास गर्ने गर्दछन्। जसका कारण विभिन्न जिल्लामा विवादहरू उत्पन्न हुँदै आएको छ। महाधिवेशनको मुखमा क्रियाशील सदस्यताको विवाद महिनौँसम्म उठ्ने गरेको छ। यसपटक पनि क्रियाशील सदस्यताकै विषयमा केन्द्रीय कार्यालयमा धनुषा र सर्लाहीका चारजना नेताले आमरण अनशन गरिरहेका छन् भने बारालगायत जिल्लाका नेता–कार्यकर्ताहरूले धर्ना दिइरहेका छन्।
क्रियाशील सदस्यताकै कारण मंगलबारबाट सुरु हुने तल्लो तहको अधिवेशन रोकिएको छ। अब छानबिन समितिले प्रतिवेदन बुझाइसकेकाले नयाँ कार्यतालिकाका विषयमा छलफल गर्न बुधबार पुनः पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्ने भएको छ।
भदौमा महाधिवेशन नगरे कांग्रेस वैधानिक संकटमा पर्नेछ। कांग्रेसले १६ देखि १९ भदौमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ।