आगामी आर्थिक वर्षको बजेट पारित गर्ने क्रममा गण्डकी प्रदेश सभाको बुधबारको बैठकमा घम्साघम्सी भएको छ । एमालेका सांसद तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले टेबल उचालेर फालेका छन् ।
चौथोपटक बसेको बैठकमा अर्थ मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली विधेयक पेस गर्न रोस्ट्रमतर्फ जान खोज्दा विपक्षी सांसदले घेरा हालेर रोकेका थिए । घम्साघम्सी हुन थालेपछि सांसद बस्नेतले टेबल उचालेर फालेका हुन् । उनले टेबल फालेको ठाउँभन्दा केही अगाडि सत्तापक्षका चार सांसद थिए । सांसद बस्नेत त्यतिमा मात्र रोकिएनन्, सत्तारुढ सांसदलाई ‘सिंगल–सिंगल’ भिड्न चुनौती दिए ।
घम्साघम्सी चलिरहँदा मुख्यमन्त्रीलाई मर्यादापालकहरूले विपक्षी सांसदको घेराबन्दीबाट छुटाएर रोस्ट्रमतिर पठाए । अवरोधकै बीच सभामुखले मार्सल लगाएपछि सत्तापक्षले बजेट पारित ग¥यो । सत्ता र प्रतिपक्षबीच बुधबारको बैठकमा घम्साघम्सी चले पनि यसको पृष्ठभूमि केही दिनअघि बनेको थियो ।
२९ जेठमा बनेको कृष्णचन्द्र पोखरेल नेपाली नेतृत्वको सरकारले १ असारमा हतारहतार बजेट ल्याउँदा योजनासहितको बजेट पुस्तिका (रातो किताब) तयार पार्न नसकेपछि विवाद सुरु भएको थियो । रातो किताब नभए संसद् अवरुद्ध गर्ने चेतावनी विपक्षी दल एमालेले दिएको थियो । गत १ असारमा प्रस्तुत भएको बजेटमा एकैपटक २७ असारबाट छलफल गर्ने गरी बैठक आह्वान भएको थियो । पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारको पालामा बजेटमा नभएको योजनाका लागि चार अर्बको ठेक्का लगाएको सत्तापक्षको आरोप थियो । एमाले सांसदले भने सरकारमाथि १६ करोड रुपैयाँ रकमान्तर गरी सांसदमार्फत बाँडेको आरोप लगाए । त्यस दिन बैठक सुरु भएलगत्तै प्रतिपक्ष दलले मध्यअसारमा सरकारले नियमविपरीत बजेट रकामान्तर गरेको भन्दै त्यससम्बन्धी सम्पूर्ण कागजात पेस गर्न माग गर्दै अवरोध गर्यो । त्यसपछि सभामुखले २८ गतेसम्मका लागि बैठक स्थगित गरे ।
२८ गते बैठक सुरु हुनेबित्तिकै प्रतिपक्ष दलले पुनः अवरोध गरे । दुई पक्षबीच छलफलपछि सोही दिन दोस्रो बैठक बस्यो । लगातार बैठक अवरुद्ध भएपछि सरकार र प्रतिपक्षीबीच रकमान्तर गरिएका योजना छानबिनका लागि एमाले सांसदको संयोजकत्वमा सात सदस्यीय संसदीय समिति गठन गर्ने सहमति भयो । सहमतिअनुसार नै विनियोजन विधेयक पेस भयो र १ साउनअगाडि नै पास गरिसक्नुपर्ने भएकाले हतारहतार छलफल सकियो । बैठकमा मुख्यमन्त्री पोखरेलले सम्बोधन गरे । बुधबार विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा छलफल गर्ने कार्यतालिका तय भयो ।
बुधबार बैठक सुरुअघि प्रमुख प्रतिपक्ष दलले मुख्यमन्त्रीलाई दशबुँदे ध्यानाकर्षण पत्र बुझाए । आफूहरूले बुझाएको पत्रको जवाफ मुख्यमन्त्रीले तत्काल दिनुपर्ने उनीहरूको माग थियो । तर, बैठक नियमित कार्यतालिकाअनुसार अघि बढाउने सभामुखको प्रयासपछि एमालेका सांसदहरू अवरोधमा निस्किए ।
सहमतिका लागि पटक–पटक गरी सभामुखले तीनपटक बैठक स्थगित गरे । सहमति जुटेन नसकेपछि चौथो बैठकमा सभामुखले मार्सल प्रयोग गरे भने सत्तापक्षले बजेट पारित गर्यो । अवरोधका बीच बजेटमाथिको छलफल सुरु भएपछि प्रतिपक्षी सांसदले बेल घेराउ गरेका थिए । त्यसपछि मार्सल लगाइएको थियो । त्यही क्रममा घम्साघम्सी चलेको हो । विरोधकै बीच बैठकअगाडि बढेपछि एमालेका सांसदहरूले बैठक बहिष्कार गरे ।
टेबल फाल्ने सांसद बस्नेत भन्छन्

सदनमा प्रतिपक्षले अवरोध गर्दा मार्सल लगाइन्छ, यो सामान्य हो । तर, आज सत्तासीन पार्टीका माननीयहरू विपक्षी दलमाथि आक्रमण गर्न स्वयं उपस्थित थिए । हान्नै पर्यो भने हान्न सक्ने तागत एमालेसँग नभएको होइन । तर, मैले टेबल उचालेर कसैलाई हानेको होइन । त्यहाँ ठाउँमा साँघुरो थियो । त्यसैले त्यहाँ भएको एउटा टेबल उचालेर अलि पर सारेको हुँ । प्रतिपक्ष कमजोर छ, जे गरे पनि हुन्छ भन्ने सत्ता गठबन्धनले ठानेको छ भने भोलिका दिनमा उसले धेरै चुनौती खेप्नुपर्नेछ।