पेट्रोलियममा करको भार : डेढ खर्बको आयात गर्दा करिब एक खर्ब कर

बुधबार, ३० असार, २०७८
डिजिटल संस्करण

चालू आर्थिक बर्ष ०७७/७८ को १६ असारसम्म (साढे ११ महिना) नेपाल आयल निगमले इन्धन आयात गर्दा १ खर्ब ४७ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ इण्डियन आयल कर्पोरेसन (आइओसी) लाई भुक्तानी गरेको छ । सोही समयमा निगमले तेल आयात गरेबापत सरकारलाई पाँच शीर्षकमा ९१ अर्ब २८ करोड कर बुझाएको छ । खरिद मूल्यकै हाराहारीमा करको दर निर्धारण भएकाले पेट्रोलियमबाट सरकारले ठूलो मात्रामा कर उठाउँदै आएको छ भने उपभोक्ता मूल्य निरन्तर आकासिएको छ । नेपाल आयल निगमका निमिक्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार १६ बैशाखयता कोराना भाइरस नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गर्दा पेट्रोलियम खपतमा केही कमी आई थप रकम बाहिरिनबाट जोगिएको छ । ‘कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी हुँदा सवारी साधन चल्न पाएनन् र इन्धन खपत घट्यो’ साहले भने, ‘नत्र, अझै ठूलो रकम बाहिरिने थियो ।’ उनका अनुसार गत आर्थिक बर्ष ०७६÷७७ को तुलनामा खपत दर बढेको छ ।

गत आवमा निगमले तेल खरिद गरे बापत आइओसीलाई १ खर्ब ४५ अर्ब  भुक्तानी गरेको थियो । आवको अन्त्यसम्म यो बर्ष करिब एक खर्ब ६० अर्ब  भुक्तानी हुने देखिएको छ । यो बर्ष प्रत्येक महिना औषतमा १२ अर्ब ८४ करोड रुपैयाँका दरले इन्धन खरिदका लागि भुक्तानी दिएको उनले जानकारी दिए । मुलुक भित्रने पेट्रोलियम पदार्थ मध्ये ८५ प्रतिशत सवारी साधनमा खपत हुने गरेको छ । बाँकी औद्योगिक र पूर्वाधार निर्माण प्रयोजनमा खपत हुन्छ ।  

सामान्य अवस्थामा रहेको गत चैतमा १८ अर्ब ९१ करोडको इन्धन आयात भएको थियो भने लकडाउन जारी रहेको बैशाख र जेठमा १४–१४ अर्बको इन्धन आयात भएको थियो । निगमका प्रवक्ता बिनितमणी उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि हुँदा लकडाउनको समयमा इन्धन कम आएपनि भुक्तानी हुने रकममा खासै असर नपरेको बताए ।

‘निषेधाज्ञाका बेला माग घटेकाले हामीले केही कम परिमाण तेल ल्याएका थियौं तर   अन्तर्राष्ट्रिय बजारमा भाउ निरन्तर बढेका कारण हाम्रो खरिद मूल्य पनि बढ्यो र भुक्तानी गर्नुपर्ने रकममा खासै कमी आएन’ उनले भने । निगमका अनुसार चैतमा तीन लाख दुई हजार किलोलिटर इन्धन आयात गर्दा १८ अर्ब ९१ करोड रुपैयाँ आइओसीलाई भुक्तानी दिइएको छ । चैतमा कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य ६२ देखी ६८ डलर प्रतिब्यारेलसम्म कायम भएको थियो ।

चैतको तुलनामा निषेधाज्ञा भएको बैशाख र जेठमा निगमले करिब एक–एक लाख लिटर कम इन्धन आयात गरेको थियो । अर्थात बैशाखमा दुई लाख १३ हजार लिटर र जेठमा दुई लाख ११ हजार लिटर इन्धन आयात भएको थियो । बैशाख–जेठमा कच्चा तेलको भाउ ७१ डलर प्रतिब्यारेलसम्म कारोबार भएको थियो । कच्चा तेलको भाउ बढेका कारण खरिद दरसमेत बढ्दा निगमले कम तेल ल्याएपनि भुक्तानी तुलनात्मक रुपमा बढी गर्नुपरेको प्रवक्ता उपाध्यायले बताए । उनका अनुसार बैशाखमा १४ अर्ब ३२ करोड र जेठमा १४ अर्ब ६ करोड रुपैयाँ आइओसीलाई तेल खरिद बापत भुक्तानी गरिएको छ ।

अन्तर्राष्ट्रिय मूल्य निरन्तर वृद्धि भएकाले नेपाली बजारमा मूल्य वृद्धि गर्दा समेत निगमलाई नाफा नभएको प्रवक्ता उपाध्यायको तर्क छ । उनका अनुसार गत २२ असारमा सबै पेट्रोलियमको मूल्य वृद्धि गर्दा समेत निगमलाई १५ दिनमा ९१ करोड रुपैयाँ नोक्सानी हुने प्रक्षेपण गरिएको छ । 

५ शीर्षकबाट ९१ अर्ब रुपैयाँ कर
पेट्रोलियम पदार्थबाट यो बर्ष सबैभन्दा धेरे कर उठेको छ । आयल निगमको तथ्यांक अनुसार चालू आवको १६ असारसम्म निगमले ९१ अर्ब २८ करोड ८ लाख ३२ हजार रुपैयाँ कर बापत भुक्तानी गरेको छ । त्यसमध्ये भन्सार कर ३५ अर्ब ३३ करोड, सडक मर्मत दस्तुर बापत ५ अर्ब ५१ करोड, प्रदुषण नियन्त्रण शुल्क बापत तीन अर्ब २९ करोड, पूर्वाधार कर बापत २१ अर्ब ९३ करोड, मूल्य अभिवृद्धि कर २४ अर्ब १९ करोड र आय कर बापत १ अर्ब रुपैयाँ बझुाएको छ ।

पेट्रोलियम पदार्थमा प्रतिशतका आधारमा नभई प्रतिलिटरका आधारमा करको दर निर्धारण गरिएको छ । अर्कातिर चालू आवदेखी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १०–१० रुपैयाँ भन्सार शुल्क बढाइएको थियो । जसकारण अघिल्ला आर्थिक बर्षहरूको तुलनामा यो बर्ष सरकारलाई बझाउनुपर्ने कर ठूलो मात्राले बढेको छ । गत आवमा निगमले सरकारलाई ६६ अर्ब ८८ करोड रुपैयाँ कर बुझाएको थियो ।

आयल निगमको खरिद मूल्यकै हाराहारी सरकारले पेट्रोलियम कर असुलिरहेको छ ।  निगमले हाल पेट्रोल प्रतिलिटर ६७.७७ रुपैयाँमा किनिरहेको छ । यो मूल्यमा सरकारले प्रतिलिटर ५६.८६ रुपैयाँ कर लिने गरेको छ । जसकारण भन्सार प्रवेश गर्दा पेट्रोलको मूल्य प्रतिलिटर १२४.८६ रुपैयाँ हुन आउँछ । त्यस्तै डिजेल ६७.७२ रुपैयाँ प्रतिलिटरमा खरिद गरिएको छ । यसमा कर ३९.५३ रुपयाँ लिने गरिएको छ । ६२.६६ रुपैयाँमा किनिएको मट्टितेलमा सरकारले २०.१८ रुपैयाँ कर लिने गरेको छ । प्रतिलिटर ६२.४६ रुपैयाँमा किनिएको आन्तरिक हवाइ इन्धनमा १३.९९ रुपैयाँ र बाह्य हवाई इन्धनमा ६.६१ रुपैयाँ कर लिने गरिएको छ । एक हजार एक सय ७२ रुपैयाँ २६ रुपैयाँ प्रतिसिलिण्डरमा खरिद गरेको ग्यासमा २ सय ३६ रुपैयाँ ९१ पैसा कर लिने गरिएका छ ।
 

सुझावित समाचार